लण्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कोरोना भाइरसका कारण उत्पन्न विपतका बेला सहयोगको नाममा सस्तो लोकप्रियताको खेती नगर्न आव्हान गरेका छन् । बेलायतमा रहेका नेपाली विद्यार्थीहरु समस्यामा परेको भन्ने प्रसंगमा उनले समस्याको सम्बोधन गम्भीर र संवेदनशील ढंगबाट हुनुपर्ने बताए ।
कोरोना संकटबाट समस्यामा पर्न सक्ने नेपाली समुदायलाई सहयोग गर्ने विषयमा एनआरएनए यूकेका पदाधिकारीहरुसंगको छलफलमा राजदूत सुवेदीले भने, ‘मैले खाना दिन्छु, मेरोमा एउटा कोठा छ भन्ने जस्तो सस्तो र हलुका ढंगले लोकप्रियता कमाउने चेष्टा नगरौं ।’
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरु समस्यामा पर्न सक्ने विषयलाई दूतावासले पनि गम्भीर ढंगबाट लिने राजदूत सुवेदीको भनाइ छ । ‘बेलायतमा नेपाल सरकारको प्रतिनिधिका रुपमा हाम्रो दूतावास छ । सरकारबाट मान्यताप्राप्त एनआरएनए छ । समुदायमा अरु धेरै संघसंस्था पनि छन् । त्यसैले हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीलाई आइपर्ने समस्या सामना गर्न हामी सक्षम छौं’, राजदूतले भने ।
अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थी समस्यामा पर्यौं भनेर दूतावासको सम्पर्कमा नआएको जानकारी दिंदै उनले समस्यामा पर्नेहरुलाई दूतावासको नम्बरमा सिधै सम्पर्क राख्न आग्रह गरे ।
भर्खर सुरु हुंदै गरेको यो संकट बढ्दै गएर झन विकराल बन्ने निश्चित रहेको बताउँदै राजदूत डा सुवेदीले भविष्यमा आउने जोखिमको सामना कसरी गर्ने भनेर अहिले नै तयारी थाल्नुपर्ने धारणा राखे ।
बेलायतमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने कुनै पनि सेवा र सहयोगका लागि दूतावास नियमित खुला रहेको उनले बताए । ‘हामी सधैजस्तै खुला छौं । शनिबार, आइतबार पनि टेलिफोन सम्पर्कमै रहन्छौं । हरेक दिन राती ११ बजेसम्म हामी टेलिफोन उठाउँछौं । विपतको बेला हरेक नेपालीलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास पूरै समर्पित छ’, उनले भने ।
छुट्टीमा नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिटका विषयमा आउन सक्ने समस्याबारे दूतावासले बेलायतको सरकारसंग कुटनीतिक तवरले छलफल गरिरहेको राजदूतको भनाइ छ । ‘यहाँको रक्षा मन्त्रालयबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । विहिबार मेरो राज्यमन्त्रीसंग सिधा कुरा हुँदैछ । समस्याको समाधान निस्किन्छ । सबै जनालाई ढुक्क रहनुहुन म आग्रह गर्दछु’- उनले भने ।
विपतको घडीमा एकअर्कालाई सहयोग गर्नु सबैको कर्तव्य रहने भन्दै उनले यहाँस्थित सम्पूर्ण नेपाली संघसंस्था र सिंगो समुदायलाई एकबद्ध भएर सहयोगमा जुट्न आव्हान गरेका छन् । उनले कोराना संकटका कारण प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन यूकेले हेल्पलाइन नै स्थापना गरेर सहयोग अभियान सुरु गरेकोमा प्रशंसा समेत गरेका थिए ।
सोहि छलफलमा प्राध्यापक डा पदम सिम्खडाले पनि विद्यार्थीहरुको अहिलेको समस्या सामाजिक सञ्जालमा अतिरञ्जित गरिएजस्तै ठूलो भइनसकेको बताएका थिए । ‘हरेक युनिभर्सिटीले अहिले आफ्ना विद्यार्थीहरुको लागि हेल्प डेस्क स्थापना गरेका छन् । आवश्यकता हेरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ५ सय देखि १ हजार पाउण्डसम्मको आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था समेत छ । त्यसैले समस्यामा पर्ने विद्यार्थीहरुलाई सुरुमा आफ्नो विश्वविद्यालयको हेल्प डेस्कमा सम्पर्क राख्न आव्हान गरौं’, सिम्खडाको सुझाव थियो ।
त्यस्तै, सोलिसिटर राजु थापाले नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिट, भिजिट भिसामा आएका नेपालीहरुको भिसा लगायतका कानुनी समस्याहरुमा अहिलेको अपवादजनक परिस्थितिलाई ध्यानमा राखेर सरकारले विशेष व्यवस्था गर्ने जानकारी दिए ।
मर्जिङ नेपसक्सका अध्यक्ष पवन कँडेल र उपाध्यक्ष विष्णु गैरेले आफुहरुको संस्थाबाट बेलायतमा समस्यामा पर्न सक्ने नेपाली विद्यार्थीहरुको तथ्यांक संकलन भइरहेको जानकारी गराएका थिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा