पोर्चुगलमा तीन नेपाली क्वाइरेन्टाइनमा, अवैतनिक वाणिज्य दूतावास,एनआरएनए लगायतका प्रतिनिधिद्वारा भेटघाट


लिस्बन, पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घ र अवैतनिक वाणिज्य दूतावासका प्रतिनिधिहरुले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष भिमसेन थापा र सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको नेतृत्वमा गएको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनीहरूले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरेका छन् ।

सङ्घका वरिष्ठ उपाध्यक्ष थापा र सहयोग समितिका सयोजक कुवरले क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग धैर्य गर्न र उच्च मनोवल राख्न अनुरोध गरेका छन् । टोलीका प्रतिनिधि थापा र कुँवरले भने, “हामी सङ्घका तर्फबाट उनीहरुलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ ।”

यसैगरी सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको सङ्क्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गरे । यस्तै एनआरएनए क्षेत्रिय समिति अल्गार्भका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरे ।


कोरोनाबाट जोगिन अवैतनिक वाणिज्य दूतावासको आग्रह

नेपालीमा सङ्क्रमण फैलिएपछि लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पुर्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको जनाएको छ । अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए ।

कोही नेपाली संक्रमित छैनन्: भट्टराई

अर्का व्यवसायी तथा पोर्तुगिस भाषा अनुवादक कमल भट्टराईले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरको आग्रहमा उक्त स्थानमा गएर चार दिन बसी वस्तुस्थिति र यथार्थता बुझेका थिए । उनले कुराकानीमा भने, “सो स्थानमा पाँच जना इन्डियन संक्रमित रहेको तर यस अघि स्थानीय संचार माध्यममा आए जस्तो कोही पनि नेपाली संक्रमित भएको पुष्टि हुन सकेन मात्र ३ जना नेपाली क्वारेन्टाइनमा राखिएको बताए, उनले क्यारेन्टाइनमा ३९ इन्डियन, ७ पाकिस्तानी र ३ बङलादेशी पनि राखिएको जानकारी दिए ।” आफू भाषा अनुवादक समेत भएको नाताले यो महामारीमा पोर्चुगलमा रहेका कोही नेपाली विरामी परि हस्पिटल लगायतका ठाउँहरुमा भाषिक अप्ठ्यारो परे आफु सेवा गर्न तयार रहेको भट्टराईले बताए ।

यो समाचार तयार पार्दासम्म पोर्चुगलमा २३ जनाको ज्यान गएको तथा २ हजार ६० जनामा सङ्क्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । सङ्क्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री