बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: ०९:१५ | UK Time: 04:30

कोरोनाको विश्वव्यापी प्रभाव

डा. पुरुषोत्तम पौडेल
२०७६ चैत ९ गते १६:४२

डा पुरुषोत्तम पौडेल

नयां वर्ष २०२० को शुरुवातसंगै महामारीका रुपमा चीनको हुबेई प्रान्तको वुहान भन्ने शहरबाट फैलिन शुरु भएको कोरोना भाईरस कोभिड-१९ ले अब विश्व महामारीको रुप लिएको छ । विश्व  स्वास्थ्य संगठनका अनुसार यो भाईरस विश्वका १५० देशहरुमा संक्रमित बन्न पुगेको छ । अहिले चीन र दक्षिण कोरिया, ईरानपछि युरोपका देशहरुमा यो रोगको महामारी द्रुत गतिमा बढेको देखिएको छ । पछिल्लो ज्यान गुमाउनेको संख्या १० हजार नाघिसकेको छ भने ९० हजारमा रोग निको भएको भनिएको छ । मृत्यु हुनेहरुमा ईटली सबैभन्दा बढी, त्यसपछि चाईना ठूलो देश देखिएको छ भने ईरान तेस्रो ठूलो देशको रुपमा देखिएको छ ।

यस भाईरस विरुद्धको खोप वा औषधि पत्ता लगाउन अनुसन्धानहरु भैरहेका छन् । यदि यो संक्रमण नियन्त्रण नहुने हो भने यो अवस्था फरक भएर जान सक्ने देखिन्छ । बेलायत जहां विश्वकै एउटा राम्रो स्वास्थ्य उपचार प्रणाली भएको भनिएको देशमा पनि यो कोरोना भाईरस संक्रमण र मृत्यु हुनेहरुको संख्या द्रुत गतिमा बढेकोले मुलुकमा सर्बत्र चिन्ता बढेको छ । यदि नियन्त्रणका उपायहरु नअपनाउने हो भने यस भाईरसले विश्वमा धेरै मानिसको ज्यान लिन सक्ने अनुमान गर्न सकिन्छ ।

अब यो कोरोना भाईरस के हो र यसका लक्षणहरु के हुन् भन्ने विषयमा छोटो छलफल गरौ । यो सार्स, स्वाईन फ्लु, एचआईभी, ईबोला, डिंगो जस्तै एक प्रकारको प्राण घातक भाईरस हो । निरन्तर जरो आउनु, थकाई लाग्नु, शरीर दुख्नु, निरन्तर खोकी लाग्नु र स्वास प्रस्वासमा कठिनाइ हुनु यसका मुख्य लक्षणहरु हुन् । यस भाईरसले श्वास नलीलाई सुक्खा पार्दै फोक्सोमा खराबी ल्याउँछ जसका कारण शरीरमा अक्सिजनको कमि हुन्छ, मुटु, मृगौलाजस्ता अंगहरुले काम गर्न छोड्दछन् र समयमा उपचार पाउन नसके बिरामीको ज्यान जान सक्दछ । तर यस भाईरसको प्रभाव कमजोर स्वास्थ्य अवस्था भएकाहरुमा बढी देखिएको छ ।

अब यस भाईरस संक्रमणवाट कसरी सतर्क रहने भन्ने चर्चा गरौँ । यो कोरोना भाईरसले शरिरमा रोग विरुद्ध शक्ति कमजोर भएका मानिसहरु विशेष गरी दीर्घ रोग (जस्तो: क्यान्सर, दम, मधुमेह, किड्नी सम्बन्धी रोग, ह्रदयरोग आदि ) भएका, शारीरिक अपांग भई उपचार भैरहेका, गर्भवती महिला, बृद्धबृद्धा, मानसिक रोग भएका मानिसहरुमा छिटो संक्रमित हुन सक्दछ । त्यसकारण यस्ता मानिसहरुले थप सतर्कता अपनाउनु पर्ने र यस्ता मानिसहरुसंग सम्पर्कमा रहनुपर्ने वा रहने ब्यक्तिहरुले पनि थप सतर्कता अपनाउनु पर्दछ । आफूलाई लक्षण हुंदाहुंदै वा आफ्नो लापरवाहीका कारण कमजोर मानिसहरुमा सर्न गएमा यो एक किसिमको सामाजिक अपराध हो भन्ने सोच आफैँमा बनाउन पर्दछ किनकी लापरवाही भएमा कसैको ज्यान जान सक्दछ । यस कुरालाई मनन गरेर सकेसम्म कसैको घरमा बिना कारण भेटघाट गर्न जान पनि हुंदैन । कसैमा माथि भनिएका लक्षण देखिएमा प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने, पारासिटामोल लिने, भिटामिन सी पाइने फलफूलहरु खाने, रुघा खोकी लाग्दा खाने घरायसी औषधि, पानी उमालेर खाने, फोन मार्फत स्वास्थ्य सेवामा सम्पर्क गरेर थप जानकारी लिने, बाहिर ननिस्कने, बुढाबुढी र दीर्घ रोग भएका मानिसको नजिकै संक्रमित ब्यक्ति नजाने, खोक्दा वा हाच्छिउँ गर्दा टिस्यु पेपरमा गर्ने गर्नुपर्दछ । प्रयोग भएका टिस्यु पेपर सुरक्षित बिनमा फाल्नु पर्दछ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले रुघा खोकीबाट निस्कने फोहरलाई टिस्यु पेपरले समात्ने र त्यसलाई सुरक्षित डस्टबिनमा फाल्ने र हात राम्रोसंग पटक पटक धुने गरेमा कोरोना नियन्त्रण गर्न सजिलो हुने भनेको छ । साथै मानिसलाई भिडभाडमा नजान, काम नपरी बाहिर ननिस्कन र बुढाबुढी र दीर्घ रोगी बिरामीलाई स्वास्थ्यकर्मी र केयरमा संलग्न ब्यक्ती बाहेकले नभेट्न भनेको छ । उक्त सेवाले यदि यो संक्रमणको शंका लागेमा १११ मा फोन गरेर स्वास्थ्यसेवा लिन सकिने ब्यवस्था मिलाएको देखिन्छ ।

यो महामारी अब सबै महादेशहरुमा फैलिइसकेको छ । त्यसैले जहां जुन देशमा बसोबास गरेता पनि यसबारेमा उपलब्ध भएसम्मका विधि र प्रविधिहरुको भरपूर उपयोग गर्न र सुरक्षित हुन कोसिस गर्न उपयुक्त हुन्छ । यस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्ने जस्तै भिडमा ननिस्कने, एक अर्का बीचको दूरी कम्तिमा दुई मिटर राख्ने, खोकी लागेको र हाच्छिउँ गर्ने मानिसहरुबाट टाढा रहने, र सकेसम्म बाहिरको खाना नखाने गर्न पर्दछ । यदि सार्वजनिक यातायात प्रयोग गर्न परेमा यात्रा गरे पछि वा बाहिर गएर घरमा फर्किए पछि, सौचालय प्रयोग गरे पछि, बाहिरबाट आएका वा ल्याईएका सामानहरु चलाएपछि वा पैसा हातले समातेपछि साबुनपानीले २० सेकेन्ड लगाएर नङ, औंलाका काप, हत्केलालाई राम्रोसंग धुनु पर्दछ । नाक कोट्याउने, मुखमा औंला राख्ने वा औंलाले दांत कोट्याउने बानी हटाउने र खाली हातले खानेकुरा छुने वा खाने बानी हटाएर चम्चाहरु प्रयोग गर्ने गर्नुपर्दछ । बाहिर हिंड्दा यदि हात धुन सम्भव नभए हात शुद्ध पार्ने जेल वा वाईप्स प्रयोग गर्नु पर्दछ । यो कोरोना भाईरसको जिवाणु प्लाष्टिक र धातुको सतहमा ७२ घण्टा, कपडा र कार्डबोर्डमा ६-८ घण्टा रहन्छ भनिएकाले ती वस्तुहरुको प्रयोग वा स्पर्शमा आउदा हात शुद्ध पार्ने वा धुने र अरुले प्रयोग गरेको मास्क वा रुमालको स्पर्शबाट टाढा रहनुपर्दछ र सम्भव भएमा ती वस्तुहरुलाई पनि किटाणुरहित बनाएर राख्ने र प्रयोग गर्न पर्दछ ।

धेरै देशहरुले संक्रमण बाहिरबाट आउने यात्रुमार्फत बढेको कारण हवाइ सेवा र सीमा बन्द गरेका छन् भने शहरी क्षेत्रहरुमा यस रोगबाट बच्न र यो महामारीको रुपमा फैलिरहेकोले थप संक्रमण हुन नदिने उपायको खोजिमा रहेको देखिन्छ । भाईरस संक्रमण रोकथाम गर्ने क्रममा कतिपय देशहरुले आफ्ना यातायात सेवाहरु, शिक्षण संस्थाहरु, बजार, बार, रेष्टुरेन्टहरु, कार्यालयहरु, सभा, सम्मेलन, रंगमंच, कन्सर्ट सबै बन्द गरिसकेका छन् भने कति देशले बन्द गर्ने योजना अगाडि ल्याएका देखिन्छ ।
हालसम्म कुनै पनि भाईरसको औषधि वा खोप पत्ता लागेको छैन ।  मात्र असर कम गर्न शारिरीक रोग निरोधक शक्ति बढाउने उपायहरुको मात्र उपचार विधि प्रयोगमा ल्याईएका छन् । तिनै औषधि र प्रविधिहरुलाई प्रयोग गर्नुको तत्काल विकल्प छैन ।

विश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई बढ्न नदिन भाईरस नियन्त्रण गर्न सफलता प्राप्त गरेका देशहरुको अनुशरण गर्न आह्वान गरेकोछ । दक्षिण कोरियाले संक्रमण रोक्न चालेको कदमहरु प्रभावकारी देखिएकोले सबैले अनुशरण गरेमा यसको प्रभाव द्रुत गतिमा कम गर्न सकिन्छ भनेको छ । कोरियाले भाईरसको संक्रमण बढ्न नदिन बाहिरबाट आउने हवाईसेवा समेत बन्द गरेको थियो, मुलुक भित्र सबै शिक्षण संस्था, ब्यवसाय, मानिस जमघटहरु, आवतजावत सबै बन्द गरेको थियो । अहिले युरोपमा पनि ईटली, बेल्जियम फ्रान्स लगायतका मुलुकहरुले सार्वजनिक आवतजावत बन्द गरेका छन् । बेलायतमा पनि संक्रमण कम गर्न अत्यावस्यक बाहेक यात्रा नगर्न, संभव भएमा घरबाट काम गर्न, सामाजिक भेटघाट नगर्न र सामाजिक दूरी कायम गर्न भनेको छ ।

यस महामारीका कारण मानवीय क्षति मात्र हैन, ती मुलुकका ब्यापार र ब्यवसायहरुमा पनि असर परेको छ भने मुलुकहरुको आर्थिक अवस्थामा पनि ठूलो धक्का लागेको छ । ठूला अर्थ ब्यवस्था र विकसित देशहरुको अर्थ ब्यवस्था यो संक्रमणबाट १० देखि २० प्रतिसतसम्म खुम्चिन पुगेका छन् भनिएको छ । बिश्वब्यापिकरणले बनाएको सामिप्यता र परनिर्भरताका कारण पनि यी मुलुकहरुको अर्थब्यवस्था बिश्व अवस्थासंग सम्बन्धित छ । जसले मुलुकको आयात निर्यातमा भरपर्ने ब्यापार ब्यबसायहरु, आपूर्ति र कर सामर्थ्यमा धक्का पर्दछ ।
अर्कोतर्फ आकस्मिकरुपमा सरकार र सम्बन्धित स्वास्थ्य सेवामा चापका कारण थप साधन र श्रोतहरु प्रयोग गर्न पर्ने भएकोले पनि अर्थ ब्यबस्थामा असर पर्न गएको देखिन्छ । बजार, यातायात, पब, रेष्टुरेन्ट लगायत स्थानीय स्वरोजगार ब्यबसायहरु बन्दले पनि अर्थ ब्यबस्थामा थप चाप पर्न गएको छ । यो अवस्था लामो समय रहेमा यसबाट ती मुलुकहरुको अर्थ ब्यबस्था थप खुम्चन सक्ने देखिन्छ । तर पनि सरकारहरुले जनताको जिउ र स्वास्थ्यलाई महत्व दिएका छन् भने ब्यापार ब्यवसायलाई मर्न नदिन आर्थिक सहुलियतहरु र कर राहत दिएका छन् । बेलायत सरकारले यस संक्रमणको असरवाट ब्यापार र ब्यवसाय बचाउन सबैभन्दा ठूलो आर्थिक सहुलियतको ब्यवस्था गरेको देखिन्छ ।

यसबाट सिक्न पर्ने के छ भने यस्ता संक्रमणले यो बिश्वब्यापिकरणले आपसमा जेलिएको र बढेको परनिर्भर अवस्थामा कुनै पनि बेला विश्व महामारीको रुप लिन सक्छ । यस्तो संक्रमण महामारी रोक्न आबस्यकता हेरेर बहु-शासन अधिकारको ब्यबस्था हुन जरुरी छ । जसले तुरुन्त अन्तर्राष्ट्रिय हवाई तथा अन्य सेवा बन्द गर्न सक्ने होस् । स्थानीय सरकारले पनि मुलुकभित्र संक्रमण रोक्न चाल्नु पर्ने कदम तत्काल चाल्न, आवस्यक पर्ने श्रोत, साधन प्रविधिको ब्यबस्था र तालिमप्राप्त मानवीय संशाधनको ब्यबस्थालाई अद्यावधिक गरिरहन जरुरी देखिन्छ । यस्ता भाईरसहरु खाद्य पदार्थ र प्रतक्ष्य सम्पर्कबाट संक्रमित हुने भएकाले खाद्य पदार्थ उत्पादन, बिक्रि बितरण गर्दा स्वास्थ्य सुरक्षा विधि  प्रयोगमा ल्याएको नल्याएको सुनिश्चित गर्नु पर्ने देखिन्छ भने मानिस-मानिसबीच दूरी कायम गर्न जरुरी  देखिन्छ ।

यस्ता भैपरि आउने आकस्मिक घटना बारेमा जन चेतनाका लागी आधिकारिक रुपमा जिम्मेदार निकायले नै जनताका लागी सही सूचना सम्प्रेषण गर्न, जनदायित्व, जनमानसमा सेवा  तैयारीको सुनिश्चितता र सूचनाको अध्यावधिक गराउन आवधिक (आबस्यकता हेरी दैनिक, हप्तावारी वा महिनावारी) स्थानीय सरकारहरुले सार्वजनिक सूचना जनतासंम प्रत्यक्ष पुग्ने गरी प्रवाह गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक