हस्पिटलको ड्रेसमा सजिएकी आमालाई छोरीको प्रश्न

‘हाम्रो स्कुल बन्द, बाबाको अफिस बन्द, सार्बजनिक स्थलहरुमा भेटघाट बन्द, पसलहरु बन्द, तर मम्मी हजुर ड्यूटीमा किन जानू पर्ने? त्यो पनि त्यस्तो ठाउंमा जहाँ कोरोना भाइरस जस्तो माहामारीले भरिएको । ‘हजुरलाई सरयो र ज्यान गयो भने हामी के गर्ने ?’ हस्पिटलको ड्रेसमा सजिएकी आमालाई एक छोरीको प्रश्न हो यो । ‘मम्मी हजुरलाई कोरोना भनेको के हो थाहा छ ?’
‘हजुरलाई थाहा छ यो कसरी सर्छ र अहिले यसले संसारमा कस्तो तहल्का मच्चाइ रहेको छ ?’

एकोहोरो छोरीको मुखमा हेरें । आखामा आँसु लुकाएर मन्द मुस्कान छर्नु बाहेक केही थिएन उनका लागि मेरो उत्तर । रातीको ड्यूटी थियो त्यो पनि १२ घन्टाको । जानुअघि फेसबुक खोलेर हेरें । सबैजसो फ्रेन्डहरुका प्रोफाइलमा लेखिएका लेख र भिडियोहरु हेरेँ । विषय थियो कोरोना भाइरसको ।

मन कता कता अमिलिएको जस्तो भयो। इन्बक्स, भाइबर र इन्स्टाग्राममा आएका म्यासेजहरुमा लेखिएका थिए, ‘स्टे होम सेफ्ली ।’ घरबाट आमा बुवाको फोन आयो । सोध्नु भयो, ‘के के जाति आएको छ अरे नि तिमीहरुकोतिर कस्तो छ ? तेरो त फेरि हस्पिटलको काम, अलिक दिन छुट्टि लिएर बस्न मिल्दैन ?’ म अक्क न बक्क भएँ र केही भन्न सकिनँ ।

मलाई कताकता डर पनि लाग्यो, सम्झेर आउंदा । घरपरिवार त्यसमाथि श्रीमान र छोरीहरु । यस्तो माहामारी भएको छ । म नै भइनँ भने के गर्लान् कसो गर्लान् मनमनै सोच्दै थिएँ । तर के गर्ने  ड्यूटी त जानै परयो । हस्पिटलमा साथीभाई सबैको अनुहारमा त्रासको भाव थियो। फेरि भिन्न भिन्न मान्छेहरुका आ-आफ्नै कुरा गर्ने शैली, झन धेरै डर र त्रास।

समाचार हेरेकी छु । सामाजिक सन्जालमा पढेकी छु। तर, पनि पेशा छोड्न सक्दिनँ । यो आपतकालिन घडीमा सरकार र सेवाग्राहीलाई  धोका दिन सक्दिनँ। सास छइन्जेल आस भने झैं मैले गर्नु पर्छ । मैले नगरे कसले गर्ने भन्ने लाग्यो ।

फेरि आफ्नै अर्को पाटो पनि त छ । घर परिवार, छोराछोरी, घरको मोर्गेज, बिजुली पानी, घर खर्च, सबै जिम्मेवारीहरु । सात समुन्द्रपारी बिरानो ठाउँमा आफ्ना भन्ने कोही छैनन् । किन धेरै जिम्मेवारी लिनु जस्तो लाग्थ्यो तर जन्मदेखि मृत्यु अगाडि एक नाता रहेछ, मानवताको नाता।

यो मानवताको नाताले सबैलाई आफ्नो देख्न थालेको छु । मानव नै नभए कसको सेवा गर्ने कसले सेवा गर्ने ? कठै, मैले नगरे कसले गर्ने ? मानव बचाउ र मानवसेवा मैले मेरो आफ्नो कर्तव्य र धर्म ठानेको छु। कामको थकाइ, रोग सर्ने डर त्रास जे भए पनि सेवा गर्न पाउंदा गर्व मानेको छु ।

घरपरिवार, साथीभाइ सबै अनलाइनबाट नै हाल खबर बुझ्ने गर्छन् । डर त्रास र भयको कुरा गर्छन् । कसका कुरा सुनुँ, सरकार जस्तोसुकै हालतमा पनि ड्यूटी गर भन्छ । छोराछोरी र घरपरिवार घरमा नै बस भन्छन्, तर मेरो मनले भन्छ, ’’ससारमा सबैभन्दा ठूलो सेवा भनेकै मानव सेवा हो । मानव नै नरहे यो संसारको के महत्व ? त्यसैले छोरी मलाई मेरो ड्यूटी गर्न देउ । सेवा गर्न देउ । सन्क्रमितहरुलाई मृत्युको मुखबाट फुत्काउन देउ ।

मलाई केही हुँदैन । मलाइ केही हुँदैन । जय बाबा पशुपतिनाथले हाम्रो पुकार सुन्नेछन्।

लन्डन, बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री