अधिक चिन्ताले निम्त्याउंछ मुटुरोग

बिकलचन्द्र आचार्य

चिन्तामा सधैं रहिरहने व्यक्तिको दिमागको भित्रि भागको प्रभावले ह्दयाघात हुने जोखिम बढाउंछ भनि अमेरिकास्थित हार्बड विश्वविद्यालयले हालै गरेको अध्ययनले देखाएको छ । दिमागको अमिगडाला भन्ने एक भाग जसले हाम्रो रिस र डर जस्ता भावनाको अभिव्यक्ति गर्ने ठाउं हो । यसमा अधिक क्रियाकलाप हुने व्यक्तिमा मुटु र संचार सम्बन्धि रोग (कार्डियोभास्कुलर) को विकास अरुलाई भन्दा चांडै भएको पाइएको छ ।

मुटु रोगको अरु जोखिमका तत्वहरु धूमपान र उच्च रक्तचाप जस्तै चिन्ता पनि एक प्रमुख रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यसैले मुटुरोगको जोखिम भएका व्यक्तिमा चिन्ताको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने कुरा पनि सान्दर्भिक ठानिएको छ । भावनात्मक चिन्ताले कार्डियोभास्कुलर रोगको जोखिमले मुटु र रक्त कोषिकामा पार्ने प्रभावबारे पहिला थाहा थियो तर कसरी पार्ने प्रभावबारे चाहिं पुरा बुझिएको थिएन् ।

यस अध्ययन अनुसार अमिगडालाले हड्डीको मासी (बोन म्यारो) लाई अतिरिक्त सेतो रक्त कोषिका बनाउन संकेत दिन्छ जसको कारणले आर्टरीहरु फुलिने वा सुनिने हुन पुग्छ । यसले ह्दयाघात, एन्जाइना र स्ट्रोक हुनसक्छ ।

अमिगडाला भनेको दिमागको एउटा भाग हो जसले मजबुत भावनात्मक प्रतिक्रिया दिनका लागि सक्रिय बनाई दिमागलाई लड्न तयार बनाउने हो । अमिगडाला दिमागको दुई भागमा एक एक वटा हुन्छ जुन हाडे बदाम आकारको कोषहरुको समूह मेडियाल टेम्पोरल लोब्स भन्ने दिमागको गहिराइमा रहेको हुन्छ ।

धेरै कामको भार, जागिरमा झमेला, गरिबी अवस्था, प्रतिकुल स्वास्थ्य, आफन्तको वियोग आदि जस्ता कारणहरुले गम्भीर चिन्ता हुनपुग्छ र यसले गर्दा डिप्रेसन लगायत अरु मनोभावनायुक्त रोग लाग्नेको कारण बन्न पुग्छ । मुटुरोग तथा स्ट्रोकको जोखिम कम गर्न धुमपान त्याग्ने, उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोल तथा मधुमेहको नियन्त्रण गर्ने तथा तल भनिएको जीवनशैलीको सुझावलाई आत्मसात गरि चिन्ताको सहि तवरले व्यवस्थापन गरे मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ ।

जीवनशैलीको सुझाव
त्यसैले खुशी र स्वस्थकर हुन जीवनशैलीबारे जानकारी लिइ यसलाई आत्मसात गर्नुपर्छ । एउटा सानो जीवनशैली परिवर्तनले भविष्यमा आफ्नो स्वास्थ्यमा धेरै प्रभाव पार्छ ।

नियमित व्यायामः घटीमा ५-६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशीको उपयोग हुन्छ अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझैं पनि सबै भन्दा वेस एरोविक व्यायाम हो ।

आफ्नो ‘रुटिङ’ मा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ । नियमित व्यायामले शक्ति र मांशपेशी को तागत बढाउंदछ । व्यायाम गर्दा इन्डोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउंछ । ब्यायामले कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल तथा रक्तचाप कम गर्न मद्दत गर्दछ । 
महत्वपूर्ण कुरा चाहिं यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ ।

स्वास्थ्यकर खानाः स्वस्थ्यकर खानाले, चिन्तासंग लड्न सुधार पुरयाउंछ । खानाले हाम्रो शरीरको प्रत्येक अङ्गहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीको साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, श्वासप्रश्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।

खानामा हरहमेसा चिल्लो, चिनी, नुन, क्याफिन ,मदिरा आदि कम खाने गरे स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रशस्त फलफूल र सब्जी खानु पर्छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनु पर्दछ ।

आरामः आराम गर्दा किताव पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसंग भेटघाट आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्वपूर्ण काम हुन्छ । यो कार्य दैनिकरुपमा गर्न सके अझ जीवन सुन्दर हुन्छ ।

निन्द्राः बेचैन हुनु चिन्ताको उग्ररुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधि हो, जति गहिरो निन्द्रा र्पयो स्फूर्ति शरीरमा आउंछ । नियमितरुपमा बेलुका चांडै सुती बिहान चांडै उठ्नु उत्तम हो ।

धूमपान त्याग्नुः धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउंछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।

मदिरा सेवन कम गर्नेः यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने हप्तामा १४ युनिट भन्दा बढी सेवन गर्नु हुंदैन भन्ने बेलायत सरकारको सुझाव छ । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ र यसले स्ट्रोक हुने जोखिमलाई धेरै बढाउंछ । (१ युनिट =१ पेग व्हिस्की, १२५ मिलिलिटर वाइन, आधि पाइन्ट बियर)

वजनलाइ ध्यान दिनेः ठूलो भुंडी अथवा स्याउको जस्तो शरीरको बनोटले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ आदिको जोखिम बढाउंछ । आफ्नो उचाई अनुरुपको तौल हुनुपर्छ । यसको लागि सामान्य नियम अनुसार आफ्नो उचाईं जति इन्च छ त्यतिनै किलो तौल हुनुपर्छ भन्ने मान्यता भनेर बुझ्नु पर्छ ।

समस्या बांड्नेः नजिकको साथीभाइ, नातेदारलाई मनको चिन्ता वा समस्या भन्ने, गुम्स्याएर नराख्ने र जति आवश्यक पर्दछ समय लिने र यसले समस्या समाधान गर्दैन तर यसले चिन्ताको लेभल कम गर्न अवसर दिन्छ र समस्याको बारेमा अरू विचार गर्न समय दिन्छ ।

स्वास्थ्यको लागि हांसौः हांसोले शरीरको मसलको टेन्सनलाई घटाउंछ, श्वास प्रश्वासमा सुधार गर्दछ र मुटुको धड्कनलाई ठिक बनाउंछ, रगतमा इडोर्फिन पम्प गर्दछ । मन र दिमागलाई आनन्द दिन्छ। हांसोले शरीरको चिन्ता कम गर्दछ । सम्भव भएसम्म हांसो र खुशीको बातावरणमा समय व्यथित गर्ने प्रयास गरौं ।

जीवनशैली परिवर्तन गर्न कहिल्यै ढिलो हुंदैन । आफ्नो स्वास्थ्यबारे आफैं जागरूप भइ खुशी र निरोगी तर्फ ध्यान दिऔं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री