बुधबार, फागुन १४ २०७६ | Wed, February 26, 2020
नेपालको समय: ११:३४ | UK Time: 05:49

साझा संस्थाको रुपमा बुझौं एनआरएन

फडिन्द्र भट्टराई
२०७६ मंसिर २५ गते २२:४१

फडिन्द्र भट्टराई

गैर आवासीय नेपाली संघ बेलायतको गत निर्वाचनको सरगर्मी यहां शुरु हुनुपर्ने भन्दा अगावै शुरु भयो र समापन हुनुपर्ने भन्दा पछाडि सकियो । यी दुवै बाछिटाको चिसो सेलाउन नपाउंदै आइसीसी निर्वाचनको हुण्डरीले बचे खुचेका खाडलहरुको चिस्यान सुक्न समय लियो र लिंदैछ । सायद लामो प्रसव वेदनाको पीडा सुत्केरी देखि सुढेनीसम्म र फांटदेखि ढोडेनीसम्म निको हुन समय लागेर होला, निर्वाचन दौरानका अनेकन वान्छित अवान्छित क्रियाकलापहरुको समीक्षामा मगजहरु स्वतन्त्र बन्न सकेनन् ।
माथिका हरफहरु लेखिसकेपछि यो आलेख हिजोतिर भन्दा भोलितिर फर्किन खोजिरहेछ । र, म यसकै पथ पच्छ्याउन खोज्दै छु । मैले निर्वाचन अगावै सेतोपाटीको एउटा लेखमा ‘के
एनआरएनको सदस्य बन्ने चुनावकै लागि मात्र हो’ भन्ने सवालमा लेखेको थिएं । यसमा मैले हामी विदेशिएका नेपालीको लागि एनआरएनको महत्व र आवश्यकताबारे पनि चर्चा गरेको थिएं (हेर्नुहोस् https://www.setopati.com/blog/180241?fbclid=IwAR27jnFwBox_plojBxKGTUQHFE7wjazPYuWBwBRnswVml50AHz1v8_RjEDk)

एनआरएनका सदस्यहरु कतिपय अवस्थामा निर्वाचन प्रयोजनका लागि बने र बनाइए यसमा दुईमत छैन् । तर, अब भने जुनसुकै प्रयोजनले किन नहोस् बनेर अथवा बनाइएर भएका सदस्यहरुले आफ्नो भूमिका र जिम्मेवारी झनै टड्कारो रुपमा बुझ्ने र लिने बेला आएको छ । कुनै पनि संगठनको शक्ति र मेरुदण्ड भनेकै यसका सदस्यहरु हुन् । त्यसैले अहिले हामीलाई सम्पूर्ण सदस्यहरुको सक्रियताको खांचो निर्वाचनमा भन्दा झनै बढि आवश्यक छ । संस्थागत सुधार र विकासका लागि साधारण सदस्यहरुको सबैभन्दा महत्वपूर्ण भूमिका र आवश्यकता हुन्छ र रहेको पनि छ ।

अहिले सामाजिक सञ्जालतिर (एकाध) धारणाहरु यसरी आइरहेछन् कि एनआरएनको महत्व र आवश्यकता दुई तीन महिना अगाडिसम्म निकै थियो । तर, अहिले पटक्कै छैन् । सामाजिक सञ्जालका क्रियाहरुमा प्रतिक्रिया लेखौं लेखौं त लाग्छ तर त्यो संवाद अन्तहीन पूर्वाग्रहमा केन्द्रित रहंदा त्यो पथ पछ्याउंदाको गन्तब्य अन्धकार र अनिश्चित छ । मलाई लाग्छ, प्रवुद्ध समाजले उज्यालो र निश्चिततातिरको पथ पच्छ्याउन पर्छ ।

डेढ दशक अगाडिबाट शुरु भएको यो अभियान र यसको उद्देश्य या त उतिबेलै देखि औचित्यहिन बन्नु पर्दथ्यो अथवा यसले संस्थागत रुपमा अवसानको बाटो समात्नु पर्दथ्यो । तब मात्र संस्थाको औचित्य र आवश्यकतामा प्रश्नवाचक चिन्ह लाग्थ्यो । तर त्यसो भएको छैन्, आलोचनाका ठेलीहरुलाई पाखा लगाएर हेर्ने हो भने यो अभियानले आंशिक सफलता पक्कै पनि हासिल गरेको छ । आजको दिनमा आइपुग्दा प्रवासमा रहेका नेपालीहरुको आधिकारिक प्रतिनिधित्व गर्ने एक मात्र संस्था 
एनआरएन बनेको छ भन्ने कुराको वहसमा समय खर्चिनु पर्ने छैन् । त्यो हुनुको पछाडि प्रमुख रुपमा तपाई हामीले माने पनि नमाने पनि नेपाल सरकारले आधिकारीक रुपमा चिन्ने र सुन्ने एक मात्र संस्था हाम्रो लागि 
एनआरएन नै हो ।

अत्यन्तै महत्वपूर्ण रुपमा यो अभियानको थालनी र विकास नहुंदो त आज हामी गैर आवासीय नेपाली होइन, गैर नेपाली प्रदेशी मात्र रहने थियौं । हामी त यसै पनि नेपाली हौं भन्ने दावा भावनामा मात्रै रहंदै गर्दा हाम्रा शाखा सन्तानलाई कानूनी रुपमा मात्रै सही, कसरी नेपाली बनाई राख्ने भन्ने सवाललाई नेपालको 
संविधानको गैर आवासीय नेपाली नागरिकताको प्रावधानले आंशिक रुपमा नै किन नहोस् सम्बोधन गरेको छ । भलै यसको निष्कर्षमा पुग्न अझै धेरै गर्न बांकी छ । कसैको व्यक्तिगत महत्वाकांक्षा र त्यसबाट प्राप्त लाभांशलाई छुट्टयाएर हेर्ने हो भने यो अभियान यहांसम्म ल्याइ पुरयाउन लाग्ने र खट्ने अग्रजहरु सम्मानका पात्र छन् ।

गैर आवासीय नेपाली संघ बेलायत पनि नवौं कार्यसमितिको चयन पश्चात संस्थालाई पूर्णता र गतिशिलता प्रदान गर्ने कार्यमा जुट्दै छ । अनेकौं चुनौती र समस्याका बावजुत हामीसंग संस्थागत सुधारमा अगाडि बढ्नुको विकल्प छैन् । निर्वाचन दौरान विभाजित बनेको समाजलाई एकीकृत गर्दै विधिसम्मत तरिकाले समावेशी र समतामुलक संस्थाको परिकल्पनालाई साकार बनाउन तपाई हामी एक ठाउंमा जुट्नुको विकल्प आजको दिनमा छैन् ।

निर्वाचित हुनेहरुको कांधमा यो जिम्मेवारी स्वभावत बढि रहन्छ । तर, चुनावी अंकगणितमा पछाडि पर्नेहरुको संस्थाप्रतिको योगदान हिजोको दिनमा भए जस्तै आज पनि जिम्मेवारीवोधको खांचो छ । पदमा रहंदा मात्रै सामाजिक उत्तरदायित्व निभाउनु पर्छ भन्ने कुरा आफैंमा विरोधाभाषपूर्ण छ । हिजो पदीय दायित्वमा रहेर खर्चिएको पसिनाको मूल्यलाई सम्झिएर पनि यो अभियानबाट टाढिने कुरा वुद्धिमतापूर्ण हुन सक्दैन् । एउटा कालखण्डको निष्क्रियता र नकारात्मकताले अर्को कालखण्डमा सक्रिय बन्ने चाहनामा विरोधाभाष निम्त्याउने छ । अहिले संस्थाप्रतिको निस्कृयता अथवा नकारात्मकताको पुष्टी भोलि फेरी मैदानमा आउंदा कसरी गर्ने भन्ने कुरा तत अवस्थामा सम्बन्धित सबैको लागी एउटा प्रश्न बनेर रहने छ भन्ने बुझ्नु जरुरी छ । ‘एक माघले जाडो जांदैन’ भन्ने कुरा सबैको हकमा सान्दर्भिक छ । निर्वाचित भएर पदीय दायित्व वहन गर्नेहरुले चाहेर पनि त्यो दायित्व नपाएकाहरुको सम्मानमा कत्ति पनि कन्जुस्याई गर्नु हुंदैन भन्ने मेरो मान्यता छ । तर, यो समाज धेरै नकारात्मक टिका टिप्पणीमा केन्द्रित भइरहने हो भने त्यसले काम गर्न खोज्नेहरुको मनोवल र उत्साहलाई निरुत्साहित बनाउने सम्भावना एकातिर छ भने अर्कोतिर यस्तो गतिविधि गतिविधिकर्ताहरुलाई नै प्रत्युत्पादक बन्न सक्दछ । नाफा र घाटाको तराजुमा कोही तलमाथि त होला तर समग्रमा यो संस्थाका लागि घातक बन्न पुग्नेछ । त्यसको असर हामी सबैलाई पर्ने छ ।

एकातिर सामुदायिक तहमा ओर्लेर आम जनताको सुःख दुःखको सारथी बनाउने जिम्मेवारी हामीमा छ भने अर्कोतिर नीतिगत तहबाट नेपाल सरकार देखि अन्य आधिकारीक निकायसंगको समन्वय उत्तिकै आवश्यक छ । बेलायतमा पहिलो पटक राज्य समितिहरु निर्वाचित बनेर आएका छन् । यी सबै निकायहरुलाई अनुशासित र मर्यादित तर स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिने परिपाटी विकास गर्नुपर्ने भएको छ । सामुदायिक रुपमा यी निकायहरुले अहंम भूमिका निर्वाह गर्न सक्नेछन् भने केन्द्रिय र नीतिगत तहमा राष्ट्रिय समन्वय परिषदको आफ्नै अकाट्टय भूमिका छंदैछ ।

अहिले हाम्रो सामु यो अभियानमा खासै सक्रिय रहन नसकेको प्रवुद्ध र जानकारहरुको समूहलाई स-सम्मान योगदान गर्न सक्ने ‘प्ल्याटफर्म’ निर्माण गर्नुपर्ने पहिलो कार्य रहेको छ । नाम मात्रको लागि बन्ने विभाग र परिषदहरुलाई काममा परिणत गर्न नसके परिणाम शुन्य प्राय हुनेछ । यसको लागी निर्वाचित पदाधिकारीहरुको आफ्नो कर्तब्य त छंदैछ, यसका अलावा सामाजिक अभियन्ता अगुवाहरुले पनि यसमा आफ्नो अग्रसरता र रुचीको विकास गर्नुपर्ने देखिन्छ । चाहे त्यो यो समाजका महिला, नयांपुस्ता तथा वृद्ध-वृद्धाको सवालमा होस् अथवा भाषा-संस्कृति, कला-साहित्य, परोपकार जस्ता हरेक क्षेत्रमा होस् अथवा विभिन्न संघसंस्थासंगको समन्वयको सवालमा होस् या बेलायतको नेपाली समुदायले भोगेका अन्य विषयको सम्बोधनको सवालमा होस्, एनआरएनमार्फत जागरुकताको खांचो छ ।

वास्तवमै भन्ने हो भने यो समाजमा एनआरएन अभियानमा सरिक हुनेहरु भन्दा नहुनेहरुको झुण्ड ज्ञान सिप र क्षमताका हिसावले धेरै अगाडी छ । तर संगठन र योगदान बिनाको कार्यदक्षताले सामाजिक रुपान्तरणमा तात्विक भिन्नता ल्याउन सक्दैन । उनीहरुको त्यो क्षमतालाई प्रयोग गर्न सके मात्र एनआरएन वास्तवमा गर्व गर्न लायक ‘हाम्रो र राम्रो’ संस्थामा परिणत हुने कुरामा दुईमत छैन् ।

जुनसुकै समाजको समिश्रण जान्ने र नजान्नेबीचको हुन्छ, बुझ र अबुझबीचको हुन्छ । नबुझ्नेलाई बुझाउने जिम्मेवारी बुझ्नेहरुको हुन्छ । सबैको ज्ञान र चेतनाको तह एउटै हुदैन् । त्यसैले ज्ञानले अज्ञानलाई र चेतनाले अचेतनालाई चिर्न सकेमात्र समाजमा उज्यालोको कल्पना गर्न सकिन्छ ।

वर्तमानमा एनआरएन यूके कार्यसमितिले भावी कार्यदिशा तय गर्ने सवालमा तपाईंहरुको अमुल्य सुझाव सहयोग र समर्थनको अपेक्षा गरेको छ । पुरानै कहानीको पुनरावृत्ति र आलोचनाको बाटोलाई सांघुरो बनाउंदै 
फराकिलो दायरामा यो वहस अगाडि बढाउनु तपाईं हाम्रो साझा कर्तब्य हो । हामीले पात्रहरु भन्दा पनि प्रवृत्तिलाई सुधार गर्न सक्यौं भने यो संस्थाले एउटा गतिशील बाटो समात्ने छ जुन भविष्यका लागि जोसुकैले नेतृत्व गरे पनि फलदायी हुनेछ । प्रवृतिमा सुधार भयो भने गलत पात्रहरु स्वयं पाखा लाग्ने वातावरण बन्ने छ । त्यसैले आउनुहोस् संस्थाको वृहत्तर हितका लागि मिलेर काम गरौं । आजको आवश्यकता र तपाईं हाम्रो वर्तमानको कर्तब्य यो नै हो भन्दा अतिशयुक्ति नहोला । जय एनआरएन ।

पुनश्चः विषयगत रुपमा सकेसम्म क्रमशः लेख्दै जानेछु अनि यहांहरुको अमुल्य सुझावको अपेक्षा गर्दछु । धन्यवाद

(लेखक गैर आवासीय नेपाली संघ बेलायतका महासचिव हुन्- सम्पादक )

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक