शुक्रबार, असार १९ २०७७ | Fri, July 03, 2020
नेपालको समय: ०४:५३ | UK Time: 00:08

डर, चिन्ता, तनाव र खुसी

डा. बच्चु कैलाश कैनी
२०७६ मंसिर २३ गते १६:४२
Dr Bachhu Kaini

डा बच्चु कैलाश कैनी

सफल वा असफल, देखाई, सुनाई र भोगाईका हिसाबले भन्ने हो भने प्रत्येक मान्छेको जीवन धेरै कुरामा फरक हुन्छ । भावनात्मक रुपमा अर्थात अनुभूतिका हिसावले हेर्ने हो भने जीवन सबैको उस्तै उस्तै हो । मान्छेले भित्री रुपमा मनमा अनुभूति गर्ने कुराहरु अर्थात भावनाका कुराहरु जस्तै खुसी वा आनन्दित हुने, दु:खी हुने, डर वा चिन्ता मान्ने,  घृणा गर्ने, रिस उठ्ने र अचम्मित हुने कुरा भने सबैको मनमा आउँछ । फरक के कुरामा हुन्छ भने यी भावनाहरुमध्ये कोहीले कुनै कुरा धेरै मात्रामा अनुभव गर्छन् भने कोही कुनै कुरा थोरै अनुभव गर्छन् । अर्थात, भावनामा बग्ने अनुभवको मात्रा भने हरेक व्यक्तिमा फरक फरक हुन्छ । जो मान्छे यीमध्ये नकारात्मक भावनाहरुलाई त्याग्दै मनमा सकारात्मक सोच ल्याउँछ, त्यही मान्छे खुसी र आनन्दित हुन्छ ।

माथि उल्लेख गरे जस्तै कुनै न कुनै कारण मान्छेले धेरै किसिमका भावनाहरुको अनुभूति गर्छ । हामी सबैले आफ्नो जीवनको कुनै न कुनै मोडमा केही न केही कुराले गर्दा डर लागेको अनुभव गर्नु स्वाभाविक हो । त्यसैले यो कुनै नयाँ कुरा भएन । तर, डरले गर्दा हुने दीर्घकालिन चिन्ता र अनि त्यसका कारण हुने तनाव कसरी ब्यबस्थापन गर्ने र गराउने भन्ने कुरा सबैको चासोको विषय हुन्छ ।

जसरी कुनै रोगको उपचार गर्न रोगको निदान गर्नु जरुरी हुन्छ, त्यसरी नै डर वा चिन्तासंग जुध्नका लागि पहिले डर वा चिन्ताको मुख्य कारण थाहा पाउन जरुरी हुन्छ । कुनै डर भौतिक वस्तु वा आफूलाई डर लाग्ने कुनै जनावर, चिज, वस्तु, रुप, समय आदिका कारण हुने भए त्यो कुनै खास समस्या हैन । तर, कुनै मानिस भविष्यप्रतिको असुरक्षा, परिवारमा पर्न गएको बज्रपात, कुनै मानसिक समस्या, आर्थिक समस्या आदिका कारण डर मान्न थाल्यो भने त्यस्तो डरले मान्छेलाई गहिरो चिन्ताको अवस्थामा पुर्याउँछ । चिन्ताले मान्छेलाई तनाव दिन्छ ।

सबै डर नकारात्मक मात्रै हुँदैनन् । कहिलेकाहीं डरले मान्छे गलत बाटोमा लाग्नबाट जोगिन्छ । जस्तै असफल हुने डरले गर्दा वा समाजमा हेपिने डरले आफूलाई धेरै मेहेनति बनाउँछ । नैतिकता गुम्ने डरले गर्दा नै मानिस अनुसाशित हुन्छ । घरमा अभिभावक वा बाबु आमाको डरले गर्दा केही गर्नुपर्ने बाध्यताका कारण केही गर्नु पर्ने अवस्था पनि फाइदाजनक नै हुन्छ ।

डरसंग जुधेको अवस्थामा मानिस ‘फाइट वा फ्लाइट’ गर्छ । अर्थात मानिस डरसंग कि जुध्छ वा डरसंग भाग्छ । जो मानिस डरसंग जुध्छ र डरलाई जीवनबाट टाढा भगाउँछ, उही मानिस सफल हुन्छ र चिन्तामुक्त हुन्छ । जो मानिस भविष्यप्रति बढी चिन्तित हुन्छ वा भविष्यको बारेमा धेरै सोच्छ उही मानिस बढी तनावमा रहन्छ । हामी सबैलाई थाहा छ, हामी बाँच्ने वर्तमानमा हो । अतीत गइसक्यो, न फर्केर आउँछ न त्यसलाई फेरी अनुभूति गर्न सकिन्छ । अतीतबाट केवल पाठ सिक्ने हो । भविष्य कसलाई के थाहा छ र ? त्यसैले जिउने आज हो, अहिलेको पलमा हो ।

हामी आफ्नो जीवनलाई धेरैजसो अतिरंजित गरेर भविष्यसंग जोडेर हेर्छौ । आफ्नो मात्रै हैन आफ्नो सन्तति र आउने पुस्ताको चिन्ता गर्छौ । हामीले नदेखेको र नजानेको भविष्यको चिन्ता गर्ने हो भने हामीसंग अनगिन्ती विषय छन् । हामी भविष्यको योजना, आफ्नो स्वास्थ्य, परिवारको प्रगति र उन्नति, बुढेसकालको चिन्ता, आर्थिक बोझ, मृत्यु, एकांकीपन जस्ता धेरै कुरा मनमा खेलाएर चिन्ता प्रकट गर्छौ । यो स्वाभाविक पनि हो । तर, तनाव नै हुने गरी अस्वाभाविक रुपमा यी कुराहरुको चिन्ता गर्नु र मनमा धेरै कुरा खेलाउनु मानसिक र शारीरिक स्वास्थ्य  दुबैको लागि हानिकारक हुन्छ ।

सामान्य रुपमा आफूलाई एउटा सिमाभित्र राखेर जीवन बाँच्न जाने हाम्रो जिन्दगी सरल र सरस छ । जिन्दगीलाई जति जटिल र बोझिलो बनायॊ उति चिन्ता र तनाव पैदा हुन्छ । मानिसको जीवनमा खुसी स-साना कुराले दिने हो । स्वच्छ हावामा हिंड्ने, मन पर्ने किताब पढ्ने, मन पर्ने मानिस वा आफन्तसंग समय बिताउने, योग, ध्यान, आध्यामिक चिन्तन आदिले हामीलाई पैसा नै खर्च नगरी खुसी मिल्छ । खुसी आफैँभित्र पाउने कुरा हो । यसको लागि हामीलाई थप मेहेनत र धेरै पैसा कमाउनु पर्दैन । आफैंमा आत्मनिर्भर भई खुसी साथ बाँचु नै सामान्य जीवन जिउनु हो ।

हामीलाई भौतिक रुपमा सुख अवश्य चाहिन्छ । तर, हामी आफूलाई चाहिने भन्दा धेरै सुख सयल खोज्छौं । आजको युगमा हाम्रो खुसी प्रतिस्पर्धा, देखासिकी, भौतिकवादी चिन्तन, अनावश्यक महत्वाकांक्षा आदिले खोसेको छ । सबैभन्दा ठूलो कुरा आफूले आफैँलाई बुझ्नु, आफ्नो मूल्यांकन गर्नु र त्यहीअनुसार आफ्नो जीवन सार्थक, सामान्य, सरल र सरस बनाउने हो भने धेरै खुसी जीवन बाँच्न सकिन्छ । मेरो तर्फबाट मलाई र हजुरहरु सबैलाई खुसी र आनन्दमय जीवनको हार्दिक शुभकामना छ ।

(लेखक डा. कैनी बेलायती विश्वविद्यालयमा प्राध्यापक र क्विन एलिजाबेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा काम गर्छन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक