मिस नेपाल अनुष्कालाई बेलायतमा शुभेच्छाको ओइरो

लन्डन । ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई बेलायतमा शुभेच्छाको ओइरो लागेको छ । डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड  प्रतियोगिता’ मा भाग लिन केही दिन अघि लण्डन उत्रिएकी अनुष्कालाई बेलायतका नेपालीले शुभकामना दिने क्रम बढेको हो । प्रत्यक्ष भेटेर वा म्यासेजबाट नेपालीले शुभकामना दिइरहेका छन् ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहितको एक टोलीले शनिबार अनुष्का बसेको टावर ब्रीज नजिक होटलमा गएर शुभकामना दिएको छ । बेलायतमा रहेका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए यूके अध्यक्ष गुरुङले संस्थाको लोगोअंकित मायाको चिनो, पुष्पगुच्छा र खादाले सम्मान गर्दै सफलताको शुभकामना दिइन् । ‘वेष्ट वीसेस् अनुष्का’, पुनमले भनिन्, ‘तपाईंको सहभागिताले समस्त नेपालीको इज्जत बढेको छ । उपाधि जितेर नेपाल र नेपालीको सान अझ उचाईंमा पुरयाएको देख्न-सुन्न हामी आतुर छौं ।’

अनुष्काले शुभकामना प्राप्त गरेपछि खुशी हुंदै आभार व्यक्त गरिन् । उनले आफूलाई जिताउन सबै नेपालीसंग अपिल पनि गरिन् । विदेशी भूमिमा नेपालीको शुभेच्छाबाट आफ्नो आत्मबल झन् बढेको अनुष्काले बताएकी छन् ।

पुनमका साथ एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेल, युवा समाजसेवी हेम गुरुङ, सञ्चारकर्मीहरु राजदीप राई, शंकर श्रेष्ठ लगायत सहभागी थिए । मिस नेपालसंग भेटघाटको संयोजन प्रसुनाले गरेकी हुन् । एनआरएनए यूकेले ग्रयाण्ड फिनाले अगाडि अनुष्काको ‘वेष्ट वीसेस्’ कार्यक्रम गर्ने भएको छ ।

अनुष्का अहिले ‘ट्रेनिङ’ मा व्यस्त छिन् । एक्सेल लण्डनमा हुने प्रतिस्पर्धामा सहभागी हुन १११ देशका सुन्दरीहरु लन्डन आइसकेका छन् । प्रतियोगीहरुबीच टप ४० मा छानिन मल्टिमिडिया, स्पोर्टस, ट्यालेन्ट, टप मोडल, ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी वीथ अ पर्पोज’ जस्ता विद्यामा प्रतिष्पर्धा शुरु भएको छ ।

अनुष्काले मल्टिमिडिया अवार्डमा अनलाइन मत दिएर जिताइदिन सबैसंग अपिल गरेकी छन् । अवार्ड जित्न धेरै लाइक आवश्यक पर्छ, जसका लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । एक लाइक एक भोटको रुपमा गणना हुने आयोजकले जनाएका छन् ।

तस्विरहरु- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री