
लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पपछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको बताए ।
उनले आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सम्पन्न भैसक्ने र सन् २०२१ को मध्यसम्म पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको पनि जानकारी गराए । मन्त्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा युकेले गरेको सहयोगको प्रशंसा पनि गरे ।
कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए । उनले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको जनाए । उनले आउंदो वर्ष नेपाल भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटकहरुको संख्या बढिरहेको बताए । उनले यो वर्ष ७५ हजार र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्धनात्मक कार्यक्रम शुरु गरिएको जानकारी पनि दिए ।
कार्यक्रममा प्रस्तुति गर्दै १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुलले पहाड भन्दा पनि नेपाली जनताले आफूलाई संधै प्रभावित गरेको बताए । ‘यहाँ ब्रिटेनमा हामीले समुदायको महत्व बिर्सदै गएका छौं, तर नेपालीहरुले समुदायको महत्व कायमै राखेका छन्, त्यसैले हामीले उनीहरुबाट सिक्नुपर्छ’- उनले भने । उनले आउंदो वर्ष फेरी नेपाल भ्रमणमा जाने योजना पनि सुनाए ।
त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन् । उनले शेर्पा समुदायको पनि प्रशंसा गरिन् ।
समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र पाटाका सीइओ डा मारियो हार्डीले नेपालबारे प्रस्तुति गरेका थिए । त्यस्तै सयपत्री सांस्कृतिक समूहका सदस्यहरुले रोचक नृत्य प्रस्तुत गरे ।
कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रम सञ्चालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न