लन्डन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य साहित्यकार (कवि, गीतकार, उपन्यासकार एवम आख्यानकार) सरुभक्त श्रेष्ठ बेलायत आउने भएका छन् । पोखरेली साहित्यकार श्रेष्ठ पोखरेली मञ्च यूकेको निमन्त्रणामा बेलायत आउने भएका हुन् ।
मञ्चले आगामी ९ नोभेम्बर, शनिबार अपरान्ह २ देखि ५ बजेसम्म अल्डरसटको एम्पाएर हलमा ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रम गर्दैछ । बेलायत र पोखराको खेलकुद क्षेत्रमा योगदान पुराउंदै आएको पोखरेली मञ्च यूकेले यसपटक साहित्यिक माहोल सृजना गर्न लागेको हो । बेलायतमा यस्ता प्रतिष्ठित नेपाली साहित्यकारको एकल प्रस्तुति सम्भवतः पहिलो भएको दावी गर्दै मञ्चले बेलायतबासी साहित्यानुरागीहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । उक्त संस्थाले ‘भिजिट नेपाल २०२०’ प्रवर्धन गर्न विगत ३ वर्ष देखि वेल्समा ‘हाइक फर नेपाल’ र पोखरामा ‘म्याराथन’ गर्दै आएको छ ।
बेलायतमा नृत्य, गायन र हांस्यविद्याका कलाकारहरुलाई निम्त्याइने प्रचलन नयां होइन । तर, मञ्चले केही नौलो प्रस्तुति गर्ने सोचका साथ यसपटक पोखरेली साहित्यकार, राष्ट्रका गौरब, करिब एक दर्जन भन्दा बढि साहित्यिक संघसंस्थासंग आवद्ध तथा विभिन्न पदक र विभूषणद्वारा सम्मानित ब्यक्तित्व निम्त्याएर साहित्यिक कार्यक्रम गर्ने तयारी गरेको हो ।
बेलायतस्थित नेपाली साहित्यप्रेमीहको साहित्यिक तिर्सना मेटाउने जमर्को आफूहरुको रहेको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए । कार्यक्रम संयोजनको जिम्मा बेजिङ्गस्टोक निवासी लालप्रसाद गुरुङ ‘बीइएम’ र सुधा गुरुङ दम्पत्तिले लिएका छन् । कार्यक्रममा मुख्य अतिथि रहनेछन् राजदूत डा दुर्गाबहादुर सुबेदी । प्रवेश निशुल्क गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रममा सरुभक्तका कविता र मुक्तक बाचन, उनको साहित्यिक यात्राका आरोह अवरोह एवं उनीसंग अन्तरंग संवाद गरिने छ । साथै कार्यक्रमको अन्तमा स्थानीय कलाकारहरुले उनले रचेका लोकप्रिय गीत गाउने मुख्य संयोजक लालप्रसाद गुरुङले जनाए । उनले रचेका थुप्रै गीत विभिन्न ब्यान्ड सदस्यले गाएका छन् । नेपथ्यले गाएको लामपाते सुरती, कुरुप अनुहार हो, सरुमा रानी आंशुको कसम, कन्दरा ब्यान्डले रातै बिझायो दिनै बिझायो, भेडी गोठैमा, हङकङ पोखरा, ब्रोसिस ब्यान्डको चाइना कम्पनी, परिवेश ब्यान्डको भोटे ताल्चा आदि लोकप्रिय छन् ।
सन् १९५६ मा बागबजार, पोखरामा पिता गणेशबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको घरमा सरुभक्तको जन्म भएको थियो । उनले ५ देखि १० कक्षा सम्मको अध्ययन गन्डकी बोर्डिङ स्कुल, लामाचौर (तत्कालिन नेपाल आदर्श विद्यालय) मा र एसएलसी मल्टिपर्पोज हाइस्कुलबाट उत्तिर्ण गरेका थिए । उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस, पोखरा र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट हासिल गरेका हुन् ।
विगत ४० वर्षदेखि लेखनमा सक्रिय सरुभक्तका ५० भन्दा बढी कथा, उपन्यास, नाटक, कविता, मुक्तक संग्रह प्रकाशित भइसकेका छन् । विस २०५९ मा चुली उपन्यास प्रकाशित गरेका सरुभक्तका समय त्रासदी, अंध्यारो कथा, तरुणी खेती, बांगाटिंगा धर्साहरु, एक अविनवको आत्मकथा, पागल बस्ती आदि उपन्यास प्रकाशित छन् । उनले पागल बस्तीका लागि २०४८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनका बहुचर्चित नाटकहरु एउटा घरको कथा हैन, युद्ध उही ग्यांस च्याम्बरभित्र, इतिहास भित्रका इतिहास, शिशिरका अन्तिम दिनहरु, इथर, सिरुमा रानी, असमय अमौसम, शरणार्थी आदि हुन् भने बन्द खामभित्र, बोक्सीको आव्हान र घोषणापत्र, कवि, प्रेमी र पागल, ज्यानमारा, प्रयोगशाला भित्र, हजार बुद्धहरु, झुमा, साइबर क्याफेमा एक दिन, भेडीगोठ आदि मुक्तक संग्रहहरु प्रकाशित छन् ।
करिब डेढ दशकको अन्तरालपछि हालै उनले आफ्नो नयां उपन्यास ‘प्रतिगन्ध’ लोकार्पण गरेका छन् । कार्यक्रममा सरुभक्तले आफ्नो नयां कृति पनि ल्याउने अपेक्षा छ ।
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा