लन्डन दूतावासमा विश्व पर्यटन दिवस


लन्डन । विश्व पर्यटन दिवसका अवसरमा लन्डनमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम भएको छ । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ आफ्नै प्रेक्षालयमा कार्यक्रम गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन दूतावासद्वारा गठित उच्चस्तरिय समिति अन्तर्गत ‘ट्राभल एण्ड टुर प्रमोशनल कमिटी’ ले गरेको कार्यक्रममा बेलायतस्थित ट्राभल टुर अपरेटर, ट्राभल एवं हस्पिटालिटी व्यवसायी र मिडियाको बाहुल्यता थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारको भ्रमण वर्ष अभियानलाई सफल बनाउन आक्रामक प्रचार प्रसार गरिने जानकारी दिए । ‘भ्रमण वर्ष २०२०’ मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य लिएका राजदूतले आउंदो वर्ष इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा बेग्लाबेग्लै प्रवर्धनात्मक कार्यक्रम गर्ने तयारी भइरहेको पनि जनाए । गत वर्ष बेलायतबाट ६० हजार बढि पर्यटक नेपाल घुम्न गएको तथ्यांक छ ।

महाभूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्किसकेको जनाउंदै राजदूतले नेपाल भ्रमणका लागि सुरक्षित र उत्कृष्ट गन्तव्य भएको बताए । उनले बेलायती पर्यटकलाई एक पटक नेपाल जान पनि प्रेरित गरे । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा रहेको एवं पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिने क्रममा रहेको जनाउंदै डा. सुवेदीले नेपालमा पर्यटकहरुलाई गरिने आतिथ्य विश्वमा अन्यत्र कहीं नभएको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा उत्पादित चिया, कफी विश्वकै उत्कृष्टमध्ये पर्ने बताए । उनले हाल १८ जिल्लामा चिया कफी उत्पादन भइरहेको पनि जनाए ।

कार्यक्रम संयोजक एवं नेपाल भ्रमण वर्ष २०२०, उच्चस्तरिय समिति यूके अन्तर्गत ट्राभल एण्ड टुर प्रमोशनल कमिटी संयोजक बिराज भट्टले नेपालबारे विस्तृत जानकारी समेटिएको एउटा ‘प्रिजेन्टेसन’ दिए । भट्टले आफ्नो प्रस्तुतिका क्रममा नेपालको प्राकृतिक सौन्दर्य एवं भौगोलिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक आयामबारे जानकारी दिंदै नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।

भट्टले नेपाल घुम्न सस्तो र सुरक्षित भएको पनि बताए । दुई दशकदेखि पर्यटन व्यवसायमा आवद्ध भट्ट लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका नवनिर्वाचित उपाध्यक्ष पनि हुन् ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य र साहसिक, धार्मिक पर्यटन झल्कने विभिन्न भिडियो देखाइएको थियो । साथै नेपालकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी, स्थानीय कलाकारहरु सुस्मिता थापा, सबु सेन्चुरी, अमृता गिरी, पूजा गिरी लगायतले नेपाली मौलिक तथा लोक नृत्य र मदन थापाले सांरगीबाट मालश्री धुन प्रस्तुत गरेका थिए । सो अवसरमा विदेशीहरुमध्येबाट राफल ड्र गरि सात जनालाई विभिन्न आकर्षक पुरस्कार समेत प्रदान गरियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री