अल्डरसट (बेलायत) । आफ्नो गौरवमय योजनाका रूपमा खरिद गरेको चुम्लुङ देनलाई याक्थुङ चुम्लुङ यूकेले थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने भएको छ । भविष्यमा बहुउद्देश्यीय परियोजनाका रूपमा चुम्लुङ देन (जग्गा) लाई उपभोग गर्न चुम्लुङले गृहकार्य पनि थालेको छ ।
शनिबार अल्डरसटमा सम्पन्न राष्ट्रिय परिषद बैठकमा बोल्दै चुम्लुङ यूके अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले चुम्लुङ देन खरिद प्रक्रिया र स्वामित्व ग्रहणको कामले पहिलो चरण मात्रै पूरा भएको बताए । उनले बेलायतवासी बीसौँ हजार याक्थुङहरूको गरिमाका रूपमा चुम्लुङ देन खरिद गर्न सफल भएको दोहोरयाए । ‘सिसेक्पा तङ्नाम भव्य ढङ्गले आफ्नै चुम्लुङ देनमा मनाउन सफल भयौँ । अब भावी पिँढीका लागि देनलाई बहुउद्देश्यीय र साझा बनाउनुपर्छ,’ परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सम्बाहाम्फेले भने । उनले चुम्लुङ देनको रेखदेखदेखि भविष्यमा चुम्लुङ हिम निर्माणसम्मको परिकल्पना आफूहरूले गरेको सुनाए ।
कुल २५.३३ एकडमा फैलिएको चुम्लुङ देनको खरिद प्रक्रिया सन् २०११ मा सम्पत्ति खरिद समिति गठन भएपछि सुरु भएर गत साल समापन भएको थियो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङ देन खरिदका लागि ७८७ सहयोगदाताहरूबाट रकम सङ्कलन गरिएको थियो । मेडस्टोनको याल्डिङमा रहेको जग्गा सन् २०१८ मा कुल ३,३२,१९२ पाउण्ड स्टर्लिङमा खरिद गरिएको थियो । चुम्लुङ देनको उद्घाटन मेडस्टोन बोरो काउन्सिलकी मेयर मेरियन रिङले गत जुलाई १३ मा आयोजित सिसेक्पा तङ्नाम उत्सवका अवसरमा गरेकी थिइन् ।
चुम्लुङ देनकै रेखदेख गर्न परिषद बैठकले उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा चार सदस्यीय कार्यदल समेत निर्माण गरेको महासचिव गणेश इजमले जाकारी दिए । सदस्यहरूमा दीपक तुम्बापो, जीवन प्यारा मादेन र इन्द्र थक्लुङ रहेका छन् ।
महासचिव इजमले बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै चुम्लुङ सदस्यता पत्र र चुम्लुङ देन सदस्यता पत्र वितरण कार्यलाई तीव्रता दिने बताए । प्रतिवदेनअनुसार हाल १५ वटा शाखा र तीनवटा अनौपचारिक क्षेत्रहरूमा २०४९ साधारण सदस्यहरू, ७२ आजीवन सदस्यहरू, ३५ जना संरक्षक सदस्यहरू रहेका छन् । उनले नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्न युवा फोरम निर्माणको अवधारणा भए पनि पूरा गर्न नसकेको बताए ।
यसैगरी, कोषाध्यक्ष धन काम्वाङले आयतर्फ कुल ५९,९५७.४५ पाउण्ड, व्ययतर्फ कुल ४४,३५२.७३ पाउण्ड भई कुल बैङ्क बचत १५,६०४.७२ पाउण्डको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केन्द्रीय समिति र शाखा समितिहरूको उपस्थितिमा सम्पन्न परिषद बैठकले पूर्व महासचिव खगेन्द्र लाओतीद्वारा प्रस्तुत कियाचु यूके पुरस्कार सम्बन्धी नियमावली २०१९ लाई संशोधनसहित पारित गरेको थियो ।
चुम्लुङ यूकेले विभिन्न विधामार्फत् समुदाय र सङ्गठनका लागि विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सिरिजङ्गा अवार्ड, यलम्बरहाङ अवार्ड, चुम्लुङ अवार्ड र वर्षको उत्कृष्ट कलाकार अवार्डहरूले सम्मानित गर्दै आएको छ ।
यसैगरी, बैठकले सन् २०२० को सिसेक्पा तङ्नाम उत्सवका लागि उपाध्यक्ष नरवीर आङ्वोलाई मुख्य संयोजक र अर्का उपाध्यक्ष दुर्गा पाङ्मालाई उपसंयोजक तोकेको छ । वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङका अनुसार केन्द्रीय समितिले चुम्लुङ सदस्यहरूको समस्यामा सहयोग गर्न कल्याणकारी कोष निर्माण गरेको बताए । कोषले सदस्यहरूको मृत्यु भएमा या कठिन समस्या परेमा राहत रकम उपलब्ध गराउनेछ ।
बैठकले विधान संशोधनलगायत आगामी महाधिवेशनको मिति तय गर्न सन् २०२० फेब्रुअरी १५ मा विधान सभा डाकेको छ । परिषद बैठकमा पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, सल्लाहकारहरू समेतको उपस्थिति थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’