पराजुली र मुकारूङलाई प्रतिभा सम्मान


बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्ष वरिष्ठ कवि गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान’ र चर्चित गीतकार एव संस्कृतिकर्मी शुभ मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थाकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । सम्मानमा २० हजार नगदसहित सम्मान थैली र ताम्रपत्र रहेको छ भने पुरस्कारमा एक लाख नगद र ताम्रपत्र रहेको जनाइएको छ ।

वि.सं. २००७ साल पौष २ गते काठमाण्डौंको कोटेश्वरमा जन्मिनुभएका सम्मानित प्रतिभा कवि गोपाल पराजुलीले वि.सं. २०३६ सालमा आफ्नो पहिलो कृति ‘गोलार्धका दुई छेऊ’ नाटक संग्रह प्रकाशित गर्नुभएको थियो । उहाँका अन्य कृतिहरुमा पृथ्वीमाथि आलेख, दिशाहीन आकाश, हिमालमाथि आलेख, अर्को दिशा, देशमाथि आलेख, शब्द सताब्दी, समानान्तर सडक, शताब्दीको यौटा पत्र, सडकपछि सडक, समयको प्रस्थान, नयाँ ईश्वरको घोषणा, अर्को विश्वको प्रस्ताव र यौटा जेलबर्डको चिट्ठी आदि विभिन्न कृतिहरू प्रकाशित छन् । उहाँलाई नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने  भएको हो ।

यस्तै पुरस्कृत स्रस्टा शुभ मुकारुङ वि.सं. २०२८ साल साउन १३ गते भोजपुरको दिल्पा अन्नपूर्णमा जन्मिनुभएको हो । गीतकार शुभ मुकारुङका शायद, सम्बेग र स्वीकृति गरि तीन गीति एल्बम र पुग्नु कहाँ थियो नामक एक गीति संग्रह प्रकाशित छन् भने संस्कृतिमा आधारित कृतिहरुमा हामी, कथा ढुङ्गै ढुङ्गाको, किरात राई जाति मुन्दुमी सामग्री र कथा पानीको गरि जम्मा चार कृतिहरु प्रकाशित छन् ।

नेपाली गीति लेखन र सांस्कृतिक खोज अनुसन्धान आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएवापत स्रष्टा मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने महासचिव मिजास तेम्बेद्वारा जारी गरिएको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, स्व. जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, स्व. बेणु आचार्य र दावा ग्याल्मो (दार्जिलिङ) सम्मानित भइसक्नुभएको छ ।

यसै गरी ‘प्रतिभा पुरस्कार’बाट  नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान बल र बलराम अधिकारी पुरस्कृत भइसकेका छन् ।

पुरस्कार र सम्मान आगामी जनवरीमा काठमाण्डूमा एक समारोह आयोजना गरी वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री