प्रत्यासी पुनमका साथ अध्यक्ष फगामी संगै मैदानमा

लन्डन । यतिखेर बेलायत एनआरएनमय छ । यही शनिबार तय भएको निर्वाचनले नेपाली डायस्पोराको पुरै ध्यान खिचेको छ । समुदायमाझ नयां नेतृत्वबारे टिप्पणी तीव्र छ । उम्मेदवारहरु 
घरदैलोमा व्यस्त छन् ।

यसपटक अध्यक्षमा पुनम गुरुङ र शेरबहादुर सुनारबीच प्रतिष्पर्धा हुंदैछ । चुनावको पूर्व सन्ध्यामा पुनम समूह घरदैलोमा निकै व्यस्त देखिएको छ । ‘हामी यतिखेर अन्तिम ‘रिमाइन्ड’ गर्दैछौं’- बुधबार सांझ मेडस्टोनमा व्यस्त पुनमले भनिन्, ‘मतदाताहरुको स्वतस्फूर्त बोलावट र उहांहरुलाई मतदानबारे उत्प्रेरणासहित जानकारी दिन हामी घर-घर र विभिन्न शहर पुगिरहेका छौं ।’

मतदाता अधिक रहेको मिडल्याण्ड, हयारोपछि दलबलसहित मेडस्टोन पुगेकी पुनमलाई जित्ने आत्मविश्वास पनि उच्च छ । बिहीबार उक्त समूह साउथ इष्ट लन्डन पुग्ने कार्यक्रम छ ।

रोचक संयोग के भने अध्यक्षकी प्रत्यासी पुनमका साथ वर्तमान अध्यक्ष योगकुमार फगामी पनि चुनावी अभियानमा संगै छन् । पुनम टिमसंगको सामिप्यले फगामी चर्चामा पनि आए । ‘अध्यक्ष भइसकेको व्यक्ति आइसीसी सदस्यमा किन सिमित ?’ भनेर उनले मानिसहरुको प्रश्न सामना गरिरहेका छन् । तर, पदलोलुपता नभएकाले काम गर्न सानै तहबाट जानुपर्ने 
आफ्नो मान्यता रहेको फगामीले प्रष्टिकरण दिएर उनी पुनम टिमलाई जिताउन खुलेरै लागेका छन् ।

कर्तव्यनिष्ट, सवल, सक्षम र महिला आदर्शको प्रतिनिधित्व पुनमले गरेको र उनको समूह सबै क्षेत्र, जाती, वर्ग र सामाजिक रुपमा अब्बल दर्जाका अगुवाहरु सम्मिलित समावेशी टिम रहेको उम्मेदवारहरुको दाबी छ । त्यसो त एनआरएनए यूके इतिहासमा पहिलो पटक महिला नेतृत्व ‘विजयोन्मुख’ रहेकाले उनलाई बिना सर्त साथ 
दिनुपर्ने आवाज पनि एकथरिको छ ।

पुनमको चुनावी अभियान आफ्नै रफ्तारमा छ । उनको टिमले प्रतिद्वन्द्वीलाई गाली गरेर होइन, आफ्नै खुबी प्रस्तुत गरेर मतदाता आकर्षित 
गरिरहेको पाइएको छ । ‘म र मसंग आवद्ध 
मेरा साथीहरुलाई सभ्य, पारदर्शी, सम्मानजनक, आपसी भाइचारा र सामाजिक सन्तुलनलाई खलल नहुने गरी एक परिपक्व चुनावी प्रचार शैली अपनाउन अनुरोध गर्दछु’, उनले विगतदेखि भन्दै आएकी छन्, ‘हामी बीचमा कुनै तिक्तता सांध्नु जरुरी छैन् । हिजो पनि मिलेरै काम गरेका हौं भने भोली पनि यो सम्भव छ ।’

सामाजिक रुपान्तरणका बाहक बन्न अग्रसर जो कसैले पनि जिम्मेवारी बोध 
गर्दै समाजको संरचना र आयामहरुलाई 
ह्दयंगमगरी स्वच्छ, पारदर्शी, सभ्य र भद्र प्रचारशैली तथा चुनावी अभियान सञ्चालनका लागि उनले अपिल गरेकी छन् । आफ्नो शालीनता र सभ्य व्यवहारलाई कमजोरीका रुपमा नलिन पनि उनको आग्रह छ ।

नागरिकता निरन्तरताको माग तार्किक निष्कर्षमा पुरयाउन नेपाल सरकारसंगको सहकार्य, भूतपूर्व गोर्खाहरूको समानताको लडाईंमा पैरवी, सम्पत्तिको सुरक्षा, युवा तथा महिला सशक्तिकरण, आंशिक रुपमै भए पनि नियमित कार्यालय सञ्चालन, प्रत्येक वर्ष सदस्यता बन्नु पर्दा बुझाउनु पर्ने कागजातबाट उन्मुक्ति र सबैलाई हाम्रो र राम्रो एनआरएनको भाव जगाउने यो फराकिलो 
राजमार्गमा आएर संगसंगै यात्रा गर्न उनले अपिल गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री