कर्ममा विश्वास गर्ने कर्मा

लन्डन । नेपाली संगीतिक क्षेत्रमा गाउँघरका लोक भाकालाई टपक्क टिपेर दर्शक माँझ पस्किरहेका कर्मा शेर्पा बेलायत यात्रामा निस्किए । गाउँघरका भाका र गाउँले जीवनको खुसीलाई चटक्क छाडेर कर्मको पछि लाग्दै एक्कासी बेलायत आइपुगे शेर्पा ।

‘हरेक मानिसलाई समय र भाग्यले कता कता पुर्याउँछ त्यो हामीलाई थाहा छैन, कर्ममा विश्वास गर्ने म जस्तो श्रमिक कर्मकै पछि लागेँ’, कर्मभूमि यूके आउनुलाई यसरी सम्झन्छन् आसन्न एनआरएनए युकेका महासचिव पदका उम्मेदवार कर्मा पहाडी (कमान सिङ‌ कर्मा पहाडी) शेर्पा ।

नेपाली संगीत विशेषगरी लोक दोहोरीमार्फत हरेक नेपालीको ढुकढुकीमा पुग्न सफल शेर्पा अब बेलायतवासी नेपालीको ढुकढुकी बन्न चाहन्छन् । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको महासचिव जस्तो महत्वपूर्ण पदमा उनले गत १८ अगष्टमा उम्मेदवारी दिए ।

नेपाल आदिवासी जनजाती महासंघ बेलायतमा सफलतापूर्वक महासचिवको कार्यकाल पूरा गरिसकेका शेर्पा एनआरएनए युकेको महासचिव भइ युकेबासी नेपालीको सेवा गर्न आतुर छन् । घरपरिवार पछि समाजसेवा उनको दोस्रो प्राथमिकतामा पर्दोरहेछ । जाति, भाषा र क्षेत्रलाई हेर्ने हो भने करिब ८० प्रतिशत एनआरएनए युकेका पंजीकृत सदस्य जनजाति छन् । तैपनि उनी जाति, भाषाभन्दा माथि उठेर सबै नेपालीको सेवा गर्ने उत्कट चाहना राख्छन् ।

आफूलाई कर्मबाट नै स्थापित बनाउन चाहने कर्मा पहाडी शेर्पाको पूरा नाम कमान सिङ कर्मा पहाडी शेर्पा हो । सुदूर पूर्व ताप्लेजुङमा जन्मेका कर्मासित विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ । मिलनसार स्वभावका शेर्पा सामाजिक काम भनेपछि हुरुक्क हुन्छन् । पूर्व गोर्खाले समान पेन्सनका लागि गरिरहेको आन्दोलनमा पुगिहाल्छन् । नेपाली नागरिकता निरन्तर गरिने अन्तरक्रिया होस् वा भेटघाट उनको सकृयता सधैं रहन्छ । जन्मभूमि प्रतिको उनको अगाढ मायाले लगानी लैजान एनआरएनए बेलायतले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ भन्ने उनको ठम्याई छ । पैत्रिक सम्पत्ति संरक्षणमा नेपाल सरकारका प्रतिनिधिसँग छलफलमा उनी अग्रभागमै उभिएर जनताका प्रश्न गरिरहेका हुन्छन् ।

एनआरएनए युकेलाई व्यवस्थित, पारदर्शी र बेलायतबासी आम नेपालीको आशा, विश्वास र भरोसाको केन्द्र बनाउन सबै किसिमको मिहिनेत लगाउने उनको योजना छ । एनआरएनए युकेलाई ‘डिजिटलमैत्री’ बनाउने अभिलासाका साथ अहिले बेलायतवासी नेपालीका घरआंगनमा पुगिरहेका छन् । प्रत्यासी शेर्पा मतदान मार्फत सबै बेलायतबासी नेपालीको पूर्ण सहयोग पाउनेमा आसावादी छन् । ‘आदरणीय बेलायतवासी एनआरएनए युकेका मतदातासँग एक व्यक्ति एक मतको आसा गरेका छु’- उनले वीनेपालीसँग भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री