लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स मैदान आइतबार ‘मिनी नेपाल’ बन्यो । नेपाल बिर्साउने गरि आयोजित नेपाली मेलामा हजारौं सहभागी भए । भारत, चीन, मरिसस र ईयू गरि १२ जना कुटनीतिज्ञ पनि मेलाको प्रत्यक्ष साक्षी बने ।
बेलायतस्थित २७ विभिन्न सामाजिक, जातिय तथा धार्मिक संघसंस्थाले प्रस्तुत गरेका मौलिक झांकीले लन्डन मिनी नेपालमा परिणत भएको थियो ।
तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ११ औं मेला गरेको हो ।
‘लन्डन नेपालमय देख्दा सांच्चिकै खुशी लाग्यो’, मेलामा आइपुगेकी बेल्जियमस्थित महिला अभियन्ता एवं व्यवसायी अनुजा प्रधानले प्रतिक्रिया दिइन्, ‘विदेशमा नेपाली कला संस्कृति र पहिचान जोगाउने यो कार्य एकदम सरहानीय छ ।’
नेपाली कला संस्कृति, परम्परा र भेषभूषा झल्काउने नेपाली मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा भयो भने युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गरे ।
मेला हेर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मेला सबै जाती, भाषी, संस्कृति र धर्म मान्ने नेपालीहरुको साझा कार्यक्रम रहेछ भन्दै आयोजकको प्रशंसा गरे । ‘मानिस जहां जाओस्, नागरिकता परिवर्तन हुन सक्छ तर उसको संस्कृति, आदिम भेषभूषा र परम्परागत सोच चिन्तन परिवर्तन हुन सक्दैन्’, मुख्यमन्त्रीले भने ।
नेपाल संघीय शासन प्रणालीको पहिलो चरणमा रहेको बताउंदै उनले बहुसांस्कृतिक, बहुधार्मिक, बहुजाती र बहुलताभित्र कसरी एकता कायम गर्न सकिन्छ भनेर देशमा संघीय शासन प्रणाली अवलम्बन गरिएको जनाए । उनले समाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व कायम गर्न संघीय शासन प्रणाली अपनाइएकाले विकासको वाधक अब केही नभएको दावी गरे । नेपालमा समृद्धि र विकासको युग प्रारम्भ भएको बताउंलै उनले अब सबै एकजुट हुन जरुरी रहेकोमा पनि जोड दिए ।
‘अबको २५ वर्षभित्र नेपालमा कोही गरिब हुने छैन्’, उनले भने, ‘सबै साक्षर हुनेछन् । उपचारको अभाव हुने छैन् । नेपाललाई मध्यम स्तरको विकसित राष्ट्रको दांजोमा पुरयाउने योजनामा हामी छौं ।’ दुई वर्षभित्र गण्डकी प्रदेशका घर घरमा धारा, गाउंगाउंमा वाइफाइ र डिजिटल प्रदेशका रुपमा स्थापित गर्ने पञ्चवर्षीय योजना पनि उनले सुनाए ।
कार्यवहाक राजदूत शरदराज आरणले दूतावासको सहकार्यमा हुंदै आएको मेलाले नेपाली कला संस्कृति र परम्परा विदेशमा पनि जीवन्त राख्न सघाएको धारणा राखे ।
तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेलाले नेपाली कला, संस्कृति, सम्पदा, भेषभूषा संरक्षण र संवर्धन गर्दै भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्ने विश्वास व्यक्त गरे । ‘मेलाले सबै नेपालीको पहिचान प्रतिबिम्बित गरेको छ’, उनले भने, ‘भाषा र संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्रिय प्रचार प्रसार एवं पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड प्रदान गरिएको छ ।
तस्विर- शंकर श्रेष्ठ/मिलन तमु/नरेन्द्र बस्नेत
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस