लन्डन-लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालमा क्रियाशील ब्रिटिश गैर सरकारी संस्थाहरुको कामको प्रशंसा गरिएको छ।
‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) संगको सहकार्यमा नेपाली दूतावासले बिहीबार आयोजना गरेको “नेपाल विकास सम्मेलन – ८ तथा नेपाली चिया महोत्सव” मा नेपालको विकासका लागि ब्रिटिश कल्याणकारी संस्थाहरुलाई प्रोत्साहन विषयमा विभिन्न प्रस्तुति गरिए ।
सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद मार्कस जोन्सले नेपालमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा कार्यरत ब्रिटिश संस्थाहरुको प्रशंसा गरे। उनले नेपाल ब्रिटेनको भरपर्दो मित्र भएको बताउंदै नेपालको विकासमा सघाउन बेलायत प्रतिबद्ध रहेको बताए। उनले हालै बाढीबाट नेपालमा धनजनको क्षति भएकोप्रति दुख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरे।
ब्राङ्गोका संयोजक डेविड थोमसले नेपालमा काम गरिरहेका ब्रिटिश कल्याणकारी संस्थाहरु तथा अन्य संगठनहरुबीच संचार, सहकार्य र आपसी सहयोग बढाउने उद्देश्यले उक्त संजाल स्थापना गरिएको बताए । उनले १०० भन्दा बढी ब्रिटिश कल्याणकारी संस्थाहरु नेपालमा कार्यरत रहेकोमा ४२ ओटा आफ्नो संस्थामा आबद्ध भैसकेको जनाए ।
नेपालका लागि पूर्व ब्रिटिश राजदूत तथा ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष एन्ड्रयु स्पार्कसले नेपालमा कार्यरत ब्रिटिश कल्याणकारी संस्थाहरुलाई ब्रिटिश राजदूतावाससंग समन्वय गरी काम गर्न सुझाव दिए । उनले चेभनिङ स्कलरशिपजस्ता छात्रवृत्तिका लागि थप रकम छुट्याउन ब्रिटिश सरकारलाई आग्रह पनि गरे ।
सहभागीहरुलाई स्वागत गर्दै ब्रिटेनका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल तथा ब्रिटेनबीच जनस्तरको सम्वन्ध बलियो बनाउन ब्रिटिश गैर सरकारी संस्थाहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण निकै सफल र उपलब्धिपूर्ण रहेको बताए । उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न ब्रिटिश कल्याणकारी संस्थाहरुलाई आग्रह पनि गरे ।
गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले नेपालमा कार्यरत ब्रिटिश गैर सरकारी संस्थाहरुसंग सहकार्य गर्न गैर आवासीय नेपाली संघ तयार रहेको बताए । उनले गैर आवासीय नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा नेपालमा अरबौं रुपिया बराबरको कल्याणकारी सहयोग गरेको विवरण पनि दिए ।
ब्रिटेन नेपाल च्याम्बरका अध्यक्ष तथा पूर्व सांसद राजेन्द्र खेतानले गैर सरकारी तथा निजी क्षेत्रलाइ मिलेर काम गर्न सुझाव दिए । कार्यक्रममा ब्रिटेन नेपाल मेडिकल ट्रस्टकी सह-अध्यक्ष डा जिलियन होल्डस्वर्थ, हङकङस्थित द कादुरी फाउन्ड़ेशनका भूतपूर्व निर्देशक क्रिस्टोफर लाभेन्डर लगायतका वक्ताले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश परेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली चियाका बारेमा प्रस्तुति गरेका थिए । उनले नेपाली चियाको गुणस्तर विश्वस्तरको रहेको भन्दै नेपाली चिया पिउन सबैलाई आग्रह पनि गरेका थिए ।
(फोटो सौजन्य-नेपाली दूतावास, लन्डन)
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने