लन्डन । प्रधानमन्त्री टेरेजा मेले आउंदो जुन ७ तारिखका दिन आफूले पदबाट राजिनामा दिने घोषणा गरेसंगै बेलायतमा नयां प्रधानमन्त्रीको दौड शुरु भएको छ ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले आउंदो जुलाई अन्त्य सम्ममा देशमा नयां प्रधानमन्त्रीको चयन भइसक्ने जनाएको छ ।
१९२२ कमिटीले एक वक्तव्य जारी गर्दै दलको नयां नेता बन्न सांसदहरुले जुन १० तारिखदेखि एक साताभित्र नामांकन दाखिल गरिसक्नुपर्ने बताएको छ ।
पार्टीका ३१३ मध्ये सबैभन्दा बढी सांसदहरुको समर्थन जुटाउन सफल दुईजना उम्मेदवारमध्येबाट एक जना चुन्न देशभरिका कन्जरभेटिभ पार्टीका सदस्यहरुले मतदान गर्नेछन् । कन्जरभेटिभका १ लाख २४ हजार सदस्य छन् ।
बीबीसीका अनुसार अहिलेसम्म विदेशमन्त्री जेरेमी हन्ट, भूतपूर्व विदेशमन्त्री बोरिस जोन्सन, अन्तर्राष्ट्रिय विकास मन्त्री रोरी स्टेवार्ट, स्वास्थ्य मन्त्री म्याट हयानकक, भूतपूर्व पेन्सनमन्त्री एस्थर म्याक्भे, भूतपूर्व ब्रेक्जिट मन्त्री डोमिनिक राबलगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उम्मेदवारको संख्या झण्डै दर्जन पुग्ने अनुमान गरिएको छ । यसअघि गरिएको एउटा सर्वेक्षणमा बोरिस जोन्सन लोकप्रिय देखिएका थिए ।
आफ्नै मन्त्रिपरिषद् सदस्यहरु तथा सत्तारुढ दलका सांसदहरुको विरोधपछि प्रधानमन्त्री मेले गत शुक्रबार पदत्यागको घोषणा गरेकी थिइन् । गत वर्ष उनको सरकारले युरोपेली संघसंग गरेको ब्रेक्जिट फ्रेमवर्क सम्झौता ब्रिटेनको संसदले तीन पटक अस्वीकार गरिदिएपछि उनी माथि पद छाड्न दवाव बढेको थियो ।
सन् २०१६ मा गराइएको जनमत संग्रहमा बेलायती मतदाताले सानो अन्तरले ब्रिटेनले युरोपेली संघ छाड्नु पर्ने पक्षमा मतदान गरेपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यमरनले आफ्नो पदबाट राजिनामा दिएका थिए । त्यसपछि जुलाई २०१६ मा प्रधानमन्त्री चुनिएकी मेले तीन वर्ष नपुग्दै पद छाड्नुपरेको हो ।
नयां प्रधानमन्त्रीलाई पनि बे्रक्जिटसम्झौता पारित गराउन सहज भने देखिन्न । विश्लेषकहरुले प्रधानमन्त्री मेको बहिर्गमनपछि ब्रेक्जिट संकट अरु गहिरिन सक्ने चेतवानी दिएका छन् । सत्तारुढ दलका नयां नेता तथा आगामी प्रधानमन्त्रीले युरोपेली संघसंग नयां सहमति कायम गर्न नसकेमा बेलायतमा फेरि आमचुनाव हुनसक्ने अनुमान गरिएको छ । प्रमुख विपक्षी लेबर पार्टीले देशमा नयां आमनिर्वाचन माग गर्दै आएको छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह