नछोएको सिस्नुले पोलेको घाउ

सिस्नुले पोल्ने भन्ने बित्तिकै बचपनको सम्झनाले गर्दा आङ नै सिरिङ्ग भएर आउंछ । गाउंघरमा हुंदा म र मेरो माइला दाईले गरेको विभिन्न बदमासी कामहरुको सम्झना ताजा भएर आउने गर्दछ । हाम्रो बारीको ठूला ठूला पाटाहरुमा मकैका धानचमरा निस्कने बेलाको समय थियो र सांधमा अर्को पाटामा पनि छिमेकीको मकैको बोटहरु हाम्रोमा भन्दा झन् धेरै राम्रो अनि लहलह हरियो भएर धानचमरा निस्कने अवस्थामा थियो ।

म र माइला दाईको मथिङ्गलमा सैतानले बास गरेछ क्यारे हामी दुवैजना रिसले रन्थनिन थाल्यौं र पछि घरमा गएर भएको ठूलो हंसिया छानेर एक-एक वटा लिएर छिमेकीको मकै बारीमा छिरयौं । हाम्रो मकैको बोटहरु चाहिं नसप्रेका, साना, पहेंला थिए भने छिमेकीको चाहिं हाम्रो दांजोमा धेरै सप्रेको थियो । त्यसैले सराप्दै दुवै जनाले बिहानभरि जोत्दा पनि नसकिने पाटाको मकै वल्लो छेउदेखि पल्लो छेउसम्म गर्दै एवम रीतले आधापाटा मकै फांडेर सखाप नै पारिदियौं । त्यतिबेलासम्म कसैले पनि देखेको थिएन । मलाई म कति वर्षको थिएं भन्ने खासै हेक्का छैन् तर अन्दाजी हामीहरु सात÷आठ वर्षको हुनु पर्छ । मलाई त्यसो गर्नु हुन्न भन्ने कुरा थाहा नभए पनि दाइलाई त थाहा हुनु 
पर्ने थियो ।

केही समयको अन्तरालमा हाम्रो छिमेकी अर्थात बारीको सांधको मालिक हाम्रो घरमा आएर रुन कराउन थाल्यो । लौ न मेरो वर्षभरि खाने मकैको सर्वनास नै बनाएछ । कसले केको रिसले यस्तो गरेको होला भनेर छिमेकी खरेल बाजे रुन कराउन छोडेन । त्यतिन्जेलसम्म हाम्रो घरको सबै जना परिवारका सदस्यहरु जम्मा भइसकेका थिए । हामी दुईजना पनि रमिता हेरेर बसिरहेका थियौं । हामीहरु तीन जना दाजुभाई मध्ये ठूलो दाईले म र माइला दाईमाथि शंका गरेर हामी दुवै जनालाई समात्नु भयो । एक जनालाई समाते पछि अर्काे चाहिं भाग्नु पर्ने थियो तर नभागी बसेपछि ठूल्दाइलाई झन् समाउन सजिलो भयो ।

माइला दाई र मलाई तिमीहरुले काटेको हो कि होइन भनी सोधेको प्रश्नमा हामी अनुत्तरदायी भएपछि हामी दुईमाथि कारबाही शुरु भयो । हामी दुईलाई लुगा फुकालेर बांधी बारीमा भएको झरिलो अनि छिप्पेको ठूलो एक मुठा सिस्नु ल्याएर हामी दुईलाई झ्याप कि झ्याप पालैपालो हान्न थाल्नु भयो । हामीहरु जति चिच्याई चिच्याई रोए पनि हामीमाथि दया माया कसैको जागेन । हाम्रो शरीरभरि पुरा डाबरहरुले भरिएको थियो । कति पोलेको थियो अहिले सम्झिंदा पनि अझै डर लागेर आउंछ ।

सिस्नु एक किसिमले हेर्दा मानिसहरुको लागी खराब जस्तो देखिएपनि ठीक तरिकाले प्रयोग गर्न जान्यो भने स्वास्थ्यका लागि धेरै नै फाइदाजनक छ । निन्द्रा नलाग्नेहरुका लागि सिस्नुको पातको चिया बनाएर पिउंदा धेरै फाइदा भएको कयौं मानिसका अनुभव पत्रिकामा पढ्न पाइन्छ । त्यस्तै अरु थुप्रै रोगहरुका लागि सिस्नुको क्याप्सुलहरु औषधि पसलमा पनि पाइन्छन् । तर, नेपालीहरुले तरकारीको रुपमा दाल बनाएर ढिंडोसंग खाने गर्दछन् । मैले पनि गाउंघरमा हुंदा धेरैपल्ट खाएको थिएं ।

आज भोलि नेपालमा सिस्नुलाई सुकाएर सिस्नुको धुलो अथवा पीठो जस्तो बनाएर पाकेट अथवा सिसाको बोटलमा बेच्ने चलन पनि आइसकेको छ । सिस्नुलाई आफ्नो स्वादअनुसार जसरी पकाएर खाए पनि सिस्नुका थुप्रै फाइदा रहेको इन्टरनेटमार्फत हेर्न पढ्न सक्नुहुन्छ ।
मेरी आमाले बनाउनु भएको तरिका एकदम सजिलो अनि स्वादिलो हुन्थ्यो जुन कहिल्यै पनि बिर्सन सकिन्न । सिस्नुको कलिलो मुन्टालाई चिम्टाले टिप्ने अनि चिसो पानीमा नुन हालेर त्यही चिम्टाले समातेर पानीमा राम्ररी पखाल्ने । पानीमा नुन हालेर पखाल्दा सिस्नुमा भएका सबै किरा झर्दछन् र सिस्नु सफा पनि हुन्छ । एउटा गहिरो भांडोमा नुन हालेर पानी उमाल्ने अनि पानी उम्लिसकेपछि सिस्नुलाई पानीमा हालेर सात-आठ मिनेट अथवा सिस्नु नरम भई सकेपछि ताजा लसुन अनि हरियो खुर्सानी सिलौटामा मजाले पिसेर हाल्ने अनि अलिकति मकैको पीठो र घ्यू हालेर काठको फिर्कीले राम्रोसंग फिटेपछि लतक्क परेको सिस्नुको दाल र मकैको ढिंडो खाएको सम्झना अझै ताजा नै छ । त्यसैले हामी नेपालीहरु यदाकदा विदेशतिर पनि सिस्नु खाएको अनि सिस्नु टिप्न जांदा गोराहरुले सिकायत गरेको जस्ता खबर नसुनिएको पनि होइन ।

तर, हालसालै म काम गर्ने ठाउंमा जया गुरुङ बहिनी, पूर्ण गुरुङ दिदी, उडीमाया अनि लक्ष्मी थापा बहिनीहरुले सानो स्वरमा नेपालीहरुले सिस्नु खाएर ठूलो बेइज्जत गरेछ भनेर गोराहरुले सुन्छ भन्दै कानमा साउती मार्दै कुरा गर्नु भएको मैले सुनें । कहां, कहिले भनी सोध्दा नेपाली स्वीण्डनको भाइवर ग्रुपमा फोटोसहित आएको छ भन्नु भएपछि मैले पनि हेर्न भ्याएं । जहां रवि लामिछानेद्वारा लेखेको भनेर एउटा अपुष्ट समाचार चारजना मानिसको फोटो राखेर ननिटन न्यूज भन्ने पत्रिकामा नक्कली समाचार बनाएर सामाजिक सञ्जालमा हालिएको रहेछ ।

२८ अप्रिलमा चारजना नेपालीलाई जंगलमा सिस्नु टिप्दै गर्दा पक्राउ भन्ने शीर्षक राखेर अंग्रेजीमा सो समाचार लेखिएको थियो । सो समाचारमा चारजना नेपालीले जंगलमा सिस्नु टिपेर दुई वर्षदेखि बेच्दै आएको छ भन्ने स्थानिय मानिसहरुको सिकायत आएपछि जनही पांच हजार पाउण्डको दरले जरिवानाका साथ कारवाही अगाडि बढेको छ भन्ने भ्रामक समाचारले सांच्चिकै आज 
प्रत्येक नेपालीहरुलाई नछोएको सिस्नुले पोलेर घाउ बनाइदिएको छ । यस्ता नक्कली समाचारले अलिकति सचेत त 
गराउला तर तथ्यहीन समचारलाई खासै त्यतिचासोको रुपमा मानिसहरुले लिने कुरा पनि आएन ।

स्थानिय नागरिकहरुले हरियाली बचाउं भन्ने नाराका साथ विभिन्न ठाउंमा वृक्षारोपण अभियान चलाएको पनि देख्न सकिन्छ तर नेपालीहरुले अलिअलि सिस्नुको मुन्टा खायो भन्दैमा हरियाली नास हुन्छ भन्ने मलाई लाग्दैन् । तैपनि हामी नेपालीहरुप्रति स्थानिय नागरिकहरुको हेर्ने दृष्टिकोणमा नराम्रो नहोस् भन्ने ख्याल राखी अलि सजग हुनु चाहिं महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ ।

धादिङ, हाल- स्वीण्डन यूके

प्रतिक्रिया

सम्बन्धित सामाग्री