‘ब्रेन गेन सेन्टर’ स्थापनाप्रति बेलायतबाट मिश्रित प्रतिक्रिया

प्राध्यापक सुवेदी

लन्डन । नेपालमा केही दशकयता ‘ज्ञान पलायन’ बढिरहंदा सरकारले शुरु गरेको एउटा अभियानप्रति गैर आवासीय नेपालीबाट मिश्रित प्रतिक्रिया आएको छ । सरकारले नेपालमा पहिलो पटक स्थापना गरेको ब्रेन गेन सेन्टर स्वागतयोग्य कदम भएपनि यसमा पर्याप्त परामर्श नभएको केही अभियन्ताहरुको गुनासो छ ।

‘यो नेपाल सरकारले लिएको एउटा स्वागतयोग्य कदम हो । शुरुमा यो एउटा साधारण प्रकृतिको प्रयास देखिए पनि आशा गरौं नेपाल सरकारले क्षमतावान प्रवासी नेपालीहरुलाइ आकर्षित गर्न छिट्टै एउटा ठोस कार्ययोजना ल्याउने छ’, ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष एवं बेलायतको लिड्स विश्वविद्यालयमा कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले भने ।

कैयौं नेपाली अहिले संसारभरि विज्ञ वा विशेषज्ञका रुपमा विभिन्न पेशा र व्यवसायमा संलग्न छन् । यदि सरकारले उनीहरुको सीप र विज्ञताको सही उपयोग गर्न एउटा कार्य योजना ल्याउने हो भने ती मध्ये कैयौं नेपाल फर्केर आफ्नो विज्ञता तथा सीप लगानी गर्न इच्छुक रहेको सुवेदीको धारणा छ ।

‘त्यस्तो कार्ययोजना बनाउन नेपाल सरकारसंग मिलेर काम गर्न ग्लोबल पोलिसी फोरम नेपाल तयार छ’, डा. सुवेदीले भने, ‘नेपाल सरकारले विदेशबाट कस्तो प्रतिभा आकर्षित गर्दा मुलुकलाई फाइदा हुन्छ भन्ने पहिचान गर्नुपर्छ र उनीहरुलाई आकर्षित गर्ने वातावरण बनाउनु पर्छ । यस दिशामा नेपाल सरकारलाई सघाउन फोरम तयार छ ।’

गैर आवासीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष कुल आचार्यले 
संघले लामो समयदेखि उठाउंदै आएको संसारभरि छरिएका नेपालीहरुको बौद्धिक लगानी नेपालकै विकास र समृद्धिकालागि परिचालित गर्ने विषयको स्वागत गरेका छन् । तर, यसबारे एनआरएनसंग सहकार्य नहुनु दुःखद भएको उनले जनाए ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई एक पत्र लेख्दै आचार्यले प्रस्तावित ‘ब्रेन गेन सेन्टर’ को स्थापना, सञ्चालन तथा अनुगमनका लागि गैर आवासीय नेपाली संघसंग सहकार्यको कुनै चर्चा पनि नहुनु दुःखको कुरा भएको उल्लेख गरेका छन् । ‘८० मुलुकमा फैलिएको र अझै विस्तार हुने क्रममा रहेको संघको नेटवर्कसंग सहकार्य गरी प्राथमिकताहरु तोकी ‘ब्रेन ड्रेन’ लाई रोकेर ‘ब्रेन गेन’ का लागि काम गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु’, उनको पत्रमा छ ।

गत अक्टोबरमा गैर आवासीय नेपाली संघद्वारा काठमाडौंमा आयोजित पहिलो विश्व ज्ञान सम्मेलनबाट विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीप कसरी नेपालको विकासमा प्रयोग गर्ने भन्नेबारे ठोस सुझावहरु सहितको प्रतिवेदन 
प्रधानमन्त्रीलाई बुझाइएको स्मरण गर्दै आचार्यले पत्रमा सोही प्रतिवेदनको स्पिरिटको आधारमा गैर आवासीय नेपाली संघसंग सहकार्य गरी अगाडी बढ्न परराष्ट्र मन्त्रालय तथा मातहतका सबै कूटनीतिक नियोगहरुलाई निर्देशन दिन मन्त्री ज्ञवालीलाई अनुरोध पनि गरेका छन् ।

नेपाल सरकारले केही दशकयता ‘ज्ञान पलायन’ भई मुलुकमा आवश्यक मानव पूंजीको परिपूर्तिमा कठिनाइ भइरहेको जनाउंदै विदेशमा रहेका नेपालीमा के कस्ता सीप क्षमता छन् त्यसको पहिचान र त्यो जनशक्तिलाई उचित स्थानमा परिचालन गर्न सेन्टर स्थापना गरेको हो । नेपालको परराष्ट्र मन्त्रालयले सेन्टरको डेटाबेसमा आफ्नो विज्ञताबारे सूचना उपलब्ध गराउन अपिल पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री