लन्डनले दियो नेपाली नयां वर्षलाई सांस्कृतिक पर्वको मान्यता

लन्डन । बहुसांस्कृतिक र भाषिक विविधताको धनी शहर सटन दक्षिण र पूर्वीय एसियाका हिन्दु तथा 
बौद्ध धर्मावलम्बीहरूको नयां वर्षलाई औपचारिकरुपमा सांस्कृतिक पर्वको मान्यता दिने लन्डन महानगरपालिकाको पहिलो बरो (वडा) भएको छ ।

काउन्सिलर परम नन्दाको विशेष प्रस्तावलाई सटन बरोको पूर्ण बैठकले बिभिन्न सांस्कृतिक तथा धर्मावलम्बीहरूको मुख्य चाड पर्वहरूलाई प्रवर्धन गर्ने निर्णय गत जानवरीमा पारित गरेको थियो ।

सटनमा बसोबास गर्ने नेपाली, तमिल तथा भारतीय मुलका समुदायले सो निर्णय स्वागत गर्दै गत १४ अप्रिलका दिन स्थानीय स्टान्ली पार्क हाइस्कुलको अडिटोरियम हलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि नयां वर्ष मनाए । काउन्सिलको यो निर्णयसंगै हरेक वर्ष सटनको विद्यालयहरुले हिन्दु र बौद्ध धर्मावलम्बीहरूको नयां वर्षबारे पाठ्यक्रममा समावेश गर्नुपर्नेछ ।

उक्त कार्यक्रममा नेपाली, भारतीय तथा 
श्रीलंकाली समुदायहरुले आ आफ्नो भाषा र संस्कृति झल्किने नृत्य, गीत तथा संगीत प्रस्तुत गरेका थिए ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै विगत २ वर्षदेखि नेपाली भाषा र संस्कृतिको संरक्षण र बेलायतमा जन्मी हुर्किरहेका पहिलो पुस्ताका नेपाली बालबालिकाहरुका लागि अर्ली 
इयर्स एजुकेशन सोसाइटी (आइज यूके) द्वारा 
सञ्चालित प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए । लण्डनमा बसोबास र कार्यथलो बनाएका नेपाली समुदाय तथा आफ्ना नातिनातिनीहरु भेट्न आएका हजुर बा र हजुर आमाहरुको उल्लेख्य उपस्थित रहेको सो कार्यक्रममा जब ‘डांफे झैं नांच्ने हिमाल झैं हांस्ने नेपालकी छोरी हुं म’ भन्ने बोलमा हातमा नेपालको झण्डा लिंदै गुन्यु चोलो र पाउजु लगाएर प्रिसा, शैली, निशिथा र इभा मञ्चमा नाच्दा दर्शकदीर्घामा रहेका नेपालीमात्र होइन, कार्यक्रमको अतिथिको रुपमा उपस्थित सटनका मेयर स्टिब कुक, बेलायती 
सांसदहरु टोम ब्रेइक र पौम स्कली, इण्डियन हाइ कमिस्नर लगायतले बढो अभिरुचीका साथ नृत्यबाट मनोरञ्जन लिइरहे ।

अमिस, प्रत्युस, सिड र श्रीसले ‘यो गाउंको टिठो म कान्छा मेरो नाम, आउंदै जांदै गर्नु है सबलाई 
रामराम’ बोलको गीतमा आफ्नो नृत्यकला पस्केका थिए । गुरुङको पोशाकमा सजिएकी सिल्भिया र दौरा सुरुवाल लगाएर उद्घोषकको भूमिका निर्वाह गरेका प्रतिकले प्रारम्भ पाठशालामा नेपाली भाषा सिक्दाको आफ्नो अनुभव र नेपाली संस्कृतिबारे सगौरव जानकारी दिएका थिए ।

पानसमा बत्ती बालेर शुरु भएको कार्यक्रममा 
भारतीय समुदायका बालबालिकाले संस्कृतिमा मन्त्रवाचन, तमिल बालबालिकाहरुको‌ समूहले शास्त्रीय संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको केन्द्रबिन्दु भने बिनोद चिपालुको लाखे नाच बन्न पुग्यो । जब लाखे नांचको बाजा बज्यो र लाखे वल (लाखे आयो) भन्दै गर्दा राक्षसको मुकुण्डो लगाएर बिनोद स्टेजमा नाच्दै पुगे, दर्शकहरु आफ्नो मोबाइलमा लाखे नृत्यलाई कैद गर्न ब्यस्त देखिन्थे ।

यस कार्यक्रममा पाएको सकारात्मक प्रतिक्रियाले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न र नेपालीको 
सांस्कृतिक विविधताको पहिचान दिन आगामी दिनहरुमा नेपालका पर्यटकीय स्थान, साहसिक खेलहरुबारे जानकारी मुलक तथा नेपालको सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक कार्यक्रम गरेर स्थानीय समुदायलाई नेपालको भ्रमणको निम्तो दिन प्रारम्भ पाठशालाले विविध कार्यक्रम गर्ने योजना रहेको प्रारम्भ पाठशालाका प्रमुख शिक्षक तथा आइज यूकेका अध्यक्ष पूर्णकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री