
लन्डन । बेलायतमा करिब तीन सयको हाराहारीमा नेपाली
संघसंस्था छन् । प्राय संघसंस्थाले वर्षमा एउटा च्यारिटी कार्यक्रम आयोजना गर्दा लगभग वर्षदिन भरिनै च्यारिटीमय हुने गरेको छ नेपाली समुदाय ।
जाती, भाषिक, क्षेत्रीय र राजनीतिदेखि धार्मिक संस्थासम्म फैलिएर दिनानुदिन खुलेका करिब तीन सय संस्थाले एक पटक च्यारिटी रकमका लागि अनुरोध गरेर चिठ्ठी पठाउंदा एउटा सामान्य जागिर खाएर घरको भाडा वा मोर्गेज तिर्नेको हालत के होला ? त्यो, बेलायतवासी तपाईं हामी सबैलाई ज्ञात छ ।
एक च्यारिटीलाई २० पाउण्ड त बोल्नै परयो । करिब तीन सय संस्थालाई २० पाउण्डका दरले दिंदा वर्षमा ६ हजार पाउण्ड खर्च हुने रहेछ । त्यस माथि जांदा आउंदा लाग्ने बाटो खर्च, कार पार्किङ, खाजा खर्च अनि जमघटमा हुने खर्च बेग्लै छ । गरिबी र अन्य वाध्यताले आर्थिक उपार्जनकै लागि विदेश पलायन भएका औसत बेलायतवासी नेपालीलाई च्यारिटीमा दान गर्न प्राय असम्भव छ । सिमित नेपाली जसको वार्षिक आय औसत ४० हजार पाउण्ड कमाउनेले च्यारिटीमा सहयोग गर्न सक्छन् । किनकि उनीहरुले च्यारिटीलाई केही रकम ‘डोनेट’ गर्दा कम ट्याक्स तिर्नु पर्ने हुन्छ । त्यो संख्या भने सिमित छ । कमजोर आर्थिक हैसियत भएका विश्वभरका मानिस वा विदेशस्थित नेपालीलाई नेपालीले नै सहयोग गरि समाजसेवा गर्दा च्यारिटी वापत दिएको रकम बरावर बेलायत सरकारले पनि थप गर्ने कानूनी व्यवस्था नै छ । यस्तो समाजसेवीलाई बेलायत सरकारले पनि निकै सम्मान गर्छ ।
तर, नेपाली डायस्पोरामा भने व्यक्तिगत पैसा उठाउने र सानो समुदायमा आफूलाई उच्च देखाउन प्रयोग गरिने च्यारिटी थेग्नै नसकिने महंगो भएको छ । हरेक साता हुने च्यारिटीले धेरै व्यवसायी, राजनीतिज्ञ, संघसंस्थाका अध्यक्षदेखि सामान्य जागिरेसम्मलाई गारहो बनाएको छ । कानून अनुसार च्यारिटी दर्ता समेत नभएका संस्थाले चन्दा रकम असुल्दा पनि प्राय सबै चुपचाप छन् । यस विषयमा खुलेर बोल्न सबै डराउंछन् । कुनै दिन आफूलाई अप्ठ्यारो पर्दा जानु पर्ने ठाउं भनेको नेपाली समाज नै हो भनेर तैं चुप मैं चुपको अवस्था छ । समाजमा पवित्र कामका लागि हुनु पर्ने समाजसेवा वा च्यारिटी व्यक्तिगत फाइदा वा स्वार्थमा प्रयोग हुन थालेकोमा अधिकांश चिन्तित छन् । निस्वार्थ मनले जति सक्यो त्यति सहयोग गर्न पाइने समाजसेवामा पाउण्डको बोलवाला हुन थालेको छ । घरघरमा रकम तोकिएको पत्र आउन थालेको छ । जबर्जस्ती पाउण्ड असुली गर्ने व्यापारको रुपमा परिणत हुन थालेको छ च्यारिटी । नेपालमा आफू नजिकको मध्यम हैसियतको व्यापारीबाट ब्याच, नेम प्लेट, ब्यानर, खादा, टिकेट आदि छपाएर कमिसन खाने मेलो बनेको छ च्यारिटी ।
च्यारिटी कार्यक्रमबाट उठेको रकम समाचारका हेडलाइन बनेका छन् । तर, खर्चको आयव्यय खासै सार्वजनिक
हुंदैनन् र त्यसबारे समाचार बनाइएका पनि छैनन् । एक जना समाजसेवी राधा पौडेलले त आफ्नो संस्थालाई च्यारिटी वापत उठाइएको रकम नपाएको गुनासो एनआरएनए यूके महिला विभागले गरेको कार्यक्रममै गरेकी थिइन् ।
समाजसेवा पवित्र भावना भन्दा पनि स्वार्थपूर्तिका जबरजस्ती उठाइने चन्दाका रुपमा विकास हुंदैछ । अर्कातिर एक संस्थाका अध्यक्षले आफ्नो दुई वा तीन वर्षे कार्यकालमा खर्चने रकमले उठ्नै नसकिने गरि ढाड भांचिने गरेको देखिन्छ । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले महिनामा करिब एक देखि २ हजार पाउण्डसम्म खर्च हुने गरेको बताए । ठूला कार्यक्रम आयोजना गर्दा, कार्यक्रमसहित यूके भ्रमण गर्दा र अन्तरक्रिया गराउंदा अध्यक्ष आफैं अघि सर्नु पर्ने भएकाले खर्च ज्यादै हुने गरेको अनुभव भुक्तभोगीहरु सुनाउंछन् । त्यसबाहेक एनआरएनए यूकेको अध्यक्ष भएपछि नेपाली संघसंस्थाले गर्ने हरेक च्यारिटीमा गच्छे अनुसार सानो वा ठूलो सहयोग अनिवार्य जस्तै भएकाले आफ्नो कमाई समाजसेवामा जाने गरेको अनुभव अध्यक्ष फगामीको छ । उनले पारिवारिक सहयोगले गर्दा आफ्नो जागिरको कमाई समाजसेवामा खर्चन पाएको जनाए ।
त्यसबाहेक बेलायतमै नेपालीको वृत्तिविकास भन्दा पनि नेपालमा आफ्नो सम्बन्ध विस्तार गर्न वा अमुक मानिसलाई खुसी पार्न नेपाली अनलाइनदेखि यहां खुलेका संस्थाले सामाजिक सञ्जालमा ग्रुप बनाई पैसा उठाउने गरेका छन् । उक्त विषयले नेपाली अनलाइन मिडियाले बढाइ चढाई यति रकम उठ्यो र फलाना वा ढिस्कानाले यति उठायो भनेर संस्थाको प्रचार समेत गर्न भ्याएका छन् । तर, च्यारिटीको नाउंमा आफ्नो निकट संस्था र व्यक्तिलाई पक्षपोषण अनि कार्यक्रम अवधिभर डुलेको, खाएको खर्चमा मस्ती गर्न उद्दत जमात पनि छ । कबुल गर्ने तर प्रतिवद्धता रकम नदिने उधारो च्यारिटीको पाटो फेरि बेग्लै छ ।
बेलायतमा पैसा कमाएर गुमनाम भएपछि एकाएक समाजसेवी देखिन मन भएका, बेलायत घुम्न मन लागेर विभिन्न फेरो समाप्दै विदेश भ्रमणमा निस्कन खोज्ने तथा कला र साहित्यका नाममा समाजसेवाको व्यापार गर्नेहरुले च्यारिटीलाई पछिल्लो समय धेरै दुरुपयोग गरेको पाइन्छ ।
च्याउसरी उम्रिएका संघसंस्थाहरुले गर्ने कार्यक्रममा आफूलाई मन पर्ने राजनीतिज्ञ, कलाकार र साहित्यिक व्यक्तित्वलाई च्यारिटीको नाममा बेलायत भित्रयाउने प्रचलन फेसन नै भएको छ । एक जनाको सम्बन्ध विस्तार वा व्यक्तिगत फाइदाका लागि यूकेमा रहेका व्यक्तिसंग चन्दा संकलन गर्ने काम खेतीका रुपमा फस्टाएको छ । कुनै संस्थाले कार्यक्रम गर्दा त्यही संस्था का सदस्यबाट कार्यक्रम गर्नुपर्ने आम प्रचलन विपरित घरघरमा टिकट पठाउने र स्पोन्सर गर्न वाध्य पार्ने परिपाटीले समाजसेवाप्रति यूकेबासीको विकर्षण बढेको अग्रजहरु सुनाउंछन् ।
समयमा नै बेलायतवासी नेपालीले च्यारिटीलाई सुधार नगर्ने हो भने विकृतिले विकराल रुप लिनेमा दुईमत छैन् अनि यसले समाजसेवा जस्तो पवित्र कर्मलाई अपवित्र र घृणित बनाउने पक्का छ ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह