बेलायत आउंदै भोइस् अफ नेपालका ७ विजेता, सातै शहरमा कन्सर्ट

लन्डन । गायनको अन्तर्राष्ट्रिय मेगा रियालिटी शो ‘द भोइस’ को नेपाली संस्करण ‘द भोइस अफ नेपाल’ का विजेताहरु बेलायत आउने भएका छन् । बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले भोइस अफ नेपालका ७ जना विजेतालाई बेलायत ल्याउन लागेको हो ।

बेलायतमा रहेर संगीतमा आवद्ध रहेकासहित झण्डै एक दर्जन युवाको सक्रियतामा हालै स्थापित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले आयोजना गरेको यो पहिलो कार्यक्रम हुनेछ ।

क्याडेन्जा यूकेले शुक्रबार अल्डरसटको क्लब टेम्पटेसनमा एक पत्रकार सम्मेलन गरी बेलायतका विभिन्न ७ ठाउंमा भोइस अफ नेपालका प्रतिभाहरुको प्रत्यक्ष प्रस्तुतिमा कन्सर्ट गर्न लागिएको जानकारी दिएको छ । भोइस अफ नेपालका विजेताहरुको विश्व सांगीतिक यात्रा बेलायतबाटै सुरु हुनेछ ।

फेब्रुअरी १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न ठाउंमा ‘द भोइस अफ नेपाल यूके कन्सर्ट’ आयोजना हुने तय भएको छ ।

कन्सर्टमा आफ्नो कला प्रस्तुत गर्न भोइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई बेलायत आउने भएका छन् । भोइस अफ नेपालका होस्ट सुशील नेपाल समेत बेलायत आउने र बेलायतका कन्सर्टहरु उनले नै होस्ट गर्ने क्याडेन्जा यूकेले बताएको छ । प्रोडक्सन टिमका सदस्यसहित कुल ११ जनाको टोली नेपालबाट बेलायत आउंदैछ । एकजना महिला होस्ट भने बेलायतबाटै राख्ने योजना आयोजकको छ ।

फेब्रुअरी १६ मा फोक्सटनको हकिंग्स कम्युनिटी सेन्टरबाट सुरु हुने कन्सर्ट फेब्रुअरी १७ मा फार्नबरोको ओकफार्म लिजर क्लबमा, फेब्रुअरी १८ मा बर्मिङहमको वेस्ट बर्मिचस्थित द कन्फरेन्स सुटमा, फेब्रुअरी २३ मा लण्डन फेल्थामको फेल्थाम कम्युनिटी कलेजमा, २४ फेब्रुअरीमा प्लमस्टिडको एसियन कम्युनिटी सेन्टरमा, मार्च ३ मा रेडिङको साउथ रेडिङ कम्युनिटी सेन्टरमा र ९ मार्चमा स्वीण्डनको पञ्जाबी कम्युनिटी सेन्टरमा आयोजना हुनेछ ।

पत्रकार सम्मेलनमा क्याडेन्जा यूकेका मार्केटिङ तथा पिआर निर्देशक धिरज राईले बेलायतबासी नेपाली संगीत पारखीहरुलाई एक गुणस्तरीय कार्यक्रम पस्किने तयारी आफूहरुले गरिरहेको बताए । ‘भोइस अफ नेपालजस्तो निकै लोकप्रिय शोका विजेताहरुको सबभन्दा पहिलो शो नै बेलायतमा ल्याउने अवसर पाएकोमा हामी निकै उत्साहित छौं’, मार्केटिङ निर्देशक राईले भने, ‘अब यो कार्यक्रमको सफलता यहांको सिंगो नेपाली समुदायको प्रतिष्ठासंग जोडिनेछ । त्यसैले कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग मिल्ने छ भन्ने आशा हामीले गरेका छौं ।’

सबै शोहरुका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय पक्षहरुको गुणस्तरमा कुनै सम्झौता नगर्ने र मनोरञ्जनको पूर्ण प्याकेज दिने प्रतिवद्धता राईले गरे ।

सबै शोहरुको टिकट लिन अग्रिम बुकिङ गर्दा २० र कार्यक्रमको दिन हलमै लिंदा २५ पाउण्ड लाग्नेछ । अहिले केहि समयको लागि क्याडेन्जा यूकेको अफिसियल वेबसाइट www.cadenzaofficial.co.uk बाट विशेष सहुलियतसहितको अर्ली बर्ड टिकट १५ पाउण्डमा उपलब्ध गराइएको छ । शोको लागि लिइएको टिकट बर्मिङहमबाहेक अरु ६ वटा मध्ये जुनसुकै भेन्यूका लागि पनि प्रयोग गर्न सकिने बताइएको छ ।

टिकटको लागि विभिन्न ठाउंका कार्यक्रम भेन्यू आसपासका स्थानीय नेपाली पसल, आयोजकको वेभसाइट, फेसबुक र इन्सटाग्राम लगायत माध्यममा सम्पर्क राख्न सकिनेछ । हरेक शोमा वितरण भएका टिकटहरुमध्येबाट १ जनालाई ‘लक्की ड्र’ मार्फत २ जनाको लागि डिनर पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

सबै शोहरुमा लाइभ ब्याण्डको संगीतमा गायक गायिकाले गायन प्रस्तुत गर्नेछन् । प्रोजेक्ट म्यानेजर आवेश राईले हरेक शो युवा, बालबालिका, बुढाबुढी सबैले मन पराउने खालको बनाइने भन्दै उनले नेपाली लोकसंगीतदेखि, सुगम, पप र रक एण्ड रोलसम्मका संगीत कार्यक्रममा प्रस्तुत हुने बताए । बेलायत भ्रमणमा आउने भोइस अफ नेपाल टिमका सदस्यहरुको बेलायतको भिजाको लागि आवेदन गरिसकिएको उनले जानकारी दिए  ।

कार्यक्रमस्थलमा उपस्थित दर्शकलाई आफ्ना लोकप्रिय कलाकारसंगै तस्विर लिन र कुराकानी गर्न समेत अवसर दिने योजना आयोजकले बनाएका छन् ।

पत्रकार सम्मेलनमा एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहामगर, युवा संयोजक कुमार थापा, सहकोषाध्यक्ष गजेन्द्र गुरुङ र कार्यसमिति सदस्य पवन राई, नेपाली युवा समूह यूकेका उपाध्यक्ष केशव गुरुङ, सदस्यहरु मिनुष थापा र एन्डी राई, सुरज पौडेल, प्रकाश कंडेलका साथै आयोजक क्याडेन्जा यूके महिला संयोजक अञ्जु श्रेष्ठ, युथ कोअर्डिनेटर अमृता गिरी गजुरेल, कल्चरल सेक्रेटरी गिता बस्नेत पाण्डे लगायत उपस्थित थिए । पत्रकारहरुले राखेका विभिन्न जिज्ञासामा आयोजकका तर्फबाट मार्केटिङ तथा पिआर निर्देश धिरज राई र प्रोजेक्ट म्यानेजर आवेश राईले जवाफ दिएका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा बहुचर्चित ब्राण्डका रुपमा स्थापित शोको 
फ्रेञ्चाइजका रुपमा पहिलोपटक भोइस अफ नेपाल आयोजना भएको हो । कार्यक्रमको फरम्याट, प्रिजेन्टेसन तथा प्रतियोगीहरुको गुणस्तरका आधारमा शोले देश विदेशका नेपाली दर्शक, श्रोताहरुमाझ ठूलो लोकप्रियता कमाउन सफल भएको थियो ।

तस्विरहरु- शिव भण्डारी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री