च्यारिटी गरि सहारा यूकेको १० औं वार्षिकोत्सव


लन्डन । सहारा यूकेले आफ्नो १० औं वार्षिकोत्सव शनिबार एक भव्य कार्यक्रमबीच मनाएको छ । एम्पायर हल अल्डरसटमा एक च्यारिटी डिनरसहित दशौं वर्ष गांठ मनाइएको हो ।

नेपालको खेलकुद विकास र मानवीय कार्यमा निरन्तर लागेको उक्त संस्थाको दश वर्ष गांठका अवसरमा केक काटेर खुशीयाली सांटिएको थियो । कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, सहारा यूके वर्तमान अध्यक्ष मीनबहादुर गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले केक काटे भने स्थानीय रसमोर क्षेत्रको प्रतिनिधित्व 
गर्ने सांसद लियो डोचेर्टी, हेमसायर फुटबल एसोसिएसन अध्यक्ष जेम्स पियर्सन, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, काउन्सिलर लिडर डेभिड क्लिफोर्ड लगायत अतिथीहरुले बेलुनको डोरी काटेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. सुवेदीले सहारा यूकेले खेलकुदमात्र नभई भूकम्प होस् वा अन्य विपत्तिका बेला मानवीय सेवा गरेर प्रशंसनीय काम गरेको बताए । राजदूत सुवेदीले सन् २०१९ भित्र नेपालको राष्ट्रिय फुटबल टिम बेलायत झिकाएर यहां मैत्रीपूर्ण खेल खेलाउने संस्थाको योजनाको कदर गर्दै त्यसमा नेपाल सरकारले पनि साथ र हौसला दिने बताए ।

विशेष अतिथी सांसद लियो डोचेर्टीले सहारा यूकेको च्यारिटी कार्यको प्रशंसा गरे । आफैं ब्रिटिश आर्मी पृष्ठभूमिबाट आएका सांसद डोचेर्टीले गोर्खाहरुको योगदान र साहसको चर्चा गर्दै रसमोर बरोमा नेपाली समुदायको सकारात्मक प्रभाव रहेको उल्लेख गरे ।

सहारा यूके संस्थापक अध्यक्ष नवीन गुरुङले संस्था स्थापनाको क्षण स्मरण गर्दै सबैको साथ सहयोगले अहिले सहारा यूके बलियो बनेकामा गर्व लागेको बताए ।

सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङले कार्यक्रमका सहभागी र सहयोगीप्रति आभार व्यक्त गर्दै संस्थाका मुख्य गतिविधिबारे प्रकाश पारे । उनले सन् २००८ मा स्थापित सहारा यूकेले बेलायत र नेपालमा खेलकुद, 
सांस्कृतिक र शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गरिरहेको स्मरण गरे । सहारा क्लब पोखराको सहकार्यमा सहारा यूकेले पोखरास्थित दोबिल्लामा फुटबल एकेडेमी निर्माणमा सहयोग गरेको पनि अध्यक्ष गुरुङले जानकारी दिए । आहा रारा गोल्ड कपमा वर्षेनी प्रायोजन गरेको र विगत ६ वर्षदेखि सहारा यूके युथ टिम ‘सन्डे डिष्ट्रिक्ट फुटबल लिग डिभिजन वान’ मा खेलिरहेको पनि उनको जनाउ थियो । भूकम्पपछि सहारा यूकेले गोरखा, सिन्धुपाल्चोक र कास्की जिल्लामा एक एक गरि तीनवटा विद्यालय पुनर्निर्माण
गरेको अध्यक्षले जानकारी दिए ।

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा इभेन्ट कोअर्डिनेटर तथा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्यसहित सहारा यूकेका दशक अवधिका गतिविधि समेटिएको एउटा वृत्तचित्र देखाए ।

कार्यक्रममा दश वर्ष गांठका अवसरमा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो । स्मारिकाबारे प्रधान सम्पादक एकेन्द्र गुरुङले संक्षिप्त मन्तव्य दिएका थिए ।

कार्यक्रमका अवसरमा संस्थाकी सल्लाहकार मन्जु गुरुङ राईलाई ‘सहारा यूके स्पेशल अवार्ड ०१८’ र महासचिव कृष्ण गुरुङलाई ‘सहारा यूके अवार्ड ०१८’ प्रदान गरिएको छ । साथै चन्दादाता, संस्थाका सहयोगी र अन्यलाई पनि प्रशंसापत्र प्रदान गरियो ।

सूर्य गुरुङ र निया देवानले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आंचल लामा, रुबी गौली, ममता गुरुङलगायतले गीत गाए भने यूके डान्स अफ ०१८ रजनी गुरुङ, संगीता गैरे आदिले नृत्य प्रस्तुत गरेका थिए । सहकोषाध्यक्ष शारदा गुरुङले ‘राफल ड्र’ सञ्चालन गरे ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री