लण्डनमा शैलेन्द्र सिंखडाले हँसाए दर्शक

लण्डन   झापाको दमकमा स्थापना गरिएको रत्न वृद्धाश्रमको सहयोगार्थ पश्चिम लण्डनमा आयोजित एउटा कार्यक्रममा चर्चित नेपाली हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडाले बेलायतवासी नेपालीहरुलाई पेट मिचीमिची हँसाएका छन् ।

शनिबार स्थानीय अल्पर्टन स्कुलमा आयोजित एक कार्यक्रममा सिंखडाले गणतन्त्र नेपालका विकृतिहरु, नेपालीहरुको अल्छी प्रवृत्ति र एनआरएनको कार्यशैलीप्रति कडा व्यंग्य गरे ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समाज नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा सघाउन सक्षम छ भन्ने पटक पटक चरितार्थ भएको  जनाए । उनले नेपाली कला, साहित्यका साथै नेपाली, नेपाली बीचको एकता, सहकार्य, सद्भावना र सहिष्णुतालाई प्रबर्द्धन गर्न शैलेन्द्र सिंखडाजस्ता कलाकारहरुले मानार्थ राजदूतको भूमिका निर्वाह गरिरहेको भन्दै त्यसको प्रशंसा पनि गरे । उनले आफ्नो गृह जिल्ला झापाका वृद्धवृद्धालाई रत्न आश्रमले पुराइरहेको सेवाको प्रशंसा गरे ।

सो अवसरमा राजदूत सुवेदीले नेपालको प्रदेश नं एकको योजना आयोगको सदस्यमा मनोनित भएका पूर्ण लक्समलाई बधाइ पनि दिएका थिए ।

नेपालमा धुर्मुस सुन्तलीको काम वस्ती बसाउने, देशका प्रधानमन्त्रीको काम चाहिं जनता हँसाउने भन्दै कलाकार शैलेन्द्र सिंखडाले सबै नेपालीको मन भित्र नेपालको माया अटाउनु पर्ने बताए । बारीको काउली खाए पो बारीको माया लाग्छ, पारीको काउली खाएपछि पारीकै माया लाग्छभन्दै उनले नेपाललाई दुई ढुंगाबीचको तरुल हैन, दुई सर्पबीचको गरुड बनाउन आह्वान गरेका थिए ।

उनले एनआरएनको विशेषता खादा, माला र आसन ग्रहण भन्दै व्यंग्य कसेका थिए। महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनबीच संवादको शैलीमा व्यंग्य कविताहरु सुनाउँदै उनले सकारात्मक सन्देशहरु पनि दिए ।

रत्न आश्रम सहयोग समिति युकेकी सहकोषाध्यक्ष इन्जीनियर पारिका आलेले अहिले आश्रममा आठजना वृद्धवृद्धाहरुको रेखदेख भैरहेको बताउँदै त्यसको सन्चालनमा सघाउने सबैलाई धन्यवाद दिएकी थिइन् । उनले स्वर्गीय रत्नबहादुर सुनुवार तथा रत्नमाया सुनुवारको नामबाट खोलिएको आश्रमलाई श्रीमती मन सुनुवार तथा परिवारले निशुल्क जग्गालगायत अन्य सहयोग गरेको बताइन् ।

कार्यक्रममा पारिका आले, रश्मी गौतम, प्रशंसा कँडेल, मिसेज युके नेपाल २०१८ बिनु लामिछाने, रिया लामिछाने लगायतका कलाकारले विभिन्न चर्चित गीतमा रोचक नृत्य प्रस्तुत गरेका थिए ।

रामशरण सिंखडा, प्रसुना कँडेल र कृष्ण भट्टले सन्चालन गरेको कार्यक्रममा बासु लामिछानेले कार्यक्रम सफल बनाउन सघाउने डा. भरत सिंखडा, मधुसुदन थापा, समाजसेवी भगवानजी चौहान लगायत सबै सहभागी र कलाकारहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री