‘१२ वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्, नवीनलाई स्वदेश फर्कन त्यति नै लाग्यो ।’ केही समय मेरो नेपाल आगमन साथीभाइमाझ मजाकको विषय पनि बन्यो । सन् २००६ सेप्टेम्बर ४ मा लन्डनका लागि उडेपछि म गत साता नेपाल फर्किंए झण्डै १२ वर्षपछि । लामो अन्तरालपछि मातृभूमि टेक्दा शुरुमा त म अलमलिएं जसरी लन्डन हिथ्रो विमानस्थल उत्रंदा मलाई अन्योल र द्विविधाले पिरोलेको थियो । फरक यत्ति हो, लन्डन बिरानो देश थियो, नेपाल आफ्नै जन्मभूमि । मलाई यहां पारिवारिक आतिथ्य मिल्यो, सपनाको शहर लन्डनमा भने थोरै कौतुहलता र बढि चिन्ता ।
यति लामो कालखण्ड लन्डनमा अल्मलिनु परेको वाध्यता आफ्नै ठाउंमा छ । अध्ययन, बसिसकेपछि आवासीय भिजाको लोभ, कामको व्यस्तता, आर्थिक चांजोपांजो आदि कारणले नेपाल आउन नसक्नु मेरो वाध्यता सायद आमपाठकलाई चासोको विषय वा महत्व नहुन सक्छ । तर, मलाई अवतरण भइसकेपछि यहांको परिवर्तनले केही शब्द लेख्न प्रेरित गरयो ।
बेलायतको अद्भूत विकास नेपालसंग तुलना गरेर आफ्नो देशलाई गालीमात्र गर्ने नैतिक अधिकार म मा सायद छैन् । यद्यपि, मैले सरसर्ती देखेको परिवर्तन यहां उल्लेख गर्न चाहेको छु ।
मैले नेपाल छोड्दा अहिले जस्तो बैंकहरु थिएनन् । अहिले यहां टोलपिच्छे बैंक खुलेका रहेछन्, सायद बेलायतभन्दा पनि बढि । युरोपियन बैंकिङ रिसोर्सेसका अनुसार बेलायतमा विभिन्न ४१ बैंक छन् । सपिङ मल पनि टोल टोलमा । लाग्यो नेपालीको क्रय शक्ति पनि बढेको छ । किन्ने हैसियत नहुंदो हो त यति धेरै सपिङ मल खुल्ने थिएनन् । तिनमा पाइने सामान पनि कम दामका छैनन् । अर्को परिवर्तन, काठमाण्डौं ‘मास्क सिटी’ मा परिणत भएको रहेछ । धुंवा, धुलो त अहिले काठमाण्डौंको परिचय बनेको रहेछ । मास्क बिना हिंड्नै कठिन । उपत्यकावासीले धुंवा धुलो पनि पचाइसकेका । धुलाम्मे होस्, धेरै ठाउंमा सडक फराकिला देख्दा प्रसन्न भएं ।
सार्वजनिक यातायातका साधन पनि बढेका रहेछन् । ट्राफिक जामले हुने हैरानी एकातिर छ तर यसले यात्रुहरुलाई विकल्प भने
प्रशस्त दिएको छ । लन्डन महानगरपालिका जस्तै ‘पिक टाइम’ मा सवारी लैजांदा ‘कन्जेसन चार्ज’ को व्यवस्था हुंदो हो त केन्द्रतिर सवारी कुंदाउन कमी र जाम न्यून हुन्थ्यो । सार्वजनिक यातायातमा बेलायत जस्तै महिला, अशक्त र ज्येष्ठ नागरिकका लागि बेग्लै सिट छुटयाइनु प्रशंसनीय लाग्यो तर कतिपय ठाउंमा युवा समेत छुटयाइएको सिटमा बसिदिनु चाहिं सामान्य । बस, माइक्रोभित्र ठेलमठेल हुंदा सरी, थ्यांक यू कतै सुनिएन । टयाक्सी चालकहरु मिटरमा गुड्नै नमान्ने । मानिस हेरेर, त्यो पनि विदेशबाट भर्खर भर्खर आएको चाल पाए हचुवाको भरमा जति पनि भाडा भनिदिने चलन रहेछ । सांझ परेपछि अलिक अपायक ठाउंतिर जान पनि कोही नमान्ने । यातायातको सन्दर्भमा
मदिरा सेवन गरेर सवारी चलाउन नपाउने नियम सांच्चिकै उदाहरणीय लाग्यो । चालकहरुमा मापसे आतंक रहेछ । शहरका मुख्य मुख्य ठाउंमा बिसौनी पनि बनेछन् । ग्रेटर लन्डनमा ६७३ रुटमा १९ हजार बस स्टप बनाइएका छन् जहां बस आउने जाने समय हुन्छ र ओतलाग्ने ठाउं पनि ।
इंग्ल्याण्ड र वेल्समा ८० मिलिग्रामसम्म अल्कोहल सेवन गरेर गाडी चलाउन सकिने प्रावधान छ । सन् २०१० देखि ०१५ सम्मको अवधिमा इंग्ल्याण्ड र वेल्समा मदिरा सेवनका कारण ३६ हजार ९ सय दुर्घटना भएका र त्यो दुर्घटनाबाट १४१० जनाले ज्यान गुमाएको तथ्यांक छ ।
महंगीले काठमाण्डौंको अर्को परिचय थपेको पाएं । आम्दानीको तुलनामा खर्च अत्यधिक । खाना, तरकारीमा खर्च लन्डन र यहांको तुलना गर्दा खासै भिन्नता लागेन । लन्डनमा पाउण्डमा आम्दानी हुने भएकाले खाना सस्तो लाग्छ जस्तै एक दिनको कमाइ (करिब ८० पाउण्ड) ले सात दिन खान पुग्छ त्यहां । यहां भने एक हजारको नोटले एक छाक तरकारी किन्न ठिक्क । रेष्टुरेन्टमा चार जनाको एउटा बसाइमा मदिरासहितको खानामा दश हजार रुपैंया सकिनु त सामान्य रहेछ । होटल, सिनेमा, अस्पताल छिर्दा पनि खर्च उस्तै । कफी कल्चर र बाह्य फेसनको सिको यहां पनि बांकी रहेन ।
काठमाडौंमा निजी अस्पताल पनि असंख्य खुलेका पाएं । प्राय टोलमा अत्याधुनिक उपकरणसहितका अस्पताल खुलेका रहेछन् । इंग्ल्याण्डमा नेशनल हेल्थ सर्भिस (एनएचएस) अस्पतालको संख्या १६८ रहेको तथ्यांक छ । ति अस्पताल एक्युट ट्रष्टले व्यवस्थापन गर्ने गर्छ । बेलायतमा पिआरधारीलाई स्वास्थ्य सेवा निशुल्क छ तर नेपालका अस्पतालले लिने शुल्क ढाड भांच्ने खालको ।
अहिले नेपालमा राजनीतिक अस्थिरता पनि हटेको छ । नयां संविधान कार्यान्वयनको चरणमा छ, देशमा वहुमतको सरकार छ जसलाई नीति निर्माण र विकास गर्न कुनै व्यवधान छैन् । नेपाल सरकार ‘समृद्ध नेपालः सुखी नेपाली’ को मुल नारा लिएर अगाडि बढिरहंदा बेलायतवासी नेपालीमा पनि आशाका किरण पलाएको छ । ब्रिटिश पर्यटकको नेपाल आगमन संख्या गत वर्ष झण्डै ५० हजार पुगेको लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कुनै बेला जानकारी दिएका थिए ।
नियम, कानुन र प्रणाली बेलायत जस्तो अनुशरण गर्न समय लागेपनि देश विस्तारै समृद्धिको पथमा लम्किरहेको छ, आशा गरौं नेपालीले नारामा भनिएजस्तै सुःखका दिन भविष्यमा पक्कै अनुभूति गर्न पाउनेछन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा