लण्डन दूताबासमा दसैं कार्यक्रम

लण्डन । लण्डन दूताबासमा दसैं कार्यक्रम गरिएको छ।कार्यक्रममा उपप्रधानमन्त्री तथा प्रमुख अतिथि उपेन्द्र यादवले हजारौं हजार वर्षमा एउटा संस्कृति र पहिचान बन्ने र त्यो समाप्त भएमा त्यो समुदायको सामूहिक अस्तित्व नै समाप्त हुने बताए। उनले जहाँबसे पनि जुन ठाउँमा भएपनि आफ्नो संस्कृति र पहिचान कायम राख्‍न सुझाव पनि दिए।

उनले सांस्कृतिक, जातीय, भाषिक र भौगोलिक विविधता नेपालको सुन्दरता भएको भन्दै त्यही विविधताबीचको एकता र समानता नेपालको महत्वपूर्ण पक्ष भएको बताए। उनले ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ढाँचामात्र खडा भएको तर त्यसलाई पूर्णता दिन धेरै लामो यात्रा बाँकी रहेको बताए।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दशैं, तिहार, छठ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पनि ती महत्वपूर्ण भएको बताए। उनले जैविक, सामाजिक, सांस्कृतिक विविधताको हिसाबले निकै संपन्न रहेकेा र त्यो विविधता नै हाम्रो पुँजी भएको बताए। उनले नेपालले राजनीतिक प्रणालीको व्यवस्थापनमा निकै लामो समय लगाउनु परेको बताउँदै अब नेपाली समाजको सामाजिक, आर्थिक प्रकृया तीव्र गतिमा अगाडि बढाउनुपर्ने समय आएको पनि बताए। उनले बेलायतमा बसेका नेपालीहरुलाई आफुसंग रहेको ज्ञान, अनुभव र साधनस्रोत नेपालको सामाजिक, आर्थिक विकास र रुपान्तरणकालागि लगाउन आग्रह पनि गरे।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले नेपालमा ठूलो मेहनत पछि समावेशी संविधान बनाइएको र भाषामा केही समस्या भएपनि आधारभूत कुराहरुमा संविधान दरिलो रहेको बताए। जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनलाई विस्थापित गरेर अपराध संहिता, देवानी संहिता बनेर लागू पनि भैसकेको बताउँदै न्यायाधीश भट्टराईले कानुन बनाउने काम संसदको भएपनि नेपालमा यी कानुनहरु तर्जुमा गर्ने कामको अगुवाइ सर्वोच्च अदालतले गरेको स्मरण गरे। उनले मोटर चलाउँदा होस् वा बाटेामा हिंडदा होस् बेलायत नियम कानुनमा चल्ने देश भएको भन्दै नेपालमा पनि यस्तै विधिको शासन स्थापना गर्न आवश्यक रहेको बताए। जनताको आवाज राज्यसंयन्त्रले सुन्ने परिपाटी नै प्रजातन्त्रको सौन्दर्य रहेको बताउँदै न्यायाधीश भट्टराईले नेपालको कल्याणकालागि दुर्गा भवानीसंग आशीर्वाद माग्न सबैलाई आग्रह पनि गरे।

तस्बिर मिलन तमु

पूर्व मन्त्री अशोककुमार राईले एउटा नेपाल बेलायतमा पनि छ भन्ने अनुभूति दिनेगरी दूतावासमा कार्यक्रम आयोजना गरिएको भन्दै त्यसको प्रशंसा गरे। उनले यी चाडपर्वहरु नेपाली संस्कृति र प्रकृतिको प्रतिविम्व भएको पनि बताए।

सहभागीहरुलाई स्वागतगर्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले विविधताबीचको एकता बेलायतस्थित नेपाली समाजको विशेषता भएको बताए। उनले नेपाली संस्कार, संस्कृति, भाषा, पोशाक  र परिकार जोगाउन नेपाली संघसंस्थाहरु सकृय रहेको र त्यस्ता प्रयासलाई नेपाली दूतावासले पनि सक्दो सघाइरहेको बताए।

सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि भयो भने गिनेज बुक अफ वर्ल्ड रेकर्डस पर्वतारोहणको क्षेत्रमा तीनवटा कीर्तिमान राख्‍न सफल निर्मल पुर्जालाई पनि सम्मन गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्र र समुदायका नेपालीहरुको उल्लेख्य उपस्थिति थियो।

तस्बिर शिव भण्डारी  

प्रतिक्रिया

सम्बन्धित सामाग्री