इरान आक्रमण – अन्त्येष्टि समारोहमा दशौँ हजारको सहभागिता

मिलिट्री परेड आक्रमणमा मारिएकालाई श्रद्धान्जलि दिइंदै । तस्विर एपी

अहभाज, इरान, ८ असोज – इरानमा सैनिक कवाज (परेड) भइरहेको स्थानमा शनिबारको आक्रमणमा ज्यान गुमाएका सैनिक तथा सर्वसाधारणको सोमबार भएको अन्त्येष्टि समारोहमा दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

सेनाले इरान–इराकबीचको युद्ध (सन् १९८०–१९८८) शुरुभएको दिनको स्मरणमा अहभाजमा गरेको सैनिक कवाजमा चार जना लडाकूले अन्धाधुन्ध गोली चलाउँदा २४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ इरानी सैनिक तथा सर्वसाधारण घाइते भएका थिए ।

सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको थियो ।

घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुनसक्ने बतायो ।

इरानी अधिकारीले उक्त आक्रमणमा खाडी मुलुक साउदी अरबका सहयोगी तथा अमेरिकाको हात रहेको बताइएको अरवी पृथकतावादी समूहको आक्रमणको विरोध र मृतकका आफन्तप्रति सहानुभूति जनाउन दशौँ हजार मानिस घटना भएको शहर अहभाज भेला भएका इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

अन्त्येष्टि समारोहको रिपोर्टिङमा रहेका एएफपी सम्वाददाताले भने, “अन्त्येष्टि समारोहमा सहभागी धेरैजसो व्यक्ति कालो पहिरनमा थिएभने उपस्थित सर्वसाधारण तथा सेनाले इरानी झण्डा ओढाइएका कफिन (शब राखिएका वाकस) लाई बोकेका थिए । केहीले मृतकका फोटो भएका प्लाकार्ड बोकेर अन्तिम संस्कारका लागि अघि बढेका थिए ।”

“हामी आतङ्कवादलाई परास्त गर्ने अन्तिम यात्रामा रहेका छौँ,” शबयात्राका क्रममा व्यानरमा लेखिएको नारा देखाउँदै एक सहभागीले आक्रोस पोखे ।

टन्टलापुर घाममा शहरको मध्यभागबाट शुरूभएको शबयात्रामा पसिना झार्दै शुरुदेखि अन्त्यसम्म सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री