युद्ध साहित्यले स्तब्ध पारेको दुईघण्टा

कलात्मक भैकन पनि कविताका स्रोता पाउन सजिलो छैन । त्यसैले त कविता सुन्नु परेमा यातना ठानिन्छ यदाकदा । तर शनिबार युकेको हाइ वेकोम्बमा आयोजित कार्यक्रमको माहौल भने युद्ध कविताले स्तब्ध बनायो । कविता वाचन हुँदै जाँदा दर्शकहरु कतिबेला उत्तेजित हुन्थे, कति बेला भावुक हुन्थे आँशु बगाउँदै ।

कविता सुनाउँदै थिए कवि एवं उपन्यासकार गणेश राई । युद्ध साहित्य सिद्धान्तका परिकल्पनाकार समेत रहेका पूर्व गोरखा सैनिक राईले कार्यक्रममा सुनाए आधादर्जन युद्ध कविता र त्यति नै संख्यामा अरु कविता ।

कविता सुनेपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बीबीसी नेपाली सेवाका पूर्व प्रमुख एवं नेपाली सुन्ने साहित्यका प्रणेता खगेन्द्र नेपालीले भने, ‘कविता सुनेपछि म स्क्रिप्ट हराएको रेडियो प्रस्तोता जस्तो निःशब्द बनेँ ।’

खोटाङमा जन्मी हाल पूर्वी लण्डनमा बसोबास गर्ने राईका छ वटा पुस्तक प्रकाशित छन् । विद्यालय पढ्दाबाट साहित्यमा आकर्षित भएका राई जे पायो त्यही विषयमा कविता लेख्दिनँ भन्छन् । ‘म  फूलको कविता लेख्दिनँ, हिमालको, पहाडको, नदीको कविता लेख्दिनँ’, उनले थपे, ‘म मात्र लेख्छु जीवनको कविता ।’

तीन चरणमा विभाजन गरिएको कार्यक्रम आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो । अभिव्यक्ति श्रृंखला नाम दिइएको सो कार्यक्रममा राईले शुरुमा युद्धसाहित्यको अर्थ र इतिहास बुझाए अनि शुरु गरे कविताको वर्षा ।

प्रतिष्ठानका उपाध्यक्ष टंक वनेमको अध्यक्षतामा भएको कार्यक्रमको प्रारम्भिक सत्र महासचिव मिजास तेम्बेले संचालन गरेका थिए । सो अवसरमा प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरु जानु काम्बांग लिङदेन, भावना परिस्कृत सुनुवार, अग्निप्रसाद लिम्बु, दीपक लिम्बु र उमाकान्त गुरुङलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तब्य दिएको कार्यक्रममा अर्का पूर्व अध्यक्ष एवं संरक्षक रक्ष राईले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षा गरेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा उपस्थित स्रष्टाहरु चोक गुरुङ, डा. रुपक श्रेष्ठ, भावना परिष्कृत सुनुवार, भगवान चाम्लिङ, सेमन्त राई, जानु काम्बांग लिङदेन आदिले कविता, मुक्तक, गीत सुनाएका थिए ।

कार्यक्रममा नेपालबाट आएका साहित्यकार मदन लामाखुलेले बेलायतका केही साहित्यकारहरुको लेखनको समीक्षा गर्दै विगतमा दार्जिलिङबाट झैँ भविष्यमा बेलायतबाट पनि नेपाली साहित्यमा आयाम थपिनेमा आशा व्यक्त गरे ।

दोस्रो चरणको कार्यक्रमको संचालन कोषाध्यक्ष देबेन्द्र खेरेस र तेस्रो चरणको कार्यक्रम सहसचिव अञ्जु अञ्जलीले संचालन गरेकी थिइन् ।

प्रतिष्ठानले विगत ११ वर्षदेखि अभिव्यक्ति श्रृंखला नामक एकल कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री