लन्डन । हवील चियरको सहारा चाहिने दुई वृद्ध मेडिकेसनमा व्यस्त छन् । एम्बुलेन्सको साइरनसंगै सुत्केरी ब्यथा लागेर एक महिला अस्पताल आइपुग्दा उनीहरु हतार हतार उपचारतिर दौडन्छन् । दांत दुखेको पीडाले छटपटाइरहेकी एक बिरामी पनि उही समयमा इमर्जेन्सी कक्ष छिर्दा हस्याङफस्याङ दौडन्छन् नर्सहरु ।
शनिबार सांझ हन्स्लोस्थित प्याराडाइज ब्यांक्यूटिङ हल अस्पतालको इमर्जेन्सी कक्ष झैं बन्यो । नेपाली नर्सहरुले बिरामीको हेरचाह र आफ्नो व्यस्त दैनिकी सयौं दर्शककै सामुन्ने देखाए एउटा नाटकमार्फत ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेले भिन्न शैलीमा आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । एसोसिएसनले जुम्लाको सिन्जा गाउंपालिकास्थित भादगाउंमा मातृशिशु केन्द्र निर्माणका लागि आवश्यक रकम संकलनार्थ च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा नर्सहरुले केक काटेर खुशी सांटे ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतका नेपाली नर्सहरु नेपालको स्वास्थ्य क्षेत्रको विकास र ग्रामीण भेगमा सिमान्तकृत बासिन्दाको स्वास्थ्य सेवामा निरन्तर लागि रहेकामा प्रशंसा गर्दै उनीहरुको प्रतिष्ठित र सम्मानित पेशा समस्त नेपालीले गौरव गर्ने पेशा भएको उल्लेख गरे ।
राजदूत डा. सुवेदीले एकतावद्ध भइ पेशालाई पवित्र बनाएर लैजान र जीवन्त र व्यापक भएको समाजमा अनुकरणीय बन्न पनि सुझाव दिए । नेप्लिज डक्टर्स एसोसिएसन (एनडिए) यूकेका अध्यक्ष डा. सविन जोशीले एसोसिएसनको समाज र मानवीयसेवा प्रेरणादायी भएको बताउंदै आफ्नो संस्थाले पनि धादिङ र महोत्तरीमा मातृशिशु केन्द्र निर्माण गर्ने योजना सुनाए । एनडिएले नर्सिङ एसोसिएसनसंग बेलायत र नेपालमा सहकार्य गरि विभिन्न शिविर सञ्चालन तथा नेपालमा प्राकृतिक विपत्तिमा आर्थिक सहयोग गरेको समेत डा. जोशीले स्मरण गरे ।
कार्यक्रममा रोयल कलेज अफ नर्सिङका डेपुटी प्रेसिडेन्ट रड थोम्पसन र एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले एशोसिएसनले नेपाल र बेलायतमा गरेका मानवीय कार्यको खुलेर प्रशंसा गरे ।
एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरिन् । उनले मातृशिशु केन्द्र बनाउन करिब ६० लाख (४२ हजार पाउण्ड) आवश्यक भएकामा हालसम्म च्यारिटीसहित चन्दाबाट करिब २० हजार पाउण्ड संकलन भएको जनाइन् । प्रतिवद्धता रकम आउन बांकी रहेकाले अन्तिम हिसाब छिट्टै सार्वजनिक गरिने जनाउंदै अध्यक्ष कंडेलले सहयोगदाता र सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।
‘संस्थाको यो गरिमा र विश्वसनीयता बढ्न सबैजनाको ठूलो योगदान छ’, केही भावुक बनेकी उनले भनिन्, ‘मैले गल्तीवश केही बिगार भएको भए पनि माफ गरिदिनुहोला । सबैको नाम उल्लेख गर्न सम्भव छैन् तर संस्थाप्रति सबैको गहन भूमिका रहेकाले म आभारी छु ।’ उनले एसोसिएसनले सिन्धुपाल्चोक र गोरखामा एक एक वटा विद्यालय निर्माण गरिसकेको जनाउंदै जुम्लाको मातृशिशु केन्द्र तेश्रो महत्वाकांक्षी प्रोजेक्ट भएकाले अन्यलाई समेत सहयोग गर्न अपिल गरिन् ।
सो अवसरमा अध्यक्ष कंडेल, कार्यक्रमका विशेष अतिथी रोयल कलेज अफ नर्सिङका डेपुटी प्रेसिडेण्ट प्राध्यापक रड थोम्पसन र अल पाकिस्तान नर्सिङ एशोसिएसनकी अध्यक्ष जेबा आरिफले एसोसिएसनको तेश्रो स्मारिका विमोचन गरे । स्मारिकामा नर्सहरु र अन्यका लागि उपयोगी सामाग्री प्रकाशित छ ।
कार्यक्रममा संस्था स्थापनाको दशक लामो अवधिमा महत्वपूर्ण योगदान पुरयाउने संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षत्रय शान्ता संग्रौला, बासु लामिछाने र सुशीला कार्की, सल्लाहकारहरु टुका स्याण्डवेल क्षेत्री, मन सुनुवार, राजेन्द्र क्षेत्री लगायतलाई विशेष सम्मान गरियो । एसोसिएसनले नेपालका चर्चित हांस्यव्यंग्य कलाकार एवं साहित्यकार शैलेन्द्र सिम्खडालाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा मातृशिशु केन्द्रको सहयोगार्थ लक्ष्मी राई (लारा) ले विभिन्न चित्रकलाको अक्सन गराइन् भने ‘राफल ड्र’ पनि गरिएको थियो ।
कार्यक्रमको दोश्रो चरण सुनिता गौतमले सञ्चालन गरेकी थिइन् जसमा प्रमुख आकर्षण रहेका स्टयाण्ड अप कमेडियन शैलेन्द्र सिम्खडाको राजनीतिक तथा सामाजिक विकृतिविरुद्धको व्यंग्य सुनेर राजदूतसहित दर्शक पेट मिची मिची हांसे ।
गायिका शर्मिला बर्देवा र आशिष राजले गायन प्रस्तुत गरे भने सुस्मिता थापा र ग्रीष्मा भुषालको मारुनी नृत्यबाट गरिएको स्वागत आकर्षक देखिन्थ्यो । कार्यक्रममा काव्या दाहाल र दिव्या दाहाल एवं पारिका आले र प्रतिष्ठा त्रिपाठीको जोडीले पनि नृत्य देखाए । स्वर्गीय कलाकार श्रीदेवीको समर्पणमा भारतीय मुलकी नर्स एलिजा म्याथ्यूले एक नृत्य र रफी श्रेष्ठले बांसुरी धुन सुनाइन् ।
अन्तिममा हेम बिष्टको डिजेमा नाचेर सहभागीले भरपुर मनोरन्जन लिए ।
तस्विरहरु- शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]