बिम्स्टेक अर्को साता

काठमाडौँ, ६ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र-सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने भएको छ ।

म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १४ गते बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन उहाँले दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नुहुनेछ । पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । सोही दिन साँझ प्रधानमन्त्रीले विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार भदौ १५ गते बिम्स्टेकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ भने उक्त उच्च नेतृत्वले काठमाडौँ घोषणापत्र अनुमोदन गर्नेछ । चौथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरुको नवौँ बैठक, तथा १३ गते बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको १६औँ बैठक काठमाडौँमा हुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री