मातृशिशु केन्द्र बनाउन नर्सिङ एशोसिएसनको च्यारिटी शुक्रबार


लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा यहि शुक्रबार अगस्ट २४ सांझ लण्डनमा एक च्यारिटी कार्यक्रम गर्ने तयारी गरेको छ । जुम्लाको विकट गाउंमा एक मातृशिशु केन्द्र निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले गर्न लागिएको च्यारिटीमा नेपाली हास्यव्यंग जगतका एक लोकप्रिय कलाकार शैलेन्द्र सिम्खडाले पनि विशेष प्रस्तुति 
दिने भएका छन् ।
च्यारिटी कार्यक्रम भएकाले सिंखडाले सहयोगस्वरुप प्रस्तुति गर्ने भएको एशोसिएसनले जनाएको छ ।

वेस्ट लण्डनको हन्स्लोस्थित प्याराडाइज ब्यांक्यूटिङ हलमा सांझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ । त्यस अवसरमा संस्था स्थापनाको दशौं वार्षिकोत्सव मनाउनुका साथै बहु-संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमहरु पनि गरिने बताइएको छ । कार्यक्रममा बेलायतस्थित भारतीय तथा पाकिस्तानी समुदायका नर्सहरुले पनि आ आफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् ।

‘यसपटकको कार्यक्रम बहु-सांस्कृतिक बनाउने योजना हाम्रो छ । नेपाली संस्कृति झल्काउने मौलिक प्रस्तुतिहरु त रहन्छन् नै, त्यसबाहेक फरक फरक समुदाय र संस्कृतिका प्रस्तुतिहरु पनि राख्दा यसले सांस्कृतिक विविधताभित्रको एकताको सन्देश दिन्छ भन्ने हामीले विश्वास लिएका छौं’- एशोसिएसन अध्यक्ष प्रसुना कंडेलले भनिन् ।

कार्यक्रममा दशौं वार्षिकोत्सवको विशेष सेलिब्रेसनका साथै संस्थाले हरेक दुई वर्षमा प्रकाशन गर्दै आएको स्मारिकाको तेस्रो अंक पनि विमोचन गर्ने कार्यक्रम छ । नर्सहरुका विभिन्न लेख रचनाका साथै रिसर्च आर्टिकलहरु समेत समावेश स्मारिका शिक्षाप्रद हुने विश्वास लिइएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा रोयल कलेज अफ नर्सिङका भाइस प्रेसिडेन्ट प्रोफेसर रड थम्पसन, रोयल बरो अफ केन्जिङटन एण्ड चेल्सीका काउन्सिलर मोहम्मद बख्तियार, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथीका रुपमा सहभागी हुनेछन् ।

च्यारिटीमा सहभागिताका लागि एशोसिएसनकी अध्यक्ष कंडेलले बेलायतस्थित सम्पूर्ण नेपाली नर्सहरुलाई विशेष अपील गरेकी छन् ।बेलायतमा क्रियाशिल नेपाली नर्सहरु मिलेर समुदाय, देश र आफ्नै सहकर्मीहरु समेतलाई सकेको सहयोग गरौं भनेर स्थापना भएको एशोसिएसन दशौं वर्षसम्म आइपुग्दाको खुशीयाली मनाउन पनि सबै नर्सहरुलाई कार्यक्रममा उपस्थित भइदिन उनले आव्हान गरेकी छन् ।

‘यो संस्था आज यो अवस्थासम्म आइपुग्न त्यत्तिकै सम्भव भएको होइन । हामी सबैको ठूलो मिहेनत र समर्पण लगानी भएको छ’, अध्यक्ष कंडेलले भनिन्, ‘यो खुशीयाली मनाउने क्षणमा बेलायतमा रहेका कुनै पनि नेपाली नर्सहरु नछुटुन् भनेर मैले सबैलाई सहभागी बन्न आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा सहभागिता र सहयोगका लागि एशोसिएसनले बेलायतको नेपाली समुदायबाट पनि ठूलो अपेक्षा राखेको छ । एशोसिएसनले जुम्लाको विकट गाउंमा निर्माण सुरु गरेको मातृशिशु प्रोजेक्टलाई सहयोग गर्नकै लागि पनि कार्यक्रममा उपस्थित भइदिन एशोसिएसनले समुदायसमक्ष अपील गरेको छ ।

नेपालस्थित ‘एक्सन वक नेपाल’ संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य मार्च महिनादेखि नै सुरु भइसकेको छ । ४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम गर्न लागेको हो । अबको दुई वर्षभित्र मातृशिशु केन्द्र निर्माणको कार्य पूरा गर्ने, सुरुका तीन वर्ष एशोसिएसनकै सहयोगमा केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

जुम्लाको विकट गाउंमा पुगेर मातृशिशु केन्द्र बनाउने कार्यलाई हामीले एशोसिएसनको ड्रिम प्रोजेक्टका रुपमा लिएका छौं’, अध्यक्ष कंडेल भन्छिन्, ‘हाम्रो यो प्रोजेक्टलाई सार्थक बनाउन बेलायतको नेपाली समुदाय र यहांका संघसंस्थाहरुबाट हामीले ठूलो सहयोग र हौसलाको अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री