नेपाल आयरल्याण्ड दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष समारोह, राष्ट्रपति नै सरिक

लन्डन । नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्ष शुभारम्भ भएको सुखद् उपलक्ष्यमा संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले आयोजना गरेको नेपाल-आयरल्याण्ड मैत्री दिवस १८ अगष्ट २०१८ का दिन आयरल्याण्डको राजधानी डव्लिनमा भव्यतापूर्वक सम्पन्न भयो ।

आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रुपमा उक्त विशेष समारोहलाई सम्वोधन गर्नुहुँदै भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व-वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताउनु भयो । आयरल्याण्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेका बताउंदै राष्ट्रपति हिगिन्सले विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुमा साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुई मुलुकले विश्वमा शान्ति स्थापना गर्न आ-आफ्ना सैनिकहरु परिचालन गरिरहेका विचार व्यक्त गर्नुभयो ।

सन् २०१५ मा नेपालको संविधानसभाले जारी गरेको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरु समाहित विश्वकै एक उत्कृष्ट संविधान हो भन्दै राष्ट्रपति हिगिन्सले गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भई आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको उल्लेख गर्नुभयो ।

नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण एक समृद्व राष्ट्र हो भन्दै राष्ट्रपति हिगिन्सले विविधतावीचको एकतालाई शदीयौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य रहेको उल्लेख गर्नुभयो । कुटनीतिज्ञमा वौद्धिकता र सिर्जनात्मकता जस्ता क्षमता हुनु आदरयोग्य विशेषता हो भन्दै राष्ट्रपति हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौश दुवै गुणले अन्तनिर्हित एक सफल व्यक्तित्व रहेको धारणा राख्नु भयो । आफ्ना चार बटा काव्यकृति र तीन बटा राजनैतिक ग्रन्थ प्रकाशित भएको उल्लेख गर्दै राष्ट्रपति हिगिन्सले राजदूत डा. सुवेदीले आफ्ना प्रतिनिधि कविताहरु नेपाली भाषामा अनुवाद र सम्पादन गरी ‘माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’का रुपमा प्रकाशन गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । उहाँले यस कृतिले आयरल्याण्डको समृद्व र सुदीर्घ परिचय वोकेको साहित्य, संस्कृति र सभ्यताबाट मैत्रीपूर्ण नेपाली जनताहरुलाई अवगत गराउन महत्तम योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

आयरल्याण्डमा नेपाली समुदाय सानो भए पनि सुन्दर र सहयोगी रहेको भन्दै राष्ट्रपति हिगिन्सले नेपालीहरुको इमान्दारिता, मिलनसारिता, परिश्रम एवं भातृत्वको भावनाबाट आइरिस जनता प्रभावित भएका विचार व्यक्त गर्नुभयो । महामहिम राष्ट्रपतिले दुई मुलुकवीचको सरकारी सम्वन्धलाई जनस्तरमा समेत विस्तार गर्न आवश्यक रहेको छ भन्नुहुँदै साहित्य, संगीत,कला र संस्कृतिको आदानप्रदान यस दिशामा महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथिका रुपमा समारोहलाई सम्वोधन गर्दै आयरल्याण्ड-नेपाल फ्रेन्ड्रसिप गुप्रका संयोजक आइरिस सांसद माननीय श्रीमती मरिन ओ सुलिभानले आयरल्याण्ड र नेपालवीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको छ भन्नु भयो । दुई मुलुकवीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले मैत्री सम्वन्धलार्इ अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्नेछ भन्नुहुँदै निकट भविष्यमा आइरिस संसदका सभामुखको नेतृत्वमा आइरिस संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने र नेपालको संसदीय प्रतिनिधिमण्डलले पनि आयरल्याण्डको भ्रमण गर्ने कार्यक्रम तय भएको बताउनु भयो ।

नेपाल र आयरल्याण्डवीचको सम्वन्धलाई पारस्परिक सहयोग र नेपालीको आर्थिक विकासको निम्ति सार्थक बनाउने कार्यमा राजदूत डा. सुवेदी प्रतिवद्ध र प्रयत्नशील रहेको वताउदै माननीय श्रीमती सुलिभानले आयरल्याण्डका राष्ट्राध्यक्षको समुपस्थितिमा सम्पन्न नेपाल-आयरल्याण्ड मैत्री दिवस नेपाल-आयरल्याण्ड सम्वन्धको उच्चतम प्रतीक हो र यसले नेपाल आयरल्याण्ड सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याएको विचार व्यक्त गर्नु भयो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापना भएको वीसौं वर्ष प्रवेश गरेको शुभ र सुखद उपलक्ष्यमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको समुपस्थितिले हर्षित र गौरवान्वित तुल्याएको र यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्याण्ड र आइरिस जनताको स्नेह, सम्मान र आत्मीयताको प्रतिविम्व प्रस्तुत भएको उल्लेख गर्नुभयो ।

हाम्रा दुई मुलुकहरुवीचको द्विपक्षीय मित्रता, समझदारी, सहयोग, पारस्परिक विश्वास र एक अर्काको राष्ट्रिय स्वार्थ र आकांक्षाहरुप्रतिको सम्मानद्वारा अभिप्रेरित छ भन्नुहुँदै महामहिम डा. सुवेदीले यो सम्वन्ध पर्यटन, व्यापार र शिक्षाका क्षेत्रहरुमा विस्तार हुँदै जनस्तरसम्म पनि फैलिएको छ भन्ने विचार व्यक्त गर्नु भयो । विगत दुई दशक यता नेपालले राजनैतिक रुपमा ऐतिहासिक रुपान्तरण गरेको चर्चा गर्नुहुँदै राजदूत डा. सुवेदीले वि.स २०७२ मा नेपालको सार्वभौम संविधानसभाले जारी गरेको लोकतान्त्रिक र समावेशी संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्यव्यस्थालाई अवलम्वन गर्नुका साथै नेपाली जनताले गरेका राजनैतिक आन्दोलनहरुबाट प्राप्त उपलव्धीहरुलाई समेत संस्थागत गरेको छ भन्नुभयो ।

गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न स्थानीय, प्रादेशिक र संघीय संसदका निर्वाचनहरु एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जननिर्वाचित सरकारको गठनले मुलुकमा लामो समयदेखिको राजनैतिक संक्रमणको अन्त्य गरेको छ भन्नुहुँदै महामहिम डा. सुवेदीले वर्तमान सरकार, राष्ट्रियता, लोकतन्त्र र मौलिक अधिकारहरुप्रतिको प्रतिवद्धता, सामाजिक न्याय, सुशासन, विधिको शासन, राजनैतिक स्थिरता र विकास र समृद्धि जस्ता ६ वटा मूलभूत लक्ष्यका साथ लिएर अघि वढेको उल्लेख गर्नुभयो छ ।

राजदूत डा. सुवेदीले नेपालले सवैसँग मित्रता कायम गर्ने र कसैसँग पनि शत्रुता नराख्ने आदर्शमा आधारित परराष्ट्र नीति अंगीकार गरि अघि वढेको र संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यतामा अडिग रही छिमेकी लगायत सवै राष्ट्रहरुसँग मित्रता कायम गर्ने नीति लिएको बताउनु भयो ।

वर्तमान सरकार मुलुकमा दिगो विकास र समृद्धि ल्याउने लक्ष्यमा प्रतिवद्ध रहेको चर्चा गर्दै डा. सुवेदीले सरकारले निर्यात व्यापार र लगानी अभिवृद्दिका लागि उपयुक्त आर्थिक नीति अवलम्वन गरेको बताउनुभयो । वि.स २०७२ को विनाशकारी भूकम्पको कठिन समयमा मैत्रीपूर्ण आइरिस सरकार र जनताबाट प्राप्त सहानूभूति, सदभावना र सहयोगका लागि नेपाली सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजदूत सुवेदीले नेपाल सरकारको विकास प्रयासमा आइरिस सरकारको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नु भयो ।

आयरल्याण्डमा करिव तीन हजार नेपालीहरु रहेको सानो र सुन्दर समुदाय रहेको उल्लेख गर्दै डा. सुवेदीले नेपाली समुदाय आफ्नो भाषा, संस्कृति, कला, संगीत र परम्पराहरुको संरक्षण गर्दै आयरल्याण्डको समाजमा मिलेर बसेको देख्दा र यहाँको नेपाली समुदायप्रति आइरिस जनता र सरकारको स्नेह, सम्मान र भातृत्वको भावना देख्दा आफू गौरवान्वित भएको विचार व्यक्त गर्नु भयो ।


आफूले आयरल्याण्डको राजनीति, अर्थनीति र कूटनीतिका अतिरिक्त समृद्ध र सुदीर्घ आइरिस भाषा, साहित्य, संस्कृति र सभ्यताको पनि थोरवहुत अध्ययन गरेको बताउंदै राजदूत डा. सुवेदीले आफूले आयरल्याण्डका महामहिम राष्ट्रपतिबाट प्राप्त चार वटा काव्यकृतिहरुको अध्ययन गरेको र ती कविताहरुमा प्रकट शान्ति, न्याय, भातृत्व, सह-अस्तित्व, विश्ववन्धुत्व र मानवतावादी विचारबाट आफू प्रभावित भएको वताउनु भयो ।

महामहिम हिगिन्सका कलात्मक शैली, सुललित संरचना र शिष्ट भावनाका विशिष्ट कविताहरुको अनुवाद गर्ने स्वीकृति प्रदान गर्नु भएकोमा राष्ट्रपतिमा कृतज्ञता व्यक्त गर्दै डा. सुवेदीले यी सार्थक र प्राञ्जल कविताहरुको प्रकाशनबाट नेपालीहरुले पनि आयरल्याण्डको उच्च साहित्यिकस्तर र समृद्ध आइरिस संस्कृति र सभ्यताको ज्ञान प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

उक्त विशेष समारोहमा आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डी हिगिन्सले राजदूत डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कवितासंग्रहको लोकार्पण गर्नु भएको थियो । समारोहमा आयोजित नेपाली तस्वीर प्रर्दशनी तथा नेपाली कला प्रदर्शनीको महामहिम राष्ट्रपति र श्रीमती सविना हिगिन्सले रुचिपूर्वक अवलोकन गर्नुभयो ।

समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ अग्रज समाजसेवी नेपालीहरु दीपेशमान शाक्य, गणेश प्रसाईं, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यूलाई राष्ट्रपति र नेपाली राजदूतले सम्मान गर्नु भएको थियो ।

समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने सातबटा नृत्य प्रस्तुत गरे । कार्यक्रममा महामहिम राजदूत र श्रीमती सुवेदीले महामहिम राष्ट्रपति र उहाँकी धर्मपत्नी श्रीमती सविना हिगिन्सलाई नेपालको प्रकृति र संस्कृति झल्किने दुईवटा कलात्मक नेपाली तेल चित्र उपहार प्रदान गरिएको थियो ।


उक्त विशेष समारोहमा आइरिस संसदका माननीय सदस्यहरु, पूर्व मन्त्रीहरु, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालित आइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधि गरी तीन सय भन्दाबढी अतिथि सहभागी थिए ।

राजदूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको विशेष समारोहको अन्त्यमा रात्रिभोज आयोजना गरिएको थियो ।

डब्लिनमा अवस्थित कूटनैतिक नियोगहरुले आयोजना गर्ने कार्यक्रमहरुमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको समुपस्थिति विरलै हुने परिप्रेक्ष्यमा नेपाली राजदूतावासद्धारा आयोजित यो विशेष समारोह ऐतिहासिक भएको र यस समारोहको सफल आयोजना आफैंमा नेपाल र आयरल्याण्डको दौत्य सम्वन्धको इतिहासमा एउटा कोसेढुँङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री