बेलायतमा प्रतिभा खोज्ने कार्यक्रम अब्यवस्थित र पटयारलाग्दो

लण्डन । बेलायतमा नेपाली समुदायभित्र बालबालिका र युवाहरुबाट प्रतिभाको खोजी गर्ने उद्धेश्य राखिएको प्रतिभा नक्षत्र आइतबार लण्डनमा सम्पन्न भयो । 

कार्यक्रममा प्रतियोगी बालबालिकाले नेपाली मौलिकता बोकेका गीत, नृत्य, कविता लगायतका कला र प्रतिभाको आकर्षक प्रस्तुति गरेर दर्शकको मन जित्न सफल रहे । तर आयोजक पक्षका कैयौं कमजोरी र फितलो व्यवस्थापनका कारण भने कार्यक्रम खल्लो बन्न पुग्यो । 

समयको कमजोर व्यवस्थापनदेखि लामो लामो आसन र भाषणबाट उपस्थित दर्शकहरु वाक्क दिक्क मात्रै बनेनन्, निर्धारित समयमा कार्यक्रम पूरा गर्न नसक्दा कार्यक्रम चलिरहेकै बेला हल सञ्चालकले ‘पावर कट’ गरेर जबरजस्ती कार्यक्रम अवरुद्ध गर्नुपर्ने अवस्थासम्म सिर्जना भयो । 

बेलायतमा जन्मिएका, यतै हुर्किएका बालबालिका समेतले नेपाली भाषा, संगीत र नृत्य लगायतका विविध विधामा गरेका मौलिक प्रस्तुतिहरु भने सांच्चिकै आकर्षक थिए । 

प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रमबाट बाल तथा युवाका छुट्टाछुट्टै विधामा विजेताहरुलाई पुरस्कृत गरियो । 

लण्डनसहित आसपासपासका विभिन्न क्षेत्र र स्कटल्याण्डबाट समेत गरी बाल समूहमा १६ र युवामा १० प्रतियोगी सहभागी थिए । 

जसमध्ये बाल समूहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया श्रीद्धिका थापा क्षेत्री बाल नक्षेत्र घोषणा भइन् भने युवा समूहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोङवाङ युवा नक्षेत्र बनिन् । बाल समूहमा सास्रिक कार्की रनर अप र रिया गिरी सेकेन्ड रनर अप भए । युवातर्फ सुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए । 

युवा नक्षेत्रका रुपमा विजेताले  ५ सय तथा दोस्रो र तेस्रो हुनेले ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बाल समूहका विजेताहरु क्रमशः  ३ सय, २ सय र १ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए ।  

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनसहित पुरस्कारको स्पोन्सर गर्ने बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, व्यवसायी दिपक थापा, संगीता भारती मगर, अनु श्रेष्ठ, जमघट परिवारका तीर्थबहादुर थापा लगायतले पुरस्कार वितरण गरे । 

सोहि अवसरमा एनआरएन यूकेका तर्फबाट ९ सय पाउण्डको सहयोग चेक अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने, उपमहासचिव विनय अधिकारी र कोषाध्यक्ष सचिन श्रेष्ठले प्रतिभा नक्षत्रलाई हस्तान्तरण गरेका थिए । 

यसअघि प्रतियोगिताको फाइनल राउण्डमा बाल तथा युवा प्रतियोगीहरुलाई फरक फरक राउण्डमा प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगीहरुले पहिलो चरणमा नेपाली गीत, नृत्य, कवितावाचन लगायत आ-आफ्ना प्रतिभा देखाए । दोस्रो चरणमा उनीहरुले नेपालसंग सम्बन्धित विभिन्न विषयमा निर्णायकहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । 

प्रतियोगितामा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरुङ र एभरेष्ट सूर्य बोहोराले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

आयोजक प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए । प्रतिभा नक्षत्रका संरक्षक मनिषकुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले कार्यक्रमको लक्ष्य र पृष्भूमिबारे मन्तव्य दिएका थिए । 

महासचिव लक्ष्मण गुरुङले पहिलो औपचारिक सत्र र सुस्मिता थापाले प्रतियोगिता सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष सिम्मी पुनले सहभागी सबै प्रतियोगी, तीनका अभिभावक र सहयोगीलाई आयोजकका तर्फबाट धन्यवाद दिइन् ।

तस्बिर- शिव भण्डारी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री