ग्रेटर रसमुर कम्युनिटीले ज्येष्ठ नागरिकका समस्या समाधानलाई प्राथमिकता दिने

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि काम गर्ने भएको छ । ग्रेटर रसमोर एरियामा झन्डै २२ हजार नेपाली बसोवास गरिरहेको जानकारी दिंदै कम्युनिटीले ज्येष्ठ नागरिकका समस्या समाधानमा चासो दिएको हो ।

संस्थाको हालै सम्पन्न वार्षिक साधारणसभामा बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीच नेपालबाट आएका वृद्धवृद्धामा भाषिक, सांस्कृतिक तथा अन्तरघुलनमा भइरहेको असहज परिस्थितिबारे छलफल भएको थियो । उक्त क्षेत्रमा भूतपूर्व गोर्खा परिवारको बाहुल्यता छ । विशेषगरि वृद्धवृद्धा अंग्रेजी बोल्न नजान्ने हुंदा आफ्नो स्वास्थ्य लगायत अन्य समस्या पनि खुलेर भन्न नसकेको अवस्था छ ।

साधारणसभामा कम्युनिटीको अरु नेपाली संघसंस्था 
एवं स्थानीय काउन्सिल तथा प्रहरी प्रशासनसंगको पारस्परिक सम्बन्धबारे समेत बृहत छलफल भएको संस्थाले जनाएको छ । युवा पिंढीलाई संस्थामा कसरी आकर्षित गरेर सामुदायिक हितमा काम गर्न सकिन्छ भन्नेबारे समेत सहभागीले चर्चा गरेका थिए ।

अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न वार्षिक साधारण सभा महासचिव मान गुरुङले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तव्य दिए । संस्थाका अध्यक्ष जीव बेल्बासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बीरबहादुर थापाले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि वरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान फन्ड, उपाध्यक्ष नेम थापाले इन्फर्मेसन डे, महिला विभागकी सहसंयोजक सुष्मा गुरुङले नारी दिवस र सांस्कृतिक विभागका संयोजक दिनेश गुरुङले 
आ आफ्नो कमिटिको प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका कोषाध्यक्ष टोप पल्लीले आर्थिक प्रतिवेदन पेश गरे । कार्यक्रममा संस्थाका महासचिव मान गुरुङले वार्षिक प्रतिवेदन ‘पावर पोइन्ट’ द्वारा प्रस्तुत गरेका थिए ।

पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष जीव बेल्बासेले कार्यसमिति, सल्लाहकारहरु लगायत उपस्थित सबैलाई धन्यवाद दिंदै ग्रेटर रसमुर नेपाली कम्युनिटीको बारेमा विस्तृत बताए । सभामा वर्ष भरिमा गर्ने कार्यक्रम जस्तै नेपाली नयां वर्ष, भिक्टोरिया डे, इन्फर्मेसन डे, १० के रन, नारी दिवस, रसमोर फुड फेस्टिबल साथै स्थानीय प्रहरी, रसमुर बरो काउन्सिल कम्युनिटी डेभलप्मेन्ट शाखा प्रमुख, रसमुर भोलेन्टिएर सर्भिस लगायतसंगको नियमित छलफल कसरी प्रभावकारी बनाउने भन्नेबारे समेत छलफल भएको थियो ।

साधारण सभाले बरिष्ठ उपाध्यक्ष राम धन राईलाई स्थानिय संघसंस्था समन्वय गर्न संयोजक तोकेको छ । सो अवसरमा केहि आजीवन सदस्यहरुलाई अध्यक्षद्वारा सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

साधारण सभामा किरात राई यायोक्खा रसमुर शाखाका अध्यक्ष किर्तबहादुर राई, फार्नबोरो साइ सेन्टरकी सुष्मा गुरुङ, सुनुवार समाज बेलायतका अध्यक्ष यादव सुनुवार, बिसीसी यूके अध्यक्ष क्याप्टेन नारायणप्रसाद गुरुङ, मगर संघ रसमुर शाखाका अध्यक्ष लेख राना, पूर्व प्रहरी मञ्च बेलायतका अध्यक्ष प्रनाउ वाचस्पति रेग्मी लगायतको उपस्थिति थियो ।

अन्त्यमा अध्यक्षले सल्लाहकार एवं कार्यसमितिप्रति आभार व्यक्त गर्दै भेटघाट रेष्टुरेन्टका प्रबन्धक एवं सल्लाहकार शेर सुनार र समस्त स्टाफहरुलाई हल व्यबस्थापन एवं खानाको लागि धन्यबाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री