दुई दशकपछि एकल कन्सर्ट गर्दै पूर्व काउन्सिलर धन गुरुङ

लण्डन । फोकस्टोनमा गोर्खा सालिक निर्माण परियोजना सफल पारेर चिनिएका बेलायतमा काउन्सिलर पदमा निर्वाचित पहिलो व्यक्तित्व धन गुरुङले एउटा कल्याणकारी परियोजनाकालागि एकल सांगीतिक साँझ आयोजना गर्न लागेका छन् ।

झापा जिल्लामा जन्मिएका गुरुङको सांगीतिक पाटोप्रति धेरैलाई थाहा छैन् । तर उनले १२ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा थालनी गरेका हुन् । कोलकाताको म्युजिक एकेडेमी, काठमाडौं र पछि केन्ट कलेज, केन्टरवरी, युकेमा संगीतको अध्ययन गरेका उनले कैयौं गीत रचना गरेका छन् भने संगीत पनि भरेका छन् ।

गितार, पियानो र म्यान्डोलिन बजाउने उनले रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रममा पनि सहभागिता जनाएका थिए । त्यस्तै उनले टेलिभिजन सिरियलहरु रक्सी, प्रतिघात र सत्यको विजयमा संगीत निर्देशकको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

सन् १९८७ मा ब्रिटिश सेनामा भर्ती भएका उनले सन् १९९१ देखि २००२ संम द हिमालयन टु व्याण्डको नेतृत्व गर्दै  हङकङ, ब्रुनाइ, मलेसिया र युकेमा सांगीतिक प्रस्तुति गरेका थिए । सो व्याण्डले मेरी आमा, तिमी र म, संझाइ देउ न कान्छीलाई जस्ता लोकप्रिय एलबमहरु प्रकाशनगरीसकेको छ । सो व्याण्डका अन्य सदस्यमा राजीव राई, पवन थापा र विनय राई छन् ।

ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने सांगीतिक कार्यक्रममा गोर्खा नेप्लीज रक व्याण्ड युकेका आशिक गुरुङ, उर्मिला पल राई, रबीन लिम्बु र क्लासिकल नर्तकी फ्रान्सिस्का घले राईले प्रस्तुति गर्ने पनि आयोजक गोर्खा म्युजिक फाउण्डेशन युकेले जनाएको छ ।

१८ वर्ष पछि हाम्रो व्याण्डको पुनर्मिलन यही २५ अगष्टमा ह्यारो फुटबल क्लब, लण्डन र १५ सेप्टेम्बरमा स्वीण्डनमा हुँदैछ । कार्यक्रमबाट उठेको संपूर्ण रकम रोल्पा, थबाङस्थित बलभद्र उच्चमाध्यमिक विद्यालयमा सन्चालित कम्प्युटरप्रविधि शिक्षा परियोजना र दार्जीलिङस्थित गोर्खा वार म्युजीयमलाई प्रदान गरिनेछ’- गुरुङले भने ।

उनले आफ्ना सबै शुभचिन्तक, साथीभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हौसला बढाइदिन तथा कल्याणकारी काममा सहयोग गर्न पनि आग्रह गरेका छन् ।  

लण्डनमा हुने कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डादुर्गाबहादुर सुवेदी प्रमुख अतिथि हुनुहुनेछ भने स्वीण्डनको कार्यक्रममा हिमालयन व्याण्डका एकजना संस्थापक नोर्देन तेन्जीङ भुटियाले पनि प्रस्तुति दिने बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री