नेपाल भ्रमण वर्ष सफल बनाउन बेलायतमा पैदलयात्रा

वेल्स । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रर्वद्धन हेतु शनिबार बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरियो । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो । करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालौ’ नारा दिइएको थियो ।

वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेयता विदेशमा रहने नेपालीहरुको प्रयासमा भएको यो सम्भवतः पहिलो कार्यक्रम थियो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै यसै कारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए । यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनले जनाए ।
ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायत बेलायतीहरुको समेत कार्यक्रममा उपस्थिति थियो ।
पोइज काउन्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउदै सुन्दर गाउ धम्पुस र ब्रेकनबीच विशेष साईनो गास्न लागेको समेत खुलासा गरे । ‘यसैलाई आधिकारिकता दिन आगामी फ्रेबवरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौं’, उनले थपे । यसका निमित्त सकृयतापूर्वक लागेका ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले यो हुन सके दुबै मुलुकले फाइदा लिनसक्ने बताए । नेपाल प्रर्वद्धनात्मक कार्यक्रममा बेलायतबासीका तर्फबाट सम्पूर्ण सहयोग रहने समेत गुरुङले बताए ।
पोखरेली मञ्च बेलायतको आयोजना र ब्रेकन नेपाली समाजको सकृयतामा भएको उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट तेह्रपटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाई, वि विल राइज फाउन्डेसनका संस्थापक तुलसी गुरुङ, सोही फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङ समेत वेल्स पुगेका थिए ।
बेलायतमा आयोजित यो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुग्ने आशा रहेको फाउन्डेसनका संस्थापक तुलसी गुरुङले बताए । करिब १ सय ५० नेपाली एवं विदेशीहरु सहभागी पैदलयात्रामा स्थानीय बेलायतीहरुले नेपालबारे उत्सुकतापूर्वक जिज्ञासा राखेका थिए ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्द्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मान गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताए ।
अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउदै दूतावासले २०२० मा यो संख्या एकलाख पुर्याउने लक्ष्य रहेको बतायो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री