भूतपूर्व गोर्खा बुढामगरको सगरमाथा अभियानका लागि ५,५०० पाउन्ड

लण्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था राप्ती समाज युकेको वार्षिक भेला गत शनिबार मेडस्टोनमा सम्पन्न भएको छ । राप्ती समाज युके स्थापनाको एघार वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोपाल थापाले समाजले गर्दै आएका रचनात्मक कामहरुको प्रशंसा गर्नुभयो । उहाँले बेलायतस्थित नेपाली समुदायलाई बहुभाषी, बहुजाति सबै समुदायको साझा फूलबारी भन्दै यसलाई गोडमेल र मलजलको आवश्यकता रहेको बताउनुभयो ।

स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुखदुखमा साथ दिंदै आएको बताउनुभयो ।

नेपालबाट आएका दाङ भरतपुरस्थित पद्मोदय पब्लिक उच्च माविका पूर्व प्राचार्य भूपाल योगीले विश्वकै सबैभन्दा विकसित मुलुकहरुमध्ये एक बेलायतमा आएर नेपालीहरुले सेवा गर्ने, ज्ञान हासिल गर्ने मौका पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले सधैं आशावादी रहन र कहिल्यै हिनभावना नपाल्न पनि सुझाव दिनुभयो ।

अर्का अतिथि नेपाली काँग्रेस दाङका उपाध्यक्ष कमानसिं भारतीले बेलायतमा राप्तीवासीहरु संगठित भएको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले नेपालमा विपद पर्दा, अप्ठेरो पर्दा मन खोलेर सघाउन पनि सबै राप्तीवासीहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्व प्रधानाध्यापक योगी, उपाध्यक्ष भारती लगायत अतिथिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । गुरु पूर्णिमाको भोलिपल्ट भएको कार्यक्रममा भरतपुर उमाविका पूर्व विद्यार्थीहरुले योगीलाई फूलगुच्छा सहित सम्मान गरेका थिए ।

सो अवसरमा समाजका सदस्यहरुले अफगान युद्धमा दुबै गोडा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरि बुढामगरले आउँदो वर्ष गर्न लागेको सगरमाथा अभियानमा सघाउनकालागि उठाएको ५,५०० पाउन्ड हस्तान्तरण गरिएको थियो । त्यस्तै ब्राइटसन ट्राभल्सको तर्फबाट मनोज रिजालले समाजलाई २५० पाउन्ड हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार विष्णु घर्ती, चर्चित साहित्यकार भावेश भुमरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा विश्वविद्यालय तथा कलेजको पढाइ पुरा गरेका छात्रछात्राहरु, ब्रिगेड अफ गोर्खाजमा पदोन्नति भएका समाजका सदस्य तथा परिवारमा सन्तान बढेका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष हिक्मतसिं रोकाले धर्म, जात, राजनीतिबाट बाहिर बसेर पवित्र भावनाले समाजमा काम गर्ने गरेको बताउनुभयो । उहाँले आफू हालै नेपाल गएको बेला रोल्पा निवासी दिलबहादुर घर्तीलाई खाडी मुलुकमा जेलबाट छुटाउन समाजले संकलन गरेको नौ लाख रुपियाँ उहाँकी श्रीमती मनिका जीएमलाई हस्तान्तरण गरेर आएको बताउनुभयो । त्यस्तै राप्तीका विभिन्न जिल्लामा दैवी प्रकोपका घटनाहरु हुंदा समाजले सहयोग गर्ने गरेको जानकारी दिनुभयो ।

कार्यक्रमको दोश्रो चरणमा सांगीतिक प्रस्तुति भएको थियो । सांगीतिक कार्यक्रम सन्चालन समाजकी सांकृतिक सदस्य करिश्मा घर्तिले गर्नु भएको थियो । सो कार्यक्रममा नेपालबाट आएकी चर्चित दोहोरी गायिका माया लामाले लोकप्रिय गीतहरु गाउँदै सहभागीलाई नचाउनुभएको थियो ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफूहरु केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको जनाउनुभयो । सो कार्यक्रम समाजका सचिव दिनेश खड्काले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री