बिहीबार, मंसिर ११ २०७७ | Thu, November 26, 2020
नेपालको समय: ०९:१७ | UK Time: 03:32

लण्डन आइपुगे दुई गुल्मेली कलाकार, अगस्ट ५ को कार्यक्रम तयारी पूरा

वीनेपाली
२०७५ साउन १८ गते १:३४

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेलामा गाउन  लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम लण्डन आइपुगेका छन् । 

आइतबार अल्डरसटको कन्नट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्वय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् । 

कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामीको नेतृत्वमा गुल्मेलीहरुको एक जम्बो टोली हिथ्रो विमानस्थल पुगेको थियो । 

अध्यक्ष गलामीसंगै उपाध्यक्षहरु फडिन्द्र भट्टराई र टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव बीर बलाल, सहकोषाध्यक्ष राम सापकोटा, सांस्कृतिक सचिव मुना सापकोटा, सल्लाहकार गोकर्ण बस्नेत, ओम बुढाथोकी, माया केसी, ज्ञान छन्त्याल लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरे । 

कलाकारहरु उत्साहित

गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणामा बेलायत आएका महत र गौतम दुवै गुल्मेली कलाकार हुन् ।

पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय गायक महतका ‘मान्छेको जिन्दगानी’, ‘दुई कुराले ठग्यो’, ‘मादल’, ‘हाम्रो नेपाल हामी नेपाली’, ‘बटौली गाउंतिर’ लगायतका गीत चर्चित छन् ।

त्यस्तै, गायिका सुशिला गौतमका पनि ‘माइतीको माया’, ‘बसायो बामरी हरर’, ‘गफ लायो सोल्टीले’, ‘रातो भाले’, ‘जवानीले ढुनुमुनु बनायो’ लगायतका गीतहरु दर्शक/श्रोतामाझ लोकप्रिय छन् । 

कार्यक्रमका लागि पहिलोपटक लण्डन टेकेकी गायिका सुशिला उत्साहित देखिन्थिन् । ‘पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा निकै खुशी र उत्साहित छु’, सुशिलाले सुनाइन्, ‘बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।’

गायक बैकुण्ठ महत पनि बेलायतमा कार्यक्रम गर्न आएको यो पहिलोपटक हो । ‘हामी बेलायत आउंदै गर्दा खुशी त छौं नै,  संवेदनशिल पनि छौं’, बैकुण्ठले भने, ‘यहां आउनु मात्रै भन्दा पनि बेलायतका दर्शक, श्रोतालाई मनपर्ने गरेर प्रस्तुति दिन सक्नु बढि महत्वपूर्ण छ । त्यसप्रति हामी सचेत र संवेदनशील छौं ।’ 

विमानस्थल उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग कलाकारद्वयले अगस्ट ५ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबैलाई आग्रह पनि गरेका छन् । 

कार्यक्रमको तयारी पूरा

यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ । 

नेपालबाट आएका कलाकारहरुको अलावा प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइनेछ । 

कार्यक्रमस्थलमा मौलिक गुल्मेली झ्याउरे, ठाडो भाकादेखि रोइला र भजनसम्मका प्रस्तुतिको विशेष आकर्षण पनि रहनेछ । 

झण्डै १५ सयको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रम बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो र रमाइलोमध्येको एक मानिन्छ । 

कार्यक्रममा सहभागिताका लागि समाजले बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।

तस्बिरहरु-शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक