लर्डसमा नेपाल र नेदरल्याण्डसबीचको खेल रद्द

लन्डन । वर्षाका कारण विश्वविख्यात लर्डस मैदानमा आइतबार नेपाल क्रिकेट टिम र नेदरल्याण्डसबीचको टी २० खेल रद्द भएको छ । नेपालले ओडिआइ स्टयाटस पाएपछि खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल वर्षाले बिथोलेपछि नेपालको जित्ने सपना तुषारापात भयो । तर, कप्तान पारस खड्का लर्डसमा खेल्ने यस्तो अवसर पुनः आउने विश्वासमा छन् । ‘लर्डसमा खेल्न पाउनु पक्कै पनि ठूलो अवसर थियो तर दुर्भाग्य मौसमले साथ दिएन’, पारसले भने, ‘यो हाम्रो नियन्त्रणमा हुने कुरा पनि भएन । यद्यपि, अलि अलि भनेपनि खेल्न पायौं । मलाई आशा छ एमसीसीले यो परम्परा कायम राख्ने छ ।’

‘ओडिआइ’ लेभलमा पुगेपछि खेल त्यति सजिलो नहुने उनले बताए । ‘हाम्रो कामना त सधैं आफ्नो टिमले जितोस् भन्ने नै हुन्छ’, खड्काले खेलपछि आयोजित रिसेप्सनमा आत्मविश्वास व्यक्त गर्दै भने, ‘हामी क्षमताले भ्याएसम्म आगामी दिनमा जित्न कोशिस गरिरहने छौं ।’

नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट नेदरल्याण्ड्समा आगामी अगस्ट १ र ३ तारिखमा हुने तय भएको छ ।

लन्डनमा दिनभरजसो पानी परेर यसअघिका खेल पनि प्रभावित भइ ६, ६ ओभरमा छोट्याइएको थियो ।

एमसीसीसंगको खेलमा भने नेपालले ९ विकेटको जित हात पारयो । ४१ रनको लक्ष्य सजिलै पार गर्दै नेपालले जितेको हो ।
उता, निर्धारित समयभन्दा ढिलो गरि शुरु यसअघिको पहिलो खेलमा नेदरल्याण्डस्ले एमसीसीलाई १० रनले पराजित गरेको थियो ।

दुई वर्षपछि नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच टी टवान्टी त्रिकोणात्मक श्रृंखलाका लागि ‘दि होम अफ क्रिकेट’ भनिने लर्डस्मा उत्रिएको नेपाली टिमलाई हौसला प्रदान गर्न लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका अन्य कर्मचारी, नेपालका लागि पूर्व बेलायती राजदूत, ब्रिटिश शुभचिन्तकहरु, बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि, महानायक राजेश हमालसहित सयौं मैदानमा उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री