
निलगिरी र अन्नपूर्ण हिमाललाई पृष्ठभूमिमा पारेर म्याग्दीको पुनहिलमा तस्बिर लिँदै पर्यटक । तस्बिर – सन्तोष गौतम, म्याग्दी, रासस
काठमाडौँ, ४ साउन – सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ ।
पर्यटन प्रवर्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवर्धनात्मक अभियान चलाएको थियो ।
तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
“अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवर्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ”, उहाँले भन्नुभयो ।
पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवर्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् ।
जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ को जुनमहा कूल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए ।
भारतीय र चिनियाँ पर्यटक बढे
पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको छ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो ।
यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४.१ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कूल एक लाख ३१ हजार ७३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५.३३ प्रतिशतले बढी हो ।
युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो छ महिनामा एक लाख दुई हजार ४०४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो १९.६९ प्रतिशतले बढी हो ।
अष्ट्रेलिया र न्यूजिल्याण्डका १८ हजार ६७३ जनाले छ महिनामा नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३०७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करीब ३.५९ प्रतिशतले बढी हो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । करीब २० लाख बाह्य पर्यटक भित्रयाउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवर्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेका छन् ।
होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहले पर्यटक आगमनमा वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुभएको छ । राजनीतिक स्थिरता, स्थिर सरकार तथा नीतिगत रुपमा गरिएका केही सुधारका कारण पर्यटक बढ्न थालेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सन् २०१७ देखि नै पर्यटक आगमनमा वृद्धि भएको हो । यसले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सकारात्मक सन्देश प्रदान गर्ने र सफल बनाउन लाग्नुपर्छ ।”
नेपाल वायु सेवा निगमले हालै भित्र्याएको वाइड बडी जहाज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमण र आगामी दिनमा हुने चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले समेत पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको विश्लेषण छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिने टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा फैलाइएको गलत अफवाहलाई नियन्त्रण गरेर स्वच्छ, मर्यादित, व्यवस्थित पर्यटन प्रवर्धन गर्नुपर्छ । त्यसका लागि सरकार, व्यवसायी सबैले सकारात्मक पहल गर्नु आवश्यक छ ।”
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने