शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: १०:३३ | UK Time: 05:48

दूतावासमा नेपलिज वुमन्स असोसिएसन यूकेको डिनर च्यारिटी

वीनेपाली
२०७५ असार ३१ गते २०:४८

लन्डन । नेपलिज वुमन्स असोसिएसन यूकेले आइतबार लन्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । असोसिएसनले वार्षिक च्यारिटी डिनर अन्तर्गत राधा पौडेल फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गरेको हो ।

मन्तव्यका क्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले मानवीय सहायतामा जुटिरहेको भन्दै संस्थाप्रति धन्यवाद दिए । बेलायती सांसद वीरेन्द्र शर्माले असोसिएसनले आर्थिक सहयोगमात्र होइन, महिलाका मुद्दा समेत उठाइरहेको बताए । शर्माले असोसिएसनले महिलाहरुको उत्थान तथा सशक्तिकरणका लागि गरेको कार्य प्रशंसनीय भएको पनि बताए । ५ पटक नेपाल भ्रमण गरिसकेका सांसद शर्माले नेपालीलाई बेलायती राजनीतिमा समेत प्रत्यक्ष सहभागिताका लागि सुझाव दिए ।

कार्यक्रममा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटर र केन्जिंग्टन एण्ड चेल्सीका डेपुटी मेयर मोहम्मद बटले असोसिएसनको मानवीय सहायता सम्वन्धि कार्यको सराहना गर्दै शुभकामना दिए ।

कार्यक्रममा असोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले स्वागत मन्तव्य दिंदै दूतावाससहित सहयोगी सबैमा आभार व्यक्त गरिन् ।

कार्यक्रममा संस्थाकी महासचिव डा. सुधा श्रेष्ठले संस्था स्थापनाको उद्देश्य, यसका गतिविधि र हालसम्म गरेका विविध कार्यक्रमबारे जानकारी दिइन् ।

सन् २०१४ मा स्थापित असोसिएसनले हालसम्म चारवटा कफी मर्निंग, दुई क्राफ्ट फेयर, दुई च्यारिटी डिनर लगायत गतिविधि गरिसकेको छ । पहिलो च्यारिटी डिनर प्रिजनर्स असोसिएसन अफ नेपालको सहयोगार्थ गरिएको थियो जसबाट संस्थाले करिब अढाइ लाख रुपैयां सहयोग गरेको थियो । संस्थाले अटिजम केयर नेपालको सहयोगार्थ च्यारिटी डिनर गरि २ लाख ५६ हजार रुपैयां (दुई हजार पाउण्ड) दिएको थियो भने भूकम्पका बेला भूकम्प सहायता कोषका लागि दूतावासमार्फत पटक पटक गरि ६ हजार ६ सय पाउण्ड प्रदान गरेको थियो । सन् २०१६ मा असोसिएसनले सांसद बीरेन्द्र शर्मा र इलिंग बरोका मेयरको नेपाल भ्रमण समेत गराएको थियो ।

सदस्य प्रसुना कंडेलले राधा पौडेल फाउण्डेशनबारे ‘प्रिजेन्टेसन’ दिएकी थिइन् । एक्सन वक्सकी समेत संस्थापक राधा पौडेल पेशाले नर्स, लेखिका एवं महिला अधिकारवादी हुन् । ‘खलंगामा हमला’ की लेखिका पौडेलले लोकप्रिय मदन पुरस्कार प्राप्त गरेकी थिइन् । उनले दुर्गम जिल्लामा महिला तथा बालबालिकाहरुको स्वास्थ्यका लागि कयौं कल्याणकारी कार्य गर्दै आएकी छन् ।

कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति समेत भएको थियो । कोषाध्यक्ष एवं गायिका सितु खरेल र संगीतकार डम्बर सुब्बाले गीत/संगीत प्रस्तुत गरे । प्रसुना कंडेलले नृत्य देखाइन् ।

डा. सुधा श्रेष्ठले सञ्चालन गरेको उक्त अवसरमा असोसिएसन कार्यसमितिको परिचय समेत गराइएको थियो ।

कार्यक्रममा संस्थाकी संरक्षक राजदूत पत्नी पुनम सुवेदी, बेलायतका लागि म्यान्मार राजदूतकी पत्नी, दूतावासका उपनियोग प्रमुख शरदराज आरण, अन्य नेपाली डिप्लोम्याट्स, सोलिसिटर राजु थापा, डा. पारस सिंह लगायतको विशेष उपस्थिति थियो । रोजिना प्रधान राई, बिन्दु सुब्बा, सितु खरेल, प्रसुना कंडेल लगायत अतिथी सत्कारमा जुटेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक