नेपाल कपको उपाधि सेकेण्ड गोर्खा राइफललाई

लण्डन । ब्रिगेड अफ गोर्खामा कार्यरत गोर्खा सैनिकहरुबीच हुने फुटबल प्रतियोगिता नेपाल कप यसपटक सेकेण्ड गोर्खा बटालियनले हात पारेको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनमा भएको फाइनल  खेलमा दोस्रो गोर्खा बटालियनले पहिलो गोर्खा बटालियनलाई ३-२ ले हराउँदै नेपाल कप प्रतियोगिताको उपाधि हात पारेको हो ।
ब्रिग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक वर्ष हुने नेपाल कप प्रतियोगिता यो वर्ष ६८ औँ संस्करण हो । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबैभन्दा पुरानो र चर्चित मानिने नेपाल कपको थालनी नेपालका पूर्व प्रधानमन्त्री महाराजा मोहन शमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन् १९४७ बाट गराएका थिए ।
यो वर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर, तालिम केन्द्र क्याट्ररिक, गोर्खा मण्डले, गोर्खा सिताङ, पहिलो गोर्खा बटालियन, क्वीन्स गोर्खा सिङ्नल, क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट, क्लोज सर्पोट ट्रुप्स्, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनी (जियस पियस), विशिष्ट हतियार स्कुल,ट्यावेलेटो कम्पनी वार्मिनिस्टर, आर्क बटालिन लगायत १२ टिमले प्रतिश्पर्धा गरेका थिए । 
मे महिनामा ब्रिग्रेड अफ गोर्खाज मुख्य कार्यालयका परियोजना अधिकृत क्याप्टेन डिल्लीकुमार राईले गोर्खा रेडियोमार्फत खेल तालिका सार्वजनिक गरेका थिए । नेपाल कप ब्रिग्रेड अफ गोर्खाजभित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ । सो कपको फाइनलका दिन झण्डै ७ हजार दर्शक सहभागी हुने गरेका छन् ।
नेपाल कप
अल्डरसट सैनिक ग्यारिजनको रंगशालामा २९ जुनबाट नकाउट चरण सुरुवात गरिएको थियो । क्वीन ओन गोर्खा रेजिमेन्टलाई सेमिफाइनलमा हराउँदै दोस्रो गोर्खा बटालियन फाईनल खेलमा प्रवेश गरेको हो । दोस्रो गोर्खा बटालियनले सन् २०१३ मा टिम प्रबन्धक वारेन्ट अफिसर टु अरुणहाङ नेम्बाङको नेतृत्वमा इतिहासमै पहिलो पटक नेपाल कपको उपाधि जिताएका थिए । यो वर्ष भने टिम क्याप्टेन जीवन राईको पहलमा बटालियनले दोस्रो पटक कपको उपाधि हात पारेको हो । प्रतियोगिताको फाइनल खेलमा दोस्रो गोर्खा बटालियनका ऋषि थापाले पहिलो गोल गर्दै आफनो समूहलाई अग्रता दिलाएका थिए । 
नेपाल कपको उपाधि
विग्रेड अफ गोर्खाज हङकङमा रहँदा विशाल प्रतियोगिता हुने भूतपूर्व गोर्खा विजय लिम्बु बताउँछन् । नेपाल कपको उपाधि जित्ने खेलाडीहरुलाई बटालियनका गुल्मपतिले खेल मैदानमै पदोन्नति दिन्थे । जस्ले गर्दा खेलाडीहरुलाई उत्साह र प्रोत्साहन मिलेको उनी स्मरण गराउँछन् । कालान्तरमा नेपाल कपको ‘क्रेज’ घट्दै गएको र गोर्खाहरु खेलकुदमा नभएर काममै धेरै व्यस्त रहेको अनुभव उनले सुनाए ।
फाइनल खेलको दर्शकदीर्घामा रहेका सुनसरी धरान निवासी लबकुमार राई र बेलायत निवासी टेरी रेन अचानक भेट भएका थिए । उनीहरुले ४५ वर्षअघि क्वीन्स सिग्नलबाट खेल खेलेका थिए ।
काठमाण्डौं कप
अवकाश पाएका गोर्खा सैनिकहरु सहभागी हुने प्रतियोगितालाई काठमाण्डौं कप भन्ने गरिन्छ । ब्रिग्रेड अफ गोर्खाजले सन् १९९७ मा हङकङ छाडेर बेलायत आएपछि काठमाण्डौं कप सुरुवात गरिएको हो । काठमाण्डौ कपको फाईनल खेलमा क्वीन ओन गोर्खा बटालियनलाई क्विन्स गोर्खा सिग्नलले  ५–१ ले पराजित गर्दै शिल्ड हात पारेको हो ।
काठमाण्डौं कपको प्रतियोगितामा क्विन्स गोर्खा ईन्जिनियर, क्विन्स गोर्खा सिङ्नल, क्विन्स गोर्खा लजेस्ट्रिक र आरजिआर लगायत ४ टिमले प्रतिश्पर्धा गरेका थिए । प्रतियोगिता समापन समारोहमा विजेता तथा उपविजेता टिमहरुलाई नेपाल कपका प्रमुख कर्णेल जेम्स् रविन्सनले शिल्ड र पुरस्कार वितरण गरे । 
प्रतियोगिताको मुख्य आकर्षण
खेलको उद्घाटन समारोहमा गोर्खा व्रिगेड अफ व्यान्ड र ब्रिगेडका पाइप एण्ड ड्रम्स्को संयुक्त विशेष प्रस्तुति रहेको कार्यक्रममा च्यारिटी तथा व्यापारिक स्टलहरु,गोर्खा ट्रष्ट, गोर्खा म्युजियम, खानाका स्टलहरु, स-साना नानीहरुका लागि मनोरन्जनात्मक खेल नेपाल कपका मुख्य आकर्षण रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री