बिजिडब्लुएसको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

फार्नबोरो । ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) को वार्षिक भेटघाट कार्यक्रम फार्नबोरोस्थित ग्रेन्ज स्कूल ग्राउण्डमा शनिबार सम्पन्न भएको छ ।

यसपाली युकेलाई पनि गर्मीले ढपक्कै पारेको छ । प्राय जाडो भइरहने मुलुकमा गर्मी भयो भन्ने शब्द नै प्रयोगमा आउने थिएन तर आजभोलि कति गर्मी भएको हो भन्ने धेरै सुनिन्छ । रुखको छहारीमा बसेर चिसो बियर, बिबिक्यू र अन्य खानपिनसँगै बिजिडब्लुएसका परिवारले रमाइलो गरी एक दिन कटाए ।

उक्त दिनमै इ‌‌‌ङल्याण्ड र स्वीडेनबीचको विश्व कप फुटबल खेल भएको हुँदा फुटबल प्रेमीहरुको चाहनालाई ध्यानमा राखी तीन बजेबाट बिग स्क्रिनमा खेल हेर्ने बन्दोबस्त पनि मिलाइएको थियो ।

राफल ड्र र तम्बोला खेलले निकै ब्यक्तिहरुको अनुहारमा उज्यालो छाएको देखिन्थ्यो । राफलमा एक तोला सुन देखि १४ वटा अन्य पुरस्कार राखिएका थिए । एक तोला सुन बिजिडब्लुएसबाट र अन्य जीईनर्जी, गोर्खा प्रोपर्टी लिमिटेड, जीएसएस, पोखरा ट्राभल्स, युजिएसएस, द प्यालेस, फोर्सेस क्याब, गोर्खा ग्रोसरी, राजेन्द्र राना, निर्मल सिरिश, क्या. ताम ढेँगाबाट प्राप्त भएको थियो ।

पहिलो पुरस्कार सुन संस्थाकै अध्यक्षकी श्रीमती मिलन देवानले पारिन् । अध्यक्ष मे रि टिकेन्द्र दल देवान (जे पी) ले भूपू ब्रिटिश गोर्खाहरुबारे केही कुरा जानकारी गराएका थिए । ‘टेक्निकल कमिटी’ ले उठाएका कुराबारे जानकारी गराउँदै देवानले सबै सचेत हुनुपर्ने औँल्याए । नेपाल सरकारको प्रतिनिधित्व गर्ने नेपाली दूताबास लण्डनलाई पत्र पठाउँदा जवाफ पनि नपठाएको उनले गुनासो गरे । टेक्निकल टिमका मुख्य बुँदाहरुमध्ये समान पेन्सन नै मुख्य हो । यसबारे सबैलाई प्रष्ट होस् भनी नेपालीमा अनुवाद गरिएको पर्चा नै बाँडिएको थियो ।

संस्थाका पीआर प्रकाश गुरुङले २००३ देखि २०१८ सालसम्म झण्डै १५ वर्ष अन्तरालको सुःख दुःखका कुराहरू भावुक भएर प्रस्तुत गरेका थिए । कार्यक्रममा हिराधन राई र रोजिना प्रधान राई जोडी एङ्लिया रश्किन युनिभर्सिटीबाट व्यवसाय व्यवस्थापन विषयमा स्नातक हासिल गरेकोमा र प्रोमोसन भएका सार्जेण्ट रामबहादुर पुन र कोल्मा बहाकोट समाज युकेको अध्यक्ष चयन भएका सुरेशकुमार गुरुङलाई संस्थाको तर्फबाट अध्यक्ष देवानले बधाई दिए ।

कार्यक्रम सफल बनाउनमा मुख्य भूमिका महासचिव छत्र राईको थियो र अन्य सहयोगीहरुमा प्रेम बुरा, हिरन्य राई, रमेश तामाङ, नारायण गुरुङ, हेम प्रकाश राना, तारा चन्द्र थापा, प्रकाश गुरुङ र महिला दिदीबहिनीहरु थिए । आयोजक र सहभागीहरु सबैलाई अध्यक्ष देवानले धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री