लन्डनको पशुपतिनाथ मन्दिरलाई स्वतरुफूर्त दान

लन्डन । लन्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिर, व्यवस्थापन समितिले मन्दिर रहेको भवन फ्री होल्ड गराउन आवश्यक कोष संकलन गर्ने उद्देश्यले आइतबार एक च्यारिटी गरेको छ । उक्त च्यारिटीबाट ७० हजार पाउन्ड संकलन भएको जानकारी मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गोपाल अर्यालले दिए । मन्दिरको ट्रस्टी बोर्ड तथा आजीवन सदस्यता वितरण र कार्यक्रमको टिकट विक्रीबाट उक्त रकम संकलन गरिएको हो । च्यारिटी कार्यक्रमको कुल खर्च सहित सम्पूर्ण हिसाबपछि अन्तिम विवरण केहि दिनमै सार्वजनिक गरिने समितिले बताएको छ ।

नेपालीहरुबाट स्थापित युरोपमै पहिलो उक्त मन्दिर बेलायतका नेपालीको आस्थाको केन्द्र मानिन्छ ।

प्लमस्टिडस्थित स्वामिनारायण मन्दिरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा च्यारिटी कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरले सनातन हिन्दू धर्म र संस्कार मात्र नभएर बेलायतमा नेपालीहरुको पहिचानलाई समेत बचाउने काम गरेको धारणा राखे । ‘धर्मले हाम्रो संस्कार बचाउने काम गर्छ, संस्कारले संस्कृति बचाउंछ र संस्कृतिले आफ्नो मौलिक जातिलाई बचाउने काम गर्छ’, राजदूत डा सुवेदीले थपे,’बेलायतमा हाम्रो नेपाली पहिचान बचाउने त्यहि महान अभियान यहि मन्दिरको स्थापनासंगै सुरु भएको छ ।’

मन्दिर तत्कालका लागि एक धार्मिक केन्द्रका रुपमा मात्र सिमित नरहेर पुस्तौं पुस्तासम्मको लागि बेलायतमा नेपाल र नेपाली पहिचान बचाउने एक महत्वपूर्ण माध्यम बन्ने विश्वास राजदूत डा सुवेदीले व्यक्त गरे । बेलायतमा नेपाली पहिचान बचाउने यो अभियानलाई निरन्तर राख्न आग्रह गर्दै राजदूत सुवेदीले मातृभूमि नेपाललाई पनि नबिर्सिन आव्हान गरे ।

स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी मेयर मिक हेजले साउथ इष्ट लण्डनमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको बताउंदै यस क्षेत्रमा स्थापित हुने मन्दिर यहांका नेपालीहरुलाई मात्र नभएर अन्य समुदायका लागि पनि खुशीको विषय हुने बताए ।

एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले मन्दिरको विकासका लागि समाजका सबै तप्का र समूहको सहभागिता आवश्यक हुने भन्दै सोहि अनुसार अभियान अघि बढाउन सुझाव दिए ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले मन्दिर केवल साउथ इष्ट लण्डनका नेपालीहरुको मात्र नभएर बेलायतवासी सम्पूर्ण नेपालीका लागि आस्थाको केन्द्र बनेको बताए ।

कार्यक्रमका सभापति तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले मन्दिरको भवनलाई फ्री होल्ड 
गर्ने लक्ष्यका साथ च्यारिटी कार्यक्रम गरिएको बताए । मन्दिर सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले भने, ‘मन्दिर आर्थिक सहयोग गर्ने दाताहरुको मात्रै होइन, मन्दिरको लागि सबै समान छन् र उनीहरु सबैको समान हक रहन्छ, मन्दिरको नाममा दिएको सहयोग त दान हो, त्यो दान दिइसकेपछि हाम्रो रहदैन ।’

च्यारिटी कार्यक्रमका संयोजक डा. अच्युत धितालले मन्दिरको विकास र संरक्षणका लागि यो कार्यक्रमपछि पनि निरन्तर प्रयास हुनुपर्ने बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल, च्यारिटी कार्यक्रमका सह-संयोजक तथा मन्दिरका ट्रष्टी बोर्ड संयोजक कर्ण शाही र मन्दिरका संरक्षक पण्डित निलहरि घिमिरेले मन्दिर स्थापनाको पृष्ठभूमिबारे उल्लेख गर्दै मन्दिरको अहिलेसम्मको विकासक्रम र भावी लक्ष्यबारे बताएका थिए ।

मन्दिर व्यवस्थापन समितिका महासचिव दासु पाण्डेले 
सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र कंडेलले स्वागत मन्तव्य दिए । कार्यक्रममा स्थानीय ग्रीनवीच काउन्सिलका डेपुटी लिडर डेभिड गार्डनर, काउन्सिलर लक्ष्य गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मन्दिरका ट्रष्टी तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र तथा ब्याज वितरण गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा नेपालबाट आएका राष्ट्रिय कलाकार विमलराज क्षेत्रीले विभिन्न भजन कृतन प्रस्तुत गरे । पासा पुच गुठी साउथ इष्ट लण्डनका अध्यक्ष सुशील प्रजापतिले परम्परागत भैरव नाच देखाएका थिए । सांस्कृतिक कार्यक्रम सञ्चालन मन्दिरका ट्रष्टी विनोद ज्ञवालीले गरेका थिए । कार्यक्रमस्थलमा ट्राफिक व्यवस्थापनको जिम्मेवारी मन्दिरका ट्रस्टी सुरज केसीले सम्हालेका थिए ।

कार्यक्रममा कोष संकलनका लागि गरिएको राफल ड्रका लागि पहिलो पुरस्कार ट्राभल कन्सोलका सञ्चालक विराज भट्ट, दोस्रो पुरस्कार फाइन वे क्यास एण्ड क्यारीका राधा गिरी, तेश्रो पुरस्कार भर्मा ज्वेलर्सका बानु गुरुङ र चौंथो पुरस्कार मन्दिरका ट्रष्टी यादव भण्डारीले सौजन्य गरेका थिए ।

कार्यक्रममा ६ वर्षीय बालक दिप्तान्शु श्रेष्ठले आफ्नो खुत्रुकीमा संकलन गरेको ६२ पाउन्ड पनि मन्दिरका लागि हस्तान्तरण गरेका थिए ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री