लन्डनमा भानु जयन्ती मनाइयो

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले विविध कार्यक्रम सहित उत्साहवर्धकरुपमा आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ती मनाएको छ ।

वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आइतबार आयोजित उक्त समारोहलाई संवोधन गर्दै प्रमुख अतिथि परिषदका पदेन संरक्षक तथा वरिष्ठ साहित्यकार महामहिम 
राजदूत डा.दुर्गा बहादुर सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे । राजदूतले नेपाली जहांरहे पनि मातृभूमिको माया र आमाको वात्सल्य आफ्नो मुटुसंगै जोडिएको हुने भएकाले त्यसैमा उभिएर पहिचान बनाउनु 
पर्नेमा जोड दिए ।

अर्का विशिष्ठ वक्ता परिषदका वरिष्ठ सल्लाहकार वुद्धिजिवी समाजसेवी एवं यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल (ओबिइ) ले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको रामायणले उतिखेरको समाजमा बलियो भूमिका खेलेको चर्चा 
गर्दै बेलायतमा साहित्यिक माहोल सुरुवात गरेर नेपाली साहित्य विकास परिषदले एउटा संवेदनशील अगुवाइ गरेको बताए ।

कार्यक्रमका सभापति एवं परिषदका अध्यक्ष कोमल मल्लले 
परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउंदै आएको स्मरण गर्दै नेपाली पहिचान युगयुग सम्म जीवन्त राख्न नेपाली भाषा साहित्य, संस्कृति जस्ता चिनारी जोगाउंदै लैजानुपर्नेतर्फ जोड दिए ।

समारोहमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्वअध्यक्ष, सल्लाहकार तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, पूर्वअध्यक्ष एवं सल्लाहकार हरिसिंह थापा, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर, परिषदका सहअध्यक्ष गोकुल भण्डारी, उपाध्यक्ष डा.सुधा श्रेष्ठ, ब्लाइण्ड रक्स फिल्मका निर्माता निकेस लिम्बु लगायतका वक्ताहरुले अत्यन्त अविकसित इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन साहित्यको लहर चलाए, त्यो आफैंमा एक साहसिक कदम रहेको स्मरण गरे । उनीहरुले नेपाली साहित्यिक यात्रा बढाउन र सामाजको चेतना एवं एकता जागरण गर्न भानुभक्तको सोचले महत्वपूर्ण कडीको काम गरेको उल्लेख गरे । वक्ताहरुले नेपाली कला, साहित्य, संस्कृतिको संरक्षण एवं सम्वर्धनमा राजदूत सुवेदीको अत्यन्त प्रेरणामुलक सक्रियता 
रहेकाले समाजको तर्फबाट सम्मान गरिएको धारणा राखे ।

समारोहमा ब्लाइण्ड रक्स चलचित्रका तर्फबाट उक्त फिल्मका निर्माता निकेस लिम्बु र ज्ञानेन्द्र राउतले प्रमुख अतिथि महामहिम राजदूत सुवेदीलाई उनको प्रेरणादायी योगदानका लागि धातुपत्रद्वारा सम्मान अर्पण गरिएको थियो ।
यस अघि ब्लाइण्ड रक्सका एसोसिएट तथा नेपाली साहित्य विकाष परिषदका पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतले राजदूत सुवेदीको व्यक्तित्व र योगदानबारे प्रकाश पारेका थिए ।

कार्यक्रमको आरम्भमा परिषदका पूर्वअध्यक्ष कवि हरि सिंह थापाले भानुभक्तीय रामायणका श्लोक वाचन गरे भने कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापाले 
मंगल धुन वादनसंगै प्रमुख अतिथि तथा अतिथिहरुद्वारा आदिकवि भानुको तस्विरमा माल्यार्पण गरिएको थियो ।

साहित्य र संगीतको समिश्रण रहेको उक्त समारोहमा वरिष्ठ कलाकार मदन थापाले आदिकवि भानुभक्तका सृजनाहरुलाई 
संगीतवद्ध गरी ब्लुज गायन रोचक ढंगले प्रस्तुत गरेका थिए भने कोसेली नेपाली सांस्कृतिक परिवारकी अध्यक्ष गायिका शर्मिला सिंहले सुमधुर गीत सुनाएकी थिइन् ।

दोस्रो चरणको कविता वाचन कार्यक्रममा बेलायतका विभिन्न शहरबाट आएका ११ जना कविले आ आफ्ना रचना वाचन गरेका थिए । कल्पना आङबुहाङ, डा. संगीता श्रेष्ठ ‘श्वेच्छा’ , डा.सुधा श्रेष्ठ, मनोज अन्जान, गोकुल भण्डारी, मदन थापा, हरि सिंह थापा, खगेन्द्र नेपाली, कोमल मल्ल, सुरेशजंग शाह आदिले कविता वाचन गरेका हुन् ।

परिषदका अध्यक्ष कोमल मल्लको सभापतित्वम भएको उक्त कार्यक्रममा सहअध्यक्ष गोकुल भण्डारीले स्वागत मन्तव्य दिए । उपाध्यक्ष तथा कार्यवहाक महासचिव डा.सुधा श्रेष्ठ र ज्ञानेन्द्र राउतले कार्यक्रम सञ्चालन गरेका थिए ।

समारोह सफल बनाउन वरिष्ठ सल्लाहकार समाजसेवी डा. राघव प्रसाद धिताल, ब्लाइण्ड रक्सका निर्माता निकेस लिम्बु, एसोसिएट ज्ञानेन्द्र राउत, परिषदकी उपाध्यक्ष डा. सुधा श्रेष्ठ र सल्लाहकार एवं एबीआइ कलेजका प्रोप्राइटर डाइरेक्टर कृष्ण भट्टले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री