सिसेक्पा तङनामको भव्य तयारी, राजदूतलाई तोङवा खुवाइने

लन्डन । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रिय समितिले ‘सिसेक्पा तङनाम’ मनाउने तयारी गरेको छ । बेलायतभर छरिएर रहेका लिम्बुहरुले एकै ठाउंमा एकत्रित भइ आगामी १४ जुलाईमा फेल्थाममा उनीहरुको महान चाड सिसेक्पा तङनाम मनाउन लागेका हुन् ।

चुम्लुङ यूकेले चार वटा महान चाड मध्ये सिसेक्पा तङनामलाई भव्य रुपमा मनाउने तयारी गरेको जानकारी आइतबार पत्रकार सम्मेलन मार्फत दिएको हो । किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिल सिं मेन्याङवोले यूकेभरका लिम्बु एकै ठाउँमा भेला भएर आफ्नो संस्कृति संरक्षण गर्दै कार्यक्रम गर्न लागिएको बताए ।

कार्यक्रम संयोजक तथा बरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले धान नाच, पुराना सामाग्रीको प्रदर्शनी, लिम्बु सस्कृतिको केलाङ यालाङ प्रतियोगिता, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको सम्मान, मौलिक पहिरन र गरगहना लगाउनेलाई पुरस्कृत गर्ने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।

प्रमुख अतिथिका रुपमा उपस्थित हुने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीलाई धान नाच देखाउनेदेखि तोङवा खुवाउनेसम्मको कार्यक्रम तय भएको उनको भनाई थियो । कार्यक्रममा व्यापारिक र खाना गरि करिब २० स्टल रहनेछन् ।

चुम्लुङ यूकेले करिव तीन लाख ३३ हजार पाउण्डमा मेडिस्टोन बरोको येल्डिङ गाउँमा हालै २५ एकड क्षेत्रफल (१६ विघा) जग्गा खरिद गरेको छ । सो जग्गा व्यवस्थित गरि आगामी वर्षदेखि आफ्नै प्रोपर्टीमा कार्यक्रम गर्ने योजना संस्थाको छ । कार्यक्रममा पूर्व अध्यक्षहरु श्री लिम्बु र डम्मर सिंघकले अन्य संघसंस्थासंगको सहकार्यमा काम गर्ने बताए ।

महासचिव गणेश इजमले सिसेक्पा तङनाममा प्रवेश शुल्क ५ पाउण्ड र दुई पाउण्ड कार पार्क शुल्क राखिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री