मन्दिरको ऋण तिर्न च्यारिटी हुंदै


लन्डन । लन्डन प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको ऋण तिर्न आगामी साता एक च्यारिटी डिनर गर्ने तयारी भएको छ । अब डेढ लाख पाउण्ड तिरेर मन्दिर रहेको प्रोपर्टी ‘फ्रिहोल्ड’ गर्न मन्दिर व्यवस्थापन समिति जुटिरहेको छ ।

युरोपमै नेपालीले बनाएको पहिलो उक्त पशुपतिनाथ मन्दिर बेलायतवासी नेपालीको आस्थाको धरोहर मानिन्छ । मन्दिरको सबै मोर्गेज तिरेपछि नयां प्यागोडा शैलीमा कम्युनिटी हलसहितको मन्दिर निर्माण गर्ने योजना व्यवस्थापन समितिको छ ।

यही जुलाई ८ तारिख आइतबार प्लमस्टिडस्थित स्वामी नारायण मन्दिर हलमा च्यारिटी हुन लागेको हो ।

आइतबार बिहान मन्दिर परिसरमा एक पत्रकार सम्मेलन 
गर्दै मन्दिर व्यवस्थापन समिति तथा ट्रस्टी बोर्ड सदस्यहरुले च्यारिटी कार्यक्रम सफल बनाइदिन समस्त बेलायतवासी नेपालीसमक्ष अपिल गरे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले मन्दिरको भवन ‘फ्रिहोल्ड’ गर्न अझै डेढ लाख पाउण्ड आवश्यक परेकाले त्यही ऋण चुक्ता गरेर मन्दिर आफ्नै स्वामित्वमा ल्याउन च्यारिटी गर्न लागिएको जनाए ।


च्यारिटी कार्यक्रम संयोजक डा अच्युत धितालले दीर्घकालीन रुपमा मन्दिरलाई मन्दिर तथा कम्युनिटी हलको अवधारणमा लैजाने लक्ष्य रहेको उल्लेख गर्दै अहिलेको लागि मन्दिर भवन ‘फ्रिहोल्ड’ गराउने लक्ष्य राखिएको बताए ।

संस्थापक अध्यक्ष होमनाथ शर्माले मन्दिर स्थापनाका सन्दर्भ र पृष्ठभूमि उल्लेख गर्दै बेलायतको नेपाली समुदायमा मन्दिरको आवश्यकता र महत्वबारे बताए ।

मन्दिरका संरक्षक तथा पण्डित निलहरि घिमिरेले लण्डनमा स्थापना भएको पशुपतिनाथ मन्दिर बेलायतमा नेपालीहरुको अर्को पुस्ताको लागि समेत गौरवको विषय बन्ने बताउंदै यसको विकास र संरक्षणमा सबै एकजुट हुनुपर्ने 
बताए ।

त्यसअवसरमा मन्दिरको ट्रस्टी बोर्ड संयोजक कर्ण शाही, प्रचारप्रसार संयोजक फडिन्द्र भटट्राई, व्यवस्थापन समिति उपाध्यक्ष नरेन्द्र कंडेल, ट्रस्टीहरु दीपक श्रेष्ठ, विनोद ज्ञवाली, जिवन वाग्ले, गोपाल अर्याल, व्यस्थापन समिति सदस्य सरिता पौडेल, तारा भट्टराई, लिलादेवी गुरुङ लगायतले जुलाई ८ को कार्यक्रम तयारीबारे विविध जानकारी दिए । उनीहरुले कार्यक्रममा सहभागी बनेर सफल बनाइदिन आव्हान गरेका छन् ।

सोही अवसरमा मन्दिरलाई ५ हजार पाउण्डको सहयोग प्रतिवद्धता गरेर ट्रस्टी बोर्डको सदस्यता लिने घोषणा गर्ने पण्डित दधिराम काफ्ले र तारा भट्टराई तथा आजीवन सदस्यता लिने हयारी गुरुङ, लिलादेवी गुरुङ र गुणदेव घिमिरेलाई खादा ओढाएर सम्मान तथा स्वागत गरिएको थियो । तारा भट्टराई मन्दिरको ट्रस्टी बोर्डको सदस्य लिने अहिलेसम्मकै एक मात्र महिला सदस्य हुन् ।

मन्दिर व्यवस्थापन समितिका महासचिव दासु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा सहभागी पत्रकारहरुका विभिन्न जिज्ञासामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरुले जवाफ दिएका थिए ।

च्यारिटी कार्यक्रमको प्रचारप्रसार र ट्रस्टी तथा आजीवन सदस्यता वितरण कार्यलाई गति दिन अहिले साउथ इष्ट लन्डनका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

मन्दिर व्यवस्थापन समिति र ट्रस्टी बोर्डका सदस्यहरु विभिन्न छुट्टाछुट्टै  समूह बनाएर घरदैलो गरिरहेका छन् ।

सन् २००३ मा स्थापित मन्दिर एक दशकदेखि आफ्नै भवनमा छ ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री