एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

सराङकोटी (बाया) र भण्डारी

लन्डन । स्थापनाको झण्डै डेढ दशकपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई एक च्यारिटी संस्थाका रुपमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ ।
एनआरएन यूकेले प्रवक्ता रमेश सराङकोटीलाई संयोजक तथा सचिव तारानाथ भण्डारीलाई सहसंयोजक बनाएर च्यारिटी दर्ता प्रक्रियालाई अघि बढाउन जिम्मेवारी दिएको हो ।
‘एनआरएनको  दायरा लगानी, दोहोरो नागरिकता लगायतका मुद्दामामात्र सिमित छैन, च्यारिटीमुलक कार्यहरुमा पनि उत्तिकै सक्रियताका साथ संलग्न रहदै आएकाले च्यारिटी संस्थाको रुपमा दर्ता गर्नुपर्ने आवश्यकता महसुस भएको हो’, च्यारिटी दर्ताको संयोजन गरिरहेका एनआरएन यूके प्रवक्ता रमेश सराङकोटीले भने ।
बेलायतको कानुनअनुसार कोष संकलन गरेर च्यारिटीमुलक कार्य सञ्चालन गर्ने संस्था च्यारिटी संस्थाका रुपमा दर्ता गर्न जरुरी छ। च्यारिटीका रुपमा दर्ता भएका संस्थाले च्यारिटीका लागि उठाउने हरेक कोषमा सरकारले ‘गिफ्ट एड’ को रुपमा कोष थप गरिदिने व्यवस्था छ ।
च्यारिटी संस्थाको रुपमा दर्ता भइसकेपछि एनआरएन यूकेलाई च्यारिटीमुलक कार्यक्रमहरु सञ्चालन थप सहज र प्रभावकारी हुने विश्वास प्रवक्ता सराङकोटीको छ ।
एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रियाको सम्पुर्ण प्राविधिक जिम्मेवारी अकाउन्टेन्ट लेखनाथ घिमिरेलाई लगाइएको छ ।
एनआरएनए यूकेका सल्लाहकार तथा सदस्यहरुलाई च्यारिटी दर्ताको सम्बन्धमा कुनै सुझाव, सल्लाह भए आउंदो जुलाई महिनाको ३ तारिखभित्रै पठाउन आव्हान गरिएको छ । च्यारिटी दर्ताको प्रक्रिया ३ देखि ६ महिनासम्म पूरा हुने अपेक्षा गरिएको छ ।
बेलायतस्थित धेरै नेपाली संघसंस्थाहरुले यहांको कानुनअनुसार च्यारिटीका रुपमा दर्ता नगरेर पनि कोष उठाउने र च्यारिटी कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि पछिल्लो समय दर्जनौं नेपाली संस्था च्यारिटीमा दर्ता भइसकेका छन् भने कतिपय अहिले दर्ता प्रक्रियामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री