गुम्बा बनाउन बीसीसी केन्टको दोश्रो च्यारिटी नाइट


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) केन्टले गुम्बा निर्माणमा आर्थिक सहयाग जुटाउने उद्देश्यले गत २३ जुनमा च्यारिटी डिनर नाइट गरेको छ । हकिन्ज कम्युनिटी सेन्टर हलमा विभिन्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित च्यारिटी डिनर गरिएको हो ।

उक्त कार्यक्रम आसफोर्ड बरो काउन्सिलका काउन्सिलर श्रीमति जेनी वेव र खेन्पो शिर लामा गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

शुभारम्भमा कार्यक्रम सफलताको कामना गर्दै खेन्पो शिर लामा गुरुङले बुद्ध मन्त्र (तासी ग्यापा) वाचन गरेका थिए । लगतै श्रीमति शान्ति स्याङ्बो तामाङ र रक्ष्य बहादुर योन्जन तामाङको समूहले बुद्ध भजन अन्तर्गत चेन्ग्रीसी मन्त्र नमोरत्नया वाचन गरे ।

कार्यक्रममा बीसीसी केन्टका अध्यक्ष फुर्बा गर्जा शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा उनले सन् २०१५ मा स्थापना भएको आफ्नो संस्थाले छोटो अवधिमा नै धेरै उपलब्धि हासिल गरेको जनाए । उनले संस्थाको मुख्य उद्देश्य यथाशीघ्र गुम्बा स्थापना गरी सम्पूर्ण श्रद्दालु महानुभवहरुलाई सेवा प्रदान गर्नु रहेको जानकारी दिए ।

कार्यक्रमकी प्रमुख अतिथी आसफोर्ड बरो काउन्सिलकी काउन्सिलर जेनी वेवले नेपालीहरुले बेलायती समुदायमा गरेको योगदानको चर्चा गर्दै काउन्सिलले बीसीसी केन्टलाई सक्दो सहयोग गर्ने वाचा गरिन् ।

संस्थाका सचिव कविराज घिसिङ तामाङले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत बीसीसी केन्टले परिकल्पना गरेको गुम्बाको नक्सा एवं यसको ढांचा कस्तो खालको हुने भन्ने विषयमा प्रस्टयाउंदै गुम्बा बनेपछि यसबाट सर्वसाधारणले लिन सक्ने सेवा सुविधाबारे जानकारी गराएका थिए । संस्थाका कोषाध्यक्ष गणेश गुरुङले गुम्बा छिट्टै बन्ने बताए ।

साइना गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा चर्चित नृत्यांगना करिस्मा राई, सुजाता गुरुङ र धागो व्याण्ड लगायत अन्य स्थानीय कलाकारहरुले आफ्नो दमदार कला प्रस्तुत गर्दै वाहवाही बटुल्न सफल भए ।

कार्यक्रममा पुष्पा योन्जन तामाङ र धागो एल्बमका आयुस्मान राईले ‘जहाँ गएपनि जहाँ रहेपनि हाम्रो नेपाल अनि हामी नेपाली’ भन्ने उक्तिलाई आत्मासाथ गर्दै ‘जाग चम्क लम्क है नौ जवान हो…’ जस्तो मार्मिक देशभक्ति गीत गाएर सबैको मन जिते ।

कार्यक्रमका अवसरमा नेपालको अत्यन्तै लोकप्रिय नृत्यहरु कौडा, सेलो लगायत अन्य थुप्रै नृत्य प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजन रक्ष्य बहादुर योन्जन तामाङले गरेका थिए । कार्यक्रममा शान्ता गौचन, तारा गुरुङ र ज्ञानु गुरुङको समूहले ‘राफल ड्र’ सञ्चालन गरेर भरपुर मनोरन्जन दिलायो ।

सांस्कृतिक कार्यक्रम सकिए लगत्तै संस्थाका सचिव कविराज घिसिङले थप १४ जना ट्रष्टी थपिएको जानकारी दिंदै सम्पूर्ण दाताहरुलाई स्वागत एवं धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, तमु फोरम यूके संयोजक क्याप्टेन राजु गुरुङ, तमु फोरम यूके सचिव हरि गुरुङ, फोल्कस्टन नेपलिज कम्युनिटी उपाध्यक्ष टिकासिं ठकुरी, काउन्सिलरहरु नवीन सिवा, टासी भुटिया, याक्खा चुम्मा यूके अध्यक्ष धन लिम्बु, सेर्पा संघ यूके अध्यक्ष साना सेर्पा, छन्त्याल संघ यूकेका झक छन्त्याल, गोर्खा पिस फाउन्डेसनका भिम लिम्बु, सगरमाथा नेपलिज कम्युनिटी यूकेका अध्यक्ष भास्कर टिटुङ, मगर संघ केन्ट ब्रान्च अध्यक्ष विजय हितान मगरसहित विशिष्ट व्यक्तित्व र धर्म गुरुहरुको उपस्थिति थियो ।

अन्त्यमा च्यारिटी डिनर नाइट संयोजक एवं बीसीसी केन्ट उपाध्यक्ष श्रीमति शान्ति तामाङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले खाना ब्यवस्थापन गर्ने गोर्खा भान्सा घर आसफोर्डकी सुष्मा लिम्बु र पेय पदार्थ ब्यवस्थापक साना सेर्पा, धागो ब्यान्ड, कल्चर र राफल ड्र टिम, आमा समूह लगायतलाई पनि धन्यवाद दिइन् ।

औपचारिक कार्यक्रम सञ्चालन संस्थाका सचिव कविराज घिसिङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री